नेभिगेशन
अर्थतन्त्र

‘ग्रेटर लुम्बिनी’लाई सहयोग गर्ने विश्व बैंकको निर्णय

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीलाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले साढे १२ अर्ब रुपैयाँभन्दा बढी ऋण सहयोग गर्ने भएको छ । परियोजना कार्यान्वयनका लागि विश्व बैंक बोर्ड बैठकले ८५ मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब ३५ करोड रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देहीको देवदह, कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीको रामग्रामलाई समेट्ने गरी बृहत् लुम्बिनी क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाएको छ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा परियोजना कार्यान्वयनका लागि विश्व बैंकसँग प्रस्ताव गरिएको थियो ।
मन्त्रिपरिषद् बैठकले ऋण लिन स्वीकृत गरेपछि बल्ल परियोजना कार्यान्वयनका लागि सम्झौता हुनेछ । नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएपछि लुम्बिनीलाई केन्द्रमा राखेर तीन जिल्लाका बुद्धसँग सम्बन्धित स्थललाई समेट्ने गरी बनाइएको बृहत्तर लुम्बिनी परियोजनाअन्तर्गत पर्यटकीय पूर्वाधारका काम अघि बढ्नेछन् । 
सहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालयमार्फत परियोजना कार्यान्वयन हुनेछ । त्यस्तै लुम्बिनी सांस्कृतिक, देवदह, रामग्राम र कपिलवस्तु नगरपालिका, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र पर्यटन बोर्ड पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्