नेभिगेशन
नेपाल

पहिलो रोजाइमा यूएईः एकै महिनामा ७३ हजार विदेशिए

काठमाडौं । स्वदेशमा पर्याप्त रोजगारी र आयआर्जनको अवसर सिर्जना हुन नसक्दा एकै महिनामा ७३ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएर बाहिरिएका छन् । वैदेशिक रोजगार विभागको असोजको तथ्यांकअनुसार एक महिनामै ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका हुन् । यसमा नयाँ श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीमा रहेर पुनः श्रम स्वीकृति लिने दुवै समूह समेटिएका छन् ।
विभागको देशगत तथा जिल्लागत प्रतिवेदनअनुसार वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपालीको रोजाइ संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । त्यसपछि कतार, मलेसिया र साउदी अरेबिया प्रमुख गन्तव्यका रूपमा देखिएका छन् । जिल्लागत रूपमा झापा पहिलो र धनुषा दोस्रो स्थानमा छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको ठूलो हिस्सा अझै पनि खाडी मुलुक तथा मलेसियामा केन्द्रित रहेको छ ।
असोज महिनाको तथ्यांकमा पुरुषको हिस्सा ८५.९ प्रतिशत छ । कुल श्रम स्वीकृति लिनेमा ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला छन् । महिलाको सहभागिता १४.१ प्रतिशत मात्रै छ । 
नयाँ श्रम स्वीकृति लिने ४३ हजारभन्दा बढी
विभागका अनुसार असोजमा पुनः श्रम स्वीकृतिबाहेक नयाँ श्रम स्वीकृति लिनेको संख्या ४३ हजार ५५९ छ  । यस समूहमा ३६ हजार ५५७ पुरुष र सात हजार दुई महिला छन् । नयाँ श्रम स्वीकृति लिनेमा पुरुषको हिस्सा ८३.९ प्रतिशत र महिलाको १६.१ प्रतिशत छ ।
श्रम स्वीकृति प्राप्त गर्ने प्रक्रिया हेर्दा सबैभन्दा ठूलो हिस्सा म्यानपावर कम्पनीमार्फत गएको देखिएको छ । इजाजतपत्र प्राप्त संस्थामार्फत ३१ हजार ६०२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । यसमध्ये २७ हजार ४२९ पुरुष र चार हजार १७३ महिला छन् ।
व्यक्तिगत पहलमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १० हजार ८४४ छ  । यसमा आठ हजार २३३ पुरुष र दुई हजार ६११ महिला छन् । म्यानपावर कम्पनीमार्फत जानेको तुलनामा व्यक्तिगत प्रक्रियाबाट जाने महिलाको संख्या उल्लेख्य रहेको तथ्यांक रहेको छ । 
यसैगरी, पहिले नै वैदेशिक रोजगारीमा रहेका र पुनः श्रम स्वीकृति लिएका नेपालीको संख्या ३० हजार २०६ छ  । यसमा २६ हजार ८२० पुरुष र तीन हजार ३८६ महिला छन् । 
सरकार–सरकारबीचको सम्झौता तथा प्रणालीमार्फत १ हजार ३ जनाले श्रम स्वीकृति लिएका छन् । यसमा ८३२ पुरुष र १७१ महिला छन् । त्यस्तै, वैधानिकीकरण प्रक्रियाबाट ११० जनाले श्रम स्वीकृति पाएका छन् । यस समूहमा ६३ पुरुष र ४७ महिला छन् ।
यूएईमा मात्रै झण्डै २५ हजार नेपाली
देशगत तथ्यांकमा यूएई नेपाली कामदारको सबैभन्दा ठूलो गन्तव्य बनेको छ । असोजमा यूएईका लागि कुल २४ हजार ८९९ जनाले श्रम स्वीकृति लिएका छन्  । यसमा २० हजार २५९ पुरुष र तीन हजार ६४० महिला छन् । पुनः श्रम स्वीकृतिबाहेक यूएईका लागि मात्रै १६ हजार २६८ नयाँ श्रम स्वीकृति जारी भएका छन् ।
यूएईपछि कतार दोस्रो ठूलो गन्तव्य बनेको छ । कतारका लागि ११ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् । यसमा १० हजार २५४ पुरुष र एक हजार २४३ महिला छन् ।
मलेसिया तेस्रो स्थानमा छ । त्यहाँका लागि नौ हजार ६५३ जनाले श्रम स्वीकृति लिएकामा नौ हजार २८४ पुरुष र ३६९ महिला छन् । चौथो स्थानमा रहेको साउदी अरेबियाका लागि आठ हजार ३६६ जनाले स्वीकृति लिएका छन् । त्यहाँ जानेमध्ये आठ हजार ३०८ पुरुष र ५८ महिला छन्  ।
कुवेतका लागि पाँच हजार २७ जनाले श्रम स्वीकृति लिएका छन् । यसमा तीन हजार ६२० पुरुष र एक हजार ४०७ महिला छन् । यूएई, कतार, मलेसिया, साउदी अरेबिया र कुवेतमा मात्रै कुल ५९ हजार ४४२ जनाले श्रम स्वीकृति लिएका छन्  । यो असोज महिनाको कुल श्रम स्वीकृतिको करिब ८०.६ प्रतिशत हो । 
खाडी मुलुकबाहेक युरोपेली तथा पूर्वी एसियाली देशमा पनि नेपाली कामदारको उपस्थिति छ । युरोपतर्फ रोमानिया प्रमुख गन्तव्य बनेको छ । रोमानियाका लागि दुई हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन् । जापानका लागि एक हजार ४९५, टर्कीका लागि एक हजार १०३ र दक्षिण कोरियाका लागि एक हजार ४१ जनाले स्वीकृति लिएका छन् ।
दक्षिण कोरिया जानेमध्ये ८४५ जना सरकार–सरकारबीचको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन् । त्यस्तै, ओमानमा एक हजार ३१, बहराइनमा ९८६, साइप्रसमा ९४५ र माल्दिभ्समा ७१६ जनाले श्रम स्वीकृति लिएका छन् । बुल्गेरियामा ५९१, माल्टामा ५६७, क्रोएसियामा ५१२ र इजरायलमा २२९ जनाले स्वीकृति पाएका छन् । इजरायल जानेमध्ये १५८ जना सरकारी प्रणालीमार्फत गएका हुन् ।
दक्ष कामदार धेरै, उच्च दक्ष जनशक्ति न्यून
वैदेशिक रोजगारीमा जाने नेपालीको सीपगत वर्गीकरण हेर्दा दक्ष कामदारको संख्या सबैभन्दा धेरै छ । विभागका अनुसार असोजमा ४० हजार ७०० जनाले दक्ष कामदारका रूपमा श्रम स्वीकृति लिएका छन् । यो कुल स्वीकृतिको ५५.२ प्रतिशत हो । यस समूहमा ३५ हजार ६८ पुरुष र पाँच हजार ६३२ महिला छन्  ।
अदक्ष कामदारको संख्या २० हजार २२८ छ, जुन कुलको २७.४ प्रतिशत हो । यसमा १६ हजार ९४६ पुरुष र तीन हजार २८२ महिला छन्  । अर्धदक्ष श्रेणीमा १२ हजार ३४२ जनाले स्वीकृति लिएका छन् । यस समूहमा १० हजार ९४० पुरुष र एक हजार ४०२ महिला छन् ।
व्यावसायिक श्रेणीमा ४१५ जना र उच्च दक्ष श्रेणीमा ८० जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । व्यावसायिक श्रेणीमा ३५९ पुरुष र ५६ महिला छन् भने उच्च दक्ष समूहमा ६४ पुरुष र १६ महिला छन् ।
झापा पहिलो, धनुषा दोस्रो
जिल्लागत तथ्यांकमा झापाबाट सबैभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । असोजमा झापाका तीन हजार ४९० जनाले स्वीकृति लिएका छन् । यसमा दुई हजार ६५८ पुरुष र ८३२ महिला छन् ।
धनुषा दोस्रो स्थानमा छ । त्यहाँबाट तीन हजार ३२६ जनाले श्रम स्वीकृति लिएकामा तीन हजार २९४ पुरुष र ३२ महिला छन् । मोरङ तेस्रो स्थानमा छ । मोरङबाट तीन हजार १७७ जनाले स्वीकृति लिएका छन् । यसमा दुई हजार ५७८ पुरुष र ५९९ महिला छन् ।
त्यसपछि सिराहाबाट दुई हजार ७२३, महोत्तरीबाट दुई हजार ५३९, सुनसरीबाट दुई हजार ५११, रुपन्देहीबाट दुई हजार ४७४ र सर्लाहीबाट दुई हजार १२१ जनाले श्रम स्वीकृति लिएका छन् । सप्तरीबाट एक हजार ९११, दाङबाट एक हजार ७७१, चितवनबाट एक हजार ६६७ र कपिलवस्तुबाट एक हजार ६३८ जनाले स्वीकृति लिएका छन् ।
पहाडी जिल्लाबाट पनि उल्लेख्य संख्यामा नेपाली विदेशिएका छन् । तनहुँबाट एक हजार ५६०, स्याङ्जाबाट एक हजार ४५३, बागलुङबाट एक हजार १२०, कास्कीबाट एक हजार १७२, गुल्मीबाट एक हजार ३२ र पाल्पाबाट एक हजार १० जनाले श्रम स्वीकृति लिएका छन्  ।
काठमाडौंबाट ८५४, ललितपुरबाट ४२१ र भक्तपुरबाट ३०९ जनाले श्रम स्वीकृति लिएका छन् । हिमाली तथा दुर्गम जिल्लामा भने संख्या कम छ । मनाङबाट १६, मुस्ताङबाट १९, डोल्पाबाट ४० र हुम्लाबाट ५७ जनाले स्वीकृति लिएका छन् । यी संख्या सम्बन्धित जिल्लाबाट श्रम स्वीकृति लिनेको मात्रै भएकाले जिल्लाका सबै नागरिकको वैदेशिक रोजगारीमा सहभागिता यसले समेट्दैन ।
साइप्रसमा महिला धेरै, साउदीमा अत्यन्त न्यून
वैदेशिक रोजगारीमा महिला सहभागिता गन्तव्यअनुसार फरक देखिएको छ  । साइप्रसका लागि श्रम स्वीकृति लिने ९४५ जनामध्ये ७४९ महिला छन् । यो कुल संख्याको करिब ७९ . ३ प्रतिशत हो । माल्दिभ्समा ७१६ जनामध्ये ३६४ महिला छन्, जुन करिब ५०.८ प्रतिशत हो  ।
जापानका लागि श्रम स्वीकृति लिने एक हजार ४९५ जनामध्ये ४९९ महिला छन्  । यो करिब ३३.४ प्रतिशत हो  । कुवेतमा पाँच हजार २७ जनामध्ये एक हजार ४०७ महिला छन्, जुन करिब २८ प्रतिशत हो  ।
यसको विपरीत, साउदी अरेबियाका लागि स्वीकृति लिने आठ हजार ३६६ जनामध्ये महिला संख्या ५८ मात्रै छ  । यो करिब ०.७ प्रतिशत हो । जिल्लागत रूपमा झापाबाट ८३२, मोरङबाट ५९९, मकवानपुरबाट ४८० र सिन्धुपाल्चोकबाट ४१५ महिलाले श्रम स्वीकृति लिएका छन्  । तर, धनुषाबाट श्रम स्वीकृति लिने तीन हजार ३२६ जनामध्ये महिला ३२ जना मात्रै छन्  । सिराहामा दुई हजार ७२३ मध्ये २६ र सप्तरीमा एक हजार ९११ मध्ये ३५ महिला छन्  । कुल संख्याको तुलनामा यी जिल्लामा महिला सहभागिता क्रमशः करिब १ प्रतिशत, १ प्रतिशत र १.८ प्रतिशत छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्