नेभिगेशन
अर्थतन्त्र

ठूला परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताएका छन् । कोषको ३६औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उनले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने  सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने बएका हुन् ।
‘दोहोरो कर हटाउन आवश्यक छ,’ उनले भने, ‘कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक छ ।’ दोहोरो करको विषय आफ्नो कार्यकालमा समाधान नभए पनि अबको सरकारले यसतर्फ काम गर्ने विश्वास उनले व्यक्त गरे ।
१५–२० वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा रहेको उनले बताए । त्यस्ता ऋणपत्रले पनि अधिक तरलता न्यूनीकरणमा सहयोग पुग्ने उनले जानकारी दिए । सार्वजनिक निजी साझेदारीबाट पनि नयाँ परियोजना, कृषि परियोजनाका लागि भूमिको हदबन्दी हटाउने जस्ता कार्य गरेर अघि बढ्न सकिनेमा उनले जोड दिए ।
अर्थतन्त्रका सूचकहरु सकारात्मक रहे पनि मध्यपूर्वमा सिर्जित अवस्थाले आपूर्ति संयन्त्र प्रभावित हुन सक्ने चिन्ता उनले व्यक्त गरे । कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले कोष स्थापना कालदेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, फरक–फरक किसिमका योजनाहरू सञ्चालनमा ल्याउनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु कोषको सफलताको आधार भएको बताए । उनले देशको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन, रोजगारी सिर्जना गर्न, कृषि पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो औँल्याए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले सातवटा योजना सञ्चालन गरिरहेको जानकारी दिए । कोषमा उपलब्ध फन्डलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न र भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्न आवश्यक कार्य गरिरहेको पनि उनले बताए । ‘यसका लागि ऐन, नियम र कानुन संशोधन प्रक्रियामा अघि बढाइएको छ,’ उनले भने, ‘कोषले यान्त्रीकरण र अटोमेसनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’
ब्याजदरमा आएको गिरावटले कोषको आम्दानी प्रभावित भएको उनले बताए । ‘उपदान कोष भुक्तानीमा करसम्बन्धी अन्योलता रहेकोले त्यसमा समानता ल्याउनुपर्ने अवस्था छ,’ कार्यकारी निर्देशक कार्कीले भने, ‘सरकारले दिने सामाजिक भत्ताको कार्य कोषले सञ्चालनमा ल्याएको नागरिक पेन्सन योजनाले दिन सक्छ तर त्यसका लागि सरकारले करका दररेटमा समायोजन गर्नुपर्छ ।’
त्यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कोषले लगानीका नयाँ उपकरण र नयाँ परियोजनामा लगानी गर्नुपर्ने बताए । उनले बैंकले प्रवाह गर्ने कर्जा असुलीमा समस्या आएको जानकारी गराए । कोषका पूर्वअध्यक्ष डा. महाश्रम शर्माले आर्थिक, सामाजिक रूपान्तरणमा कोष अघि बढिरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्