नेभिगेशन
अर्थतन्त्र

पर्वतमा आर्थिक गणना कार्यालय

पर्वत । पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । वैशाख २ देखि असार ७ सम्म हुने गणनाका लागि सदरमुकाम कुश्माको बडागाउँमा रहेको साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद पौडेलले कार्यालयको उद्घाटन गरेका छन् । कार्यालयमार्फत चैत महिनाभर गणनाको आवश्यक तयारी गरिनेछ । पर्वत जिल्लामा आर्थिक गणनाका लागि १७ जना गणक र ३ जना सुपरीवेक्षक खटाइने भएएको छ । 
कार्यालय व्यवस्थापनका लागि पाँच जना कर्मचारी रहने आर्थिक गणना अधिकारी ऋषिराम पौडेलले जानकारी दिए । चैत मसान्तसम्म गणकको नियुक्ति, गणकहरूलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबीच छलफल सकेर गणना सुरु गरिनेछ । जिल्लामा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिएको छ । 
पालिका तहमा स्थानीय तह समन्वय समिति र वडास्तरमा वडास्तरीय सहजीकरण समिति पनि गठन गरिने उनले बताए । ‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । २०७५ वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो ।
गणनाका दौरानमा पर्वत जिल्लाका १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण संकलन गरिने भएको छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठुला साना, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, होटललगायत रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्