२०१८ सालमा आगलागी हुनु अघि जनसेवा सिनेमा घर । अहिले सो ठाउँमा विशालबजार रहेको छ ।
राजा महाराजाहरूको मनोरञ्जनको माध्यम दरबारमा बेलाबखत आयोजना गरिने सांगीतिक कार्यक्रम नै हुने गर्थ्यो । नाचगान र नाटकमा प्रधानमन्त्री राणोद्दीपसिंह कुँवरको सोख थियो । उनी महाराज भएसँगै दरबारमा तालिमे नानी (नर्तकी) र नाट्य समूह थपे । नाचगान र नाटकमा प्रयोग गरिने महिलालाई तालिमे भनिन्थ्यो ।
हिन्दुस्तानबाट ल्याइएका उस्तादले गीत–संगीत र नाट्यकला सिकाउने गर्थे । सुन्दरी सुसारेलाई तालिमे बनाइन्थ्यो । तालिमेसित राणाजीहरूको सहवास पनि हुन्थ्यो । कतिपयलाई प्रेमिकाको दर्जासम्म दिइन्थ्यो । नाटकमा पुरुष पात्रको अभिनय ती तालिमे महिलाले नै गर्थे । “नाटकमा प्रायः पुरुषलाई खेलाउने चलन हुँदैनथ्यो,” इतिहासकार पुरुषोत्तमशमशेर राणा भन्छन् ।
‘प्राइमिनिस्टर’ जंगबहादुरका जेठा छोरा जगतजंग कुँवर (मुखिया जर्नेल)को गोठाटारको भव्य मनोहरा दरबारमा मनोरञ्जनका लागि अलग्गै कोठा बनाएका थिए । तालिमेले उनको दरबारमा कत्थक नृत्यका साथै शास्त्रीय संगीत प्रस्तुत गर्थे । बेलाबखतमा नाटक पनि देखाइन्थ्यिो ।
वीरशमशेर सिकारमा तराई झरेका बेला सांगीतिक प्रतियोगिता हेर्न भारत पुगेका थिए । ग्वालियरका उस्ताद रेहमत खाँले प्रस्तुत गरेको रागप्रति मोहित भएर वीरशमशेरले बक्सिस स्वरूप ठुलै थैलीमा असर्फी दिएका थिए । त्यसबेला लालदरबार, सेतोदरबार, सिंहदबार, फोहरादरबार, चारबुर्जे दरबारलगायत सबै दरबारका नाचघरको व्यवस्था थियो ।
सर्वसाधारणलाई मनोरञ्जन दिन हिन्दूस्तानबाट चटकेहरू आउने गर्थे । रानीपोखरीको उत्तरतिरको रणोद्दीपले निर्माण गरेको दरबार हाइस्कुललाई वीरशमशेरले पश्चिमतर्फ भवन निर्माण गरी सारेका थिए । दरबार हाइस्कुलसँगै जोडेर मजलिस घर निर्माण गरियो । त्यो घरमा कहिलेकाहीँ आवाजविहीन सिनेमा ल्याई प्रदर्शनी पनि गरिन्थ्यो । सर्वसाधारणले सिनेमा त्यही हेर्न पाउँथे ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार मजलिस घरभित्र बीचमा पर्दा राखिन्थ्यो र प्रोजेक्टर भएपछि अर्थात् पर्दाको सुल्टोमा बस्नेले एक मोहरमा र पर्दाको उल्टोमा बस्नेले २५ पैसामा सिनेमा हेर्न पाउँथ्यो । “पर्दाको सुल्टो वा उल्टो बस्दा खासै फरक हुँदैनथ्यो । आवाज नआउने भए पनि करिब आधा घन्टा दृश्य हेरेरै बिताइन्थ्यो । त्यस्तो सिनेमा हेर्नका लागि पनि टिकट पाउन मारामार नै हुन्थ्यो,” उनले भने ।
आवाजविहीन सिनेमाले राणाजीका दरबारमा प्रवेश पाइसकेको थियो । भारतबाट रिल ल्याएर दृश्य मात्र देखिने सिनेमा हेर्ने चलन थियो । पुरुषोत्तम शमशेरका अनुसार तिनताक थुप्रै त्यस्ता सिनेमाका रिल काठमाडौंमा भित्रिसकेको थियो । राणा परिवारले आपसमा रिल साटफेर गर्दै चलचित्र घरमै हेर्ने गरेका थिए । त्यस्ता सिनेमा अंग्रेजी र धार्मिक हुने गर्थे ।
'कतिपयले अंग्रेजी सिनेमा बुझ्दैन थिए । दृश्य मात्र हेरेर मनोरञ्जन लिन्थे । विसं १९८९ मा खड्गशमशेरका छोरा हस्तशमशेरले भारतबाट आवाजसहितको अंग्रेजी सिनेमाको रिल काठमाडौं ल्याए । सुरुमा प्रधानमन्त्री जुद्धशमशेरलाई हेराइयो । सिंहदरबार परिसरमा रहेको पुतलीबगैंचासँगैको नाचघरमा सिनेमा प्रदर्शन गरिएको थियो ।
प्रकृति अधिकारी
पुरुषोत्तम शमशेरले भने, “जुद्धशमशेर महाराजले हेरेपछि मुख्तियारका परिवारलाई पनि देखाउनू भनेपछि हामीले पनि त्यो सिनेमा हेर्न पाएका थियौं ।” १९९० साल भदौ १७ गते कुञ्जरशमशेर राणाले हिन्दी र अंग्रेजी भाषाका चारवटा सिनेमा ल्याएका थिए । तिनलाई पनि सिंहदरबारमा देखाइयो । राणाजीले नेपाल भित्र्याएका श्यामश्वेत सिनेमा हेर्ने अवसर निजामती, सेना र साहुमहाजनले पनि पाउँथे ।
१९७४ सालमा गणेशप्रसाद आमात्य र उनका केही साथीले कलकत्तामा गएका बखत नबोल्ने सिनेमाका रिल ल्याए । केलटोलको एउटा घरमा गोप्य तवरबाट हेर्ने गरिएको थियो । एक दिन आगलागी भएपछि घरै ध्वस्त भयो । सिनेमाका रिल पग्लिए । गणेशप्रसाद लगायतका व्यक्तिले पनि जीवन गुमाउनुपयो ।
विसं १९९० पछि जुद्धशमशेरले हाल विशालबजार रहेको स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न सभागृह बनाउन लगाए । पछि मोहनशमशेरले त्यसलाई काठमान्डु सिनेमाघर नामकरण गरे । सिनेमाघरमा हरेक बुधवार महिलालाई मात्र सिनेमा हेर्न दिइन्थ्यो । २००७ सालको प्रजातन्त्रपछि त्यो चलन हटाइयो ।
२००९ सालमा तत्कालीन गृह विभागले गोरखापत्रमा सूचना प्रकाशित गरी सिनेमाघर भाडामा लिन चाहनेसँग प्रस्ताव माग गर्यो । मिरसुब्बा दयारामभक्त माथेमा र काजी कृष्णलाल चित्रकारलाई सिनेमाघर जिम्मा लगाइयो । ९९ वर्षका लागि जिम्मा पाएपछि सिनेमाघरको नाम जनसेवा सिनेमा हल भनी परिवर्तन गरियो ।
त्यसपछि सो हलमा बाल्कोनी, नयाँ प्रोजेक्टर र आरामदायी सिट थपियो । तिनताक धार्मिक सिनेमा बढी चल्थ्यो । पछि मिरसुब्बा र काजीबीच मनमुटाव भएपछि मिरसुब्बा माथेमाले तीन लाख रुपियाँ दिएर सो हल एकलौटी बनाए । दरबारको सचिव पद खोसिएपछि रियलस्टेट व्यवसायमा संलग्न माथेमाले २०१८ सालताका नयाँसडक क्षेत्रमा रोपनीको तीन हजार रुपियाँका दरले जग्गा किनबेच हुने गरेको बताउँथे ।
२०१८ साल भदौ २५ गते ‘मिसन अफ डेन्जर’ नामक अंग्रेजी सिनेमा चलाइएको थियो । सिनेमा हलका प्रबन्ध निर्देशक भुवनेश्वर अमात्यकी पत्नी लामु अमात्यलाई सिनेमा हल अगाडि जड्याहाले धक्का दियो । त्यो घटना विवादित बन्न पुग्यो ।
भीड बढेपछि जड्याहालाई हलका कर्मचारीले जनसेवाको भवनभित्र लिएर गए । ‘हलवालाले भित्र मान्छे मार्न लाग्यो’ भनेर होहल्ला चलाइयो । लगत्तै निजलाई छाडियो । सोही दिन साँझ ७ बजे एउटा भीड सिनेमा हलमा आई तोडफोड गर्यो । भदौ २७ गते राति भीड आएर हलमा मट्टीतेल हालेर जलाइदियो ।
पशुपति कोइरालाको अध्यक्षतामा छानविन समिति गठन गरियो । तर समितिको प्रतिवेदन नै सार्वजनिक गरिएन । सरकारले त्यसैबीचमा सो हलले चर्चिएको नौ रोपनी जग्गा अधिकरण गर्यो । मिरसुब्बा माथेमाले सिनेमा हलमा गरेको लगानीका साथै हुँदाखाँदाको जागिरसमेत गुमाउनुपर्यो । २०१७ साल पुस १ गते शाही ‘कू’ प्रति रिसाएका राजनीतिक दलका कार्यकर्ताले सो हल जलाएको हुनसक्ने अनुमान गरिएको थियो ।
थापाथलीको उकालोमा मुनलाइट नामक सिनेमाघर पनि खोलिएको थियो । त्यो त्यति चल्न सकेन र बन्द गरियो । लीलाशमशेर राणाले जमलमा सिनेमाघर निर्माण गरे । उद्घाटनमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि आमन्त्रण गरिएको थियो । सिनेमाघरको नाम के राख्ने भन्ने विषय उठ्दा महाकवि देवकोटाले विश्वज्योति राख्नुपर्छ भनेर भनिदिए । लीला शमशेरले सो नाममा तत्कालै सहमति जनाएको घटना प्रत्यक्षदर्शीका रूपमा पुरुषोत्तम शमशेरको मानसपटलमा अझै ताजा छ ।
(अधिकारी लिखित ‘दिल्ली सम्झौता’ पुस्तकबाट सम्पादनसहित साभार)