नेभिगेशन
विश्व

मरिसकेका हात्तीले पनि अरूको कल्याण गरिरहन्छन्

 

काठमाडौं । यो ब्रह्माण्डको जीवनचक्रमा कुनै पनि कुरा यत्तिकै हराउँदैन । झन् हात्ती जस्तो विशाल जनावरको ७० वर्षको जीवनकालमा हराउने कुरै भएन । हुन पनि सात टनसम्मको तौल भएको हात्तीको मृत्युले अन्य कयौं प्राणीका लागि जीवनको बाटो खोल्न सक्छ भन्ने देखिएको छ ।
‘प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस’मा यसै महिना प्रकाशित अनुसन्धानले हात्ती मरेको झण्डै एक दशकसम्म त्यसको सिनोले घाँसेमैदानलाई कसरी प्रभाव पार्छ भन्ने देखाएको छ । हात्ती मरेको ठाउँमा सुरुमा जमिन खाली हुन्छ र पछि गएर त्यो ठाउँ वनस्पति हुर्कने र जनावरहरूले चरन गर्ने पोषणयुक्त केन्द्रमा परिणत हुन्छ ।
प्रिन्सटन विश्वविद्यालयकी इकोलोजिस्ट तथा यस नयाँ अनुसन्धानकी सह–लेखिका कोर्टनी रिडका अनुसार, दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्कको घाँसेमैदानमा काम गर्दा अनुसन्धानकर्ताहरूले बारम्बार हात्तीका सिनोहरू भेटेपछि यो अध्ययन गर्ने प्रेरणा मिलेको हो ।
दुई वर्षको अवधिमा, रिड र उनका सहकर्मीले आठ दिनदेखि झण्डै आठ वर्षअघि मरेका ४० वटा हात्तीका सिनोहरूको अध्ययन गरे । प्रत्येक ठाउँमा वैज्ञानिकहरूले माटो र घाँसमा अमोनियम र फस्फोरस जस्ता पोषक तŒवहरूको मात्रा कति छ भनेर जाँचे । उनीहरूले त्यहाँका वनस्पति अरू जनावरले कत्तिको खाएका छन् भनेर नापे र त्यहाँ कुन–कुन जनावर खान आउँछन् भनेर हेर्न क्यामेरा पनि जडान गरे ।
यसको नतिजा निकै आश्चर्यजनक थियो । रिडले भनिन्, ‘सुरुमा त्यहाँका सबै कुरा मर्छन्, किनभने ढलेको हात्तीको विशाल शरीरले घाम छेक्छ र त्यस वरपरका सबै बोटबिरुवा मर्छन् ।’
जनावरका सिनोले आफ्नो वरपरको वातावरणलाई कसरी परिवर्तन गर्छन् भन्ने विषयमा भएको सीमित अनुसन्धानमा यो अध्ययनले थप जानकारी दिएको छ ।
यस अध्ययनमा संलग्न नरहेकी फ्लोरिडा विश्वविद्यालयकी इकोलोजिस्ट अमान्डा सुबालुस्की भन्छिन्, ‘ठूला जनावरहरूले जीवित हुँदा पनि आफ्नो इकोसिस्टम (पारिस्थितिक प्रणाली) लाई कसरी प्रभाव पार्छन् भन्ने कुरा हामीले भर्खरै मात्र बुझ्न थालेका छौं । उनीहरूको सिनोले खेल्ने भूमिकाको बारेमा त हामीले भर्खरै मात्र सामान्य जानकारी पाउन थालेका छौं ।’
पछिल्लो अध्ययनले के पत्ता लगाएको छ भने हात्ती मरेको असर सिनो हराइसकेपछि पनि लामो समयसम्म रहिरहन्छ र यसले वनस्पतिलाई मात्र होइन सूक्ष्म जीवहरूलाई पनि असर गर्छ ।
‘हामीले जैविक विविधताको हिसाबले शून्य जस्तै ठाउँहरू पायौं, जहाँ सूक्ष्म जीव र वनस्पतिको वृद्धि एकदमै रोकिएको थियो,’ रिडले भनिन् । नाइट्रोजनयुक्त अमोनियमजस्ता पोषक तŒवहरू एकैपटक धेरै मात्रामा फैलनाले त्यस्तो खाली क्षेत्र बनेको कुरा रिड र उनका सहकर्मीहरूले महसुस गरे । उनी भन्छिन्, ‘राम्रो कुरा पनि धेरै भयो भने सधैं राम्रो हुँदैन ।’
यस्तो विषम परिस्थितिमा केही निश्चित प्रजातिका वनस्पतिहरूले मात्र जरा गाड्न सके ।
तर, उम्रिन सफल भएका थोरै प्रजातिका घाँसहरूमा पनि उच्च मात्रामा पोषक तŒवहरू थिए । यसले भोका शाकाहारी जनावरहरूलाई आकर्षित ग¥यो र ती जनावरले पनि नाइट्रोजनयुक्त मलमूत्र त्याग गरे । झण्डै आठ वर्षअघि मरेका पुराना सिनोहरू भएको ठाउँमा पनि पोषक तŒवको मात्रा धेरै भएको र जनावरहरूको चरिचरन बढेको पाइयो ।
‘हामी अझै पनि यसको पूर्ण प्रभाव मापन गर्न सकिरहेका छैनौं र यो कति समयसम्म रहन्छ भन्ने पनि हामीलाई थाहा छैन,’ रिडले भनिन् । तर, साना जनावरहरूको तुलनामा यसको प्रभाव धेरै लामो समयसम्म रहन्छ भन्ने उनीहरूलाई थाहा छ । साना जनावरहरूले दुई वा बढीमा पाँच वर्षसम्म मात्रै यस्तो पोषक तŒवको प्रभाव सिर्जना गर्छन् ।
यो अनुसन्धानमा सामेल नभएका अर्का व्यक्ति अष्ट्रेलियाको डिकिन विश्वविद्यालयका इकोलोजिस्ट फिलिप बार्टन भन्छन्, ‘आठ वर्षसम्म हात्तीको प्रभाव निरन्तर रहनु र त्यो अझै नरोकिनु साँच्चै आश्चर्यजनक छ । हाम्रो जमिनमुनि धेरै लुकेका प्रक्रियाहरू भइरहेका हुन्छन् र ती कुराहरू पारिस्थितिक प्रणालीको संरचना र कामलाई सञ्चालन गर्न निकै महŒवपूर्ण हुन्छन् ।’
सुबालुस्कीका अनुसार, जनावरहरूले जीवित हुँदा र मरेपछि पनि वैज्ञानिकहरूले सधैं ख्याल नगर्ने तरिकाले पोषक तŒवहरू जम्मा गर्ने र ओसारपसार गर्ने काम गर्छन् भन्ने यो थप प्रमाण हो । ‘मलाई लाग्छ कि यी ठाउँहरूबाट जनावरहरू हराइसकेपछि पनि लामो समयसम्म उनीहरूको पदचाप यहाँ रहिरहन्छ,’ उनी भन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्