नेभिगेशन
अर्थतन्त्र

भारतमा ग्यास संकट चुलिँदा नेपाली श्रमिक प्रभावित

काठमाडौं । भारतका ठूला सहरमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा त्यहाँ कार्यरत नेपाली मजदुर पनि प्रभावित भएका छन् । मार्च महिनाको सुरुदेखिको ग्यास संकटले भारतका ठूला सहरमा आपूर्ति प्रणाली प्रभावित हुँदा मुख्यतः होटल क्षेत्रमा कार्यरत नेपाली समस्यामा परेका हुन् ।
भारतमा ग्यास अभाव देशव्यापी नभए पनि धेरै राज्य र सहरहरूमा माग र आपूर्तिबीचको असन्तुलन बढेर गएको छ । विशेषगरी होटल, रेस्टुरेन्ट तथा साना उद्योगहरूमा प्रयोग हुने कमर्सियल ग्यासमा अभाव चर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कतिपय स्थानमा सिलिन्डरका लागि लामो लाइन लाग्ने, डेलिभरीमा ढिलाइ हुने तथा केही व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।
भारतमा ग्यास संकट मुख्य रूपमा अन्तर्राष्ट्रिय कारणसँग जोडिएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र समुद्री ढुवानी मार्गमा आएको अवरोधका कारण विश्वव्यापीरूपमा ग्यास आपूर्तिमा समस्या आएको छ । भारतमा प्रयोग हुने एलपी ग्यासको करिब ७० प्रतिशत हिस्सा आयात गरिने भएकाले बाह्य आपूर्ति प्रभावित हुँदा देशभित्र असर परेको जनाइएको छ । आयातितमध्ये पनि ९० प्रतिशत ग्यास मध्य पूर्वबाट आपूर्ति हुन्छ । कतारको सबैभन्दा ठुलो ग्यास प्रशोधन केन्द्रमा इरानले बुधबार मिसाइल प्रहार गरेपछि भारतमा ग्यास आपूर्ति थप प्रभावित हुने भएको छ ।
यस्तै, ढुवानीमा ढिलाइ, भाडा वृद्धि तथा बजारमा देखिएको अनावश्यक सञ्चय र कालाबजारीले पनि ग्यास संकटलाई थप गहिरो बनाएको छ । भारत सरकारले घरेलु प्रयोगका लागि ग्यासलाई प्राथमिकता दिएपछि व्यावसायिक क्षेत्र बढी प्रभावित भएको छ । बैेंगलोर, मुम्बई, कोलकाता, लखनऊ र हैदराबादजस्ता प्रमुख सहरमा सबैभन्दा बढी ग्यास संकट देखिएको छ । कतिपय ठाउँमा मागको तुलनामा आपूर्ति निकै न्यून हुँदा दैनिक जीवन र सेवा क्षेत्रमा अवरोध सिर्जना भएको छ ।
नेपालमा सुरुवाती चरणमा भारतीय ग्यास ट्यांकरको अवरोधका कारण ग्यास आपूर्ति प्रभावित भएको थियो । ट्यांकरको अवरोध र फागुन २१ को प्रतिनिधिसभा चुनावको मौका छोपेर नेपालको व्यवसायीले कृत्रिम अभाव सिर्जना गरे । केही दिनयता भने मार्च सुरुवातदेखि जारी इरान–इजरायल–अमेरिका युद्धको असर नेपालको ग्यास आपूर्तिमा पर्न थालेको छ । नेपाल पूर्णरूपमा भारतबाट ग्यास आयातमा निर्भर रहेकाले भारतमा देखिएको आपूर्ति संकट लामो समयसम्म कायम रहे नेपालमा गम्भीर संकट सिर्जना हुने अनुमान गरिएको छ ।

फर्किन थाले घर
भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव चुलिएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी ग्यास अभावमा होटल तथा रेस्टुरेन्ट व्यवसाय बन्द हुने अवस्था देखिएपछि त्यहाँ कार्यरत नेपाली स्वदेश फर्किन थालेका हुन् ।
कैलालीको नेपाल–भारत सीमा त्रिनगरमा भेटिएका डोटीका रोशन खड्काले ग्यास अभावले आफू कार्यरत होटल बन्द हुने अवस्थामा पुगेपछि स्वदेश फर्किएको बताए । ‘होटलमै खाने र बस्ने सुविधा थियो,’ भारतको मुम्बईबाट स्वदेश फर्किंदै गरेका उनले भने, ‘ग्यास अभावले होटल बन्द गर्ने तयारी भयो, बेरोजगार हुने अवस्था आएपछि स्वदेश फर्किएँ ।’
सीमानाकामा भेटिएका विजय विकले पनि एकातिर ग्यास अभावले पूरै समय होटल नचल्ने गरेको र अर्कातिर ‘बिसु’ पर्व पनि नजिकिँदा घर फर्किनुपरेको बताए । ‘बिसु पर्व पनि आइरहेको छ, चैत अन्तिमतिर घर फर्किने सोच भए पनि आफूले काम गर्ने होटल ग्यास अभावका कारण बन्द हुने अवस्थामा पुगेकाले चाँडो फर्किएको हुँ,’ उनले भने । विकका अनुसार खाना पकाउने ग्यासको अभावले होटलमा मजदुरी गर्ने नेपाली सबैभन्दा बढी प्रभावित भइरहेका छन् ।
भारतको पुनेमा रहेका डोटीका महेश भट्टले पनि ग्यास अभावले रोजगारीका लागि भारत गएका नेपाली समस्यामा परेका बताए । ‘खासगरी होटल व्यवसायमा रोजगारी गरिरहेका अधिकांश नेपाली बेरोजगार हुने अवस्था छ,’ उनले भने, ‘होटल व्यवसायका साथै अन्य क्षेत्रमा मजदुरी गर्ने नेपाली बढी प्रभावित हुने गरेका छन् ।’
मध्य–पूर्वमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिएको त्यहाँबाट फर्किएका नेपाली बताउँछन् । भारतमा ठूलो संख्यामा नेपाली विभिन्न क्षेत्रमा रोजगारी गर्दै आएका छन् । सुदूरपश्चिमेलीको रोजगारीका लागि पहिलो गन्तव्य पनि भारत हो ।

खाडीका नेपाली फर्कंदै

पश्चिम एसियामा जारी तनावका कारण विभिन्न मुलुकका ट्रान्जिटमा फसेका नेपाली नागरिक अवस्था केही सहज बनेपछि क्रमशः गन्तव्यतर्फ लागेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सुरुमा दोहा, दुबई, जेद्दा र कुवेत सिटीमा समस्या देखिए पनि अहिले दोहा र दुबईमा आंशिक रूपमा हवाई उडान सुरु भएपछि त्यहाँ रहेका सबै नेपालीलाई गन्तव्यतर्फ पठाइएको छ ।
जेद्दामा समस्यामा परेका ५२ हजयात्री चैत ५ गते फर्किसकेका छन् भने कुवेत सिटीमा रोकिएका ५२ जनामध्ये बाँकी ३३ जनालाई साउदी अरेबियाको भिसा मिलाएर चैत ४ गते गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ । पश्चिम एसियामा तनाव सुरु भएको २१ दिन पुगेको छ र केही क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमण जारी रहे पनि अधिकांश नेपाली सुरक्षित रहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार युएईमा एक नेपालीको निधन भएको र २० जना घाइते भए पनि एक जनाबाहेक सबै उपचारपछि घर फर्किसकेका छन् । बाँकी एक जना पनि खतरामुक्त अवस्थामा छन् ।
सरकारले सचिवको संयोजकत्वमा आपत्कालीन प्रतिकार्य समूह गठन गरी नियमित बैठक गरिरहेको छ भने मन्त्रालयमा २४ घण्टा नियन्त्रण कक्ष सञ्चालनमा छ । अनलाइन फाराममार्फत विवरण दिने नेपालीको संख्या ८२ हजार १०० पुगेको छ ।
तनावका बेला त्रास फैलाउने फोटो वा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा सात नेपाली पक्राउ परेका छन् । मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय कानून पालना गर्न र आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ ।
नेपालले द्वन्द्वरत पक्षलाई संयमता अपनाउन र अन्तरराष्ट्रिय मानवीय कानूनको पालना गर्न अपिल गरेको छ । मन्त्रालयका अनुसार नियोगहरूमा हटलाइन राखिएको छ र हाल असुरक्षासम्बन्धी गुनासा घट्दै गएका छन् । पुनः श्रम स्वीकृतिको प्रक्रिया पनि सुरु गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्