नेभिगेशन
अर्थतन्त्र

जनकपुरस्थित मानवसेवा आश्रमलाई नबिल बैंकको सहयोग

काठमाडौं । नबिल बैंकले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवा वाहनका कारण थप सहज हुने विश्वास व्यक्त गरे । 
बैंकका सीईओ ज्ञवालीले सडक आश्रित मानवहरूको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । यस पुनित कार्यमा बैंकले पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । 
मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन (अटो)को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरूलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए । 
नबिल बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो । घरपरिवार र आफन्तविहीन खुला आकाशमुनि बेवारिसेरूपमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगपेक्षी सडक आश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन जीउने आधार सुनिश्चित गर्ने उद्देश्यका साथ मानवसेवा आश्रम २०६० सालदेखि सञ्चालन गरिएको हो । यस आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी करिब १३ हजारलाई उद्घार गरिसकेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्