नेभिगेशन
अर्थतन्त्र

६० अर्ब ५५ करोडको आइपिओ निष्कासनको अनुमति पर्खाइमा ८९ कम्पनी

काठमाडौं । निजी क्षेत्रले लगानी गरेका कम्पनीहरूले ६० अर्ब रुपैयाँभन्दा बढीको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्दैछन् । उत्पादन तथा प्रशोधन, जलविद्युत्, होटल तथा पर्यटन, लगानी, इन्स्योरेन्स र अन्य क्षेत्रका कम्पनीले ४१ करोड ३६ लाख ८२ हजार ६३२ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेका हुन् ।
सार्वजनिक निजी साझेदारीमा लगानी भएका ८९ वटा कम्पनीले प्राथमिक शेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । सेबोनका अनुसार ८९ कम्पनीले ६० अर्ब ५५ करोड ६२ लाख ८१ हजार ३११ रुपैयाँबराबरको साधारण शेयर निष्कासन गर्न आवेदन दिएर स्वीकृतिका लागि पालो कुरिरहेका छन् । पालो कुरिरहेकामध्ये केही कम्पनीले सेबोनको टिप्पणीपछि संशोधित विवरण, कम्प्लायन्स रिपोर्ट र अद्यावधिक कागजात पेश गरिसकेका छन् भने केहीको सुरुवाती चरणको आवेदन दर्ता भएको छ । 

उत्पादन र प्रशोधन क्षेत्रबाट ३१ अर्ब
शेयर बजारमा उत्पादन र प्रशोधन क्षेत्रका कम्पनीहरूको अभूतपूर्व आकर्षण देखिएको छ । हाल २४ वटा ठूला तथा मझौला उद्योगले सेबोनमा आइपिओ निष्कासनका लागि आवेदन दिएर पालो कुरिरहेका छन् । यी कम्पनीहरूले निष्कासन गर्न लागेको शेयरको पुँजी ३० अर्ब ९२ करोड रुपैयाँभन्दा बढी छ । यसले अब जलविद्युत् र बैंकिङ क्षेत्रको बाहुल्य रहँदै आएको दोस्रो बजारमा यो क्षेत्रको पनि उपस्थिति बलियो हुने देखिएको छ ।
उत्पादन तथा प्रशोधन क्षेत्रको आइपिओ निष्कासन प्रक्रियामा स्टिल र सिमेन्ट उद्योगहरू सबैभन्दा अगाडि छन् । जगदम्बा स्टिल्सले यो क्षेत्रकै सबैभन्दा ठूलो आइपिओ ल्याउने तयारी गरेको छ । कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँबराबरको २ करोड ७० हजार कित्ता शेयर निष्कासन गर्दैछ । 


यस्तै, निर्माण सामग्री उत्पादनमा स्थापित मारुती सिमेन्ट्सले ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ पुँजी जुटाउन १ करोड १६ लाख कित्ता शेयर जारी गर्न अनुमतिका लागि सेबोनमा आवेदन दिएको छ । सौर्य सिमेन्ट इन्डस्ट्रिजले पनि १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता शेयर बिक्री गरी ४ अर्ब २२ करोड ७२ लाख रुपैयाँ पुँजी संकलन गरी व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको छ ।
यस्तै, निर्माण क्षेत्रमै सक्रिय अम्बे स्टिल्सले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार २८१ रुपैयाँबराबरको १ करोड ११ लाख ९२ हजार ७ सय २७ कित्ता शेयर निष्कासन गर्न लागेको छ । त्यस्तै, आधुनिक प्रविधियुक्त रिद्धिसिद्धि सिमेन्टले २ अर्ब ६० करोड ५९ लाख रुपैयाँ जुटाउन १ करोड २१ लाख ७१ हजार ५ सय कित्ता शेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ ।
हुलास आइरन इन्डस्ट्रिजले पनि २ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ ९७ लाख ५० हजार कित्ता शेयर जारी गर्दैछ । शुभश्री अग्नि सिमेन्ट उद्योगले २ अर्ब २ करोड १० लाख रुपैयाँबराबरको २ करोड २ लाख १० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । सिमेन्ट क्षेत्रकै अर्को प्रतिस्पर्धी महाशक्ति सिमेन्टले १ अर्ब ७८ करोड ५० लाख रुपैयाँ जुटाउन १ करोड ७८ लाख ५० हजार ८ सय ५७ कित्ता शेयर सर्वधारणका लागि ल्याउँदैछ ।
यसैगरी, पूर्वाधार विकासमा संलग्न हुलास इन्फ्राले १ अर्ब १८ करोड ३२ लाख रुपैयाँबराबरको ३५ लाख ४७ हजार १ सय ८८ कित्ता शेयर निष्कासन गर्नेछ । स्टिल क्षेत्रमै गोदावरी स्टिलले १ अर्ब ५ करोड रुपैयाँ संकलन गर्न १ करोड ५ लाख कित्ता शेयर जारी गर्ने तयारीसहित अनुमतिका लागि सेबोनमा आवेदन दिएर पालो कुरिरहेको छ । यसैगरी, साना सिमेन्ट उद्योगमध्ये भुगर्व सिमेन्टले २० करोड २० लाख रुपैयाँबराबरको २० लाख २० हजार कित्ता शेयर निष्कासन गरी पुँजी वृद्धि गर्दैछ ।
स्वास्थ्य क्षेत्रलाई उत्पादनसँग जोड्न औषधि उत्पादक कम्पनीहरू पनि पुँजी बजारमा आकर्षित भई आइपिओ निष्कासनको प्रक्रियामा गएका छन् । कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ करोड रुपैयाँबराबरको १७ लाख कित्ता शेयर निष्कासन गर्दैछ । सुप्रिम हेल्थकेयरले पनि १४ करोड रुपैयाँ जुटाउन १४ लाख कित्ता र निविक्स फर्मास्युटिकल्सले १३ करोड ७५ लाख रुपैयाँबराबरको १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने प्रक्रियामा जाँदै अनुमतिका लागि सेवोनमा आवेदन दिएर पालो कुरिरहेका छन् ।
यस्तै, कृषि क्षेत्रको व्यावसायीकरणका लागि एनसी एग्रो टेक इन्डस्ट्रिजले १८ करोड ७५ लाख रुपैयाँबराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्दैछ । दाउन्ने एग्रो फार्मले १२ करोड ५० लाख रुपैयाँ जुटाउन १२ लाख ५० हजार कित्ता र केबी एग्रो एण्ड रिसर्च कम्पनीले १० करोड ९७ लाख रुपैयाँबराबरको १० लाख ९७ हजार २ सय ५० कित्ता शेयर जारी गर्ने प्रक्रियामा छन् ।
रङ उद्योगतर्फ जस्मिन पेन्ट्सले १० करोड रुपैयाँबराबरको १० लाख कित्ता, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले ८ करोड ५० लाख रुपैयाँबराबरको ८ लाख ५० हजार कित्ता र एभरेष्ट कलरले ७ करोड ९० लाख रुपैयाँ संकलन गर्न ७ लाख ९० हजार कित्ता शेयर ल्याउने तयारी गरेका छन् ।
यसबाहेक, एसियन ब्याट्रिजले १३ करोड रुपैयाँबराबरको १३ लाख कित्ता, सारथी केबल इन्डस्ट्रिजले ११ करोड ४५ लाख रुपैयाँबराबरको ११ लाख ४५ हजार कित्ता, लक्ष्मी टेक्नोप्लास्टले १० करोड रुपैयाँको १० लाख कित्ता र श्री डिस्टिलरीले ९ करोड ६० लाख रुपैयाँबराबरको ९ लाख ६० हजार कित्ता शेयर निष्कासन गरी पुँजी संकलन गर्ने लक्ष्य राखेका छन् । यी सबै कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन गर्नेछन् ।

जलविद्युत्तर्फ ३१ कम्पनी
जलविद्युत् उत्पादनको क्षेत्रमा स्वदेशी पुँजी परिचालन गरी लगानी गर्दै आएका ३१ वटा कम्पनीले सेबोनमा आवेदन दिएका छन् । जलविद्युत् कम्पनीहरूले सामूहिक रूपमा १५ अर्ब १४ करोड रुपैयाँबराबरको पुँजी संकलन गर्ने लक्ष्यका साथ आइपिओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका छन् । जलविद्युत् कम्पनीहरूले स्वपुँजी लगानीबापतको पुँजी संकलनका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएका हुन् ।
सबैभन्दा बढी शेयर नीलगिरी खोला हाइड्रोपावर कम्पनीले निष्कासन गर्दैछ । यो कम्पनीले ७९ लाख २० हजार कित्ता शेयरमार्फत ७ अर्ब ९२ करोड रुपैयाँबराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेको छ ।


त्यस्तै, सिउरी न्यादी पावरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता शेयर निष्कासन गरी ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४ सय रुपैयाँ जुटाउने योजना बनाएको छ । मडम खोला हाइड्रोपावरले २६ लाख कित्ता शेयरमार्फत २ अर्ब ६० करोड रुपैयाँ संकलन गर्दैछ भने पुवा खोला–वन हाइड्रोपावरले २० लाख ७० हजार कित्ता शेयर जारी गरी २ अर्ब ७ करोड रुपैयाँ उठाउने तयारी गरेको छ ।
यस्तै, हेबिट्याट पावर कम्पनी १ अर्ब ४२ करोड, युनाइटेड मेवा खोला हाइड्रोपावर १ अर्ब २३ करोड, आशुतोष ऊर्जा १ अर्ब २० करोड र मेवा डेभलपर्स १ अर्ब १२ करोडको आइपिओ निष्कासन गर्न सेबोनमा आवेदन दिएर पालो कुरिरहेका छन् ।
मध्यम स्तरका आयोजनाहरूमध्ये भिजन इनर्जी एण्ड पावरले ८३ करोड रुपैयाँ र इलेक्ट्रो पावर कम्पनीले ८१ करोड २५ लाख रुपैयाँबराबरको शेयर निष्कासन गर्दैछन् । पिपल्स इनर्जीले ६६ करोड रुपैयाँ र नम्बुर हिमालय हाइड्रोपावरले ६५ करोड ५३ लाख ५२ हजार ३६ रुपैयाँबराबरको ३० लाख ६ हजार २०२ कित्ता शेयर बजारमा ल्याउने तयारी गरेका छन् ।
यसैगरी, हिम पर्वत हाइड्रोपावरले ५९ करोड १५ लाख रुपैयाँ, झ्यामोलोंग्मा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५१ करोड र म्याग्दी हाइड्रोपावरले ४७ करोड ४५ लाख रुपैयाँबराबरको शेयर जारी गर्नेछन् । संयुक्त ऊर्जा र काबेली हाइड्रोपावर कम्पनीले क्रमशः ४१ करोड ६० लाख र ४१ करोड २५ लाख रुपैयाँबराबरको शेयर निष्कासन गर्ने भएका छन् । शेयर बजारमा प्रवेश गर्न लागेका अन्य कम्पनीहरूमा अर्बिट इनर्जी (४० करोड), आरती पावर कम्पनी (३६ करोड) र लोअर एर्खुवा हाइड्रोपावर कम्पनी (२८ करोड ५ लाख ७५ हजार) रहेका छन्।
त्यस्तै, माउण्ट एभरेष्ट पावर डेभलपमेन्टले २५ करोड ८० लाख, एपेक्स मकालु हाइड्रोपावर र गौरीशंकर पावर डेभलपमेन्ट दुवैले समान २४ करोड रुपैयाँबराबरको शेयर निष्कासन गर्नेछन् । साना आयोजनाहरूतर्फ दुधपोखरी चेपे हाइड्रोपावर (२० करोड २० लाख), हिल्टन हाइड्रो एनर्जी (१७ करोड), रिक्छेत जलविद्युत् कम्पनी (१६ करोड ८९ लाख ५० हजार), र चम्पावती हाइड्रोपावर (१६ करोड) का आईपीओ आउने क्रममा छन् ।
सूचीको अन्त्यतिर हिमरिभर पावर (१३ करोड ३० लाख), ह्वाइट लोटस पावर (१२ करोड १९ लाख), सेन्चुरी इनर्जी (८ करोड २५ लाख ३३ हजार) र एलसी इनर्जी (६ करोड) रहेका छन् । जलविद्युत्् क्षेत्रका यी ३१ कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएलगत्तै प्राथमिक शेयर निष्कासन गर्नेछन् । पाइपलाइनमा रहेकामध्ये अधिकांश जलविद्युत् कम्पनी लामो समयदेखि प्राथमिक शेयर निष्कासनको अनुमतिको पखाईमा छन् ।

पर्यटन क्षेत्रका १४ कम्पनी
पर्यटन क्षेत्रमा आएको सुधार र व्यवसाय विस्तारको लहर बढ्दै जाँदा होटल र पर्यटन क्षेत्रका १४ वटा कम्पनीले प्राथमिक शेयर निष्कासनका लागि नियामक निकायमा प्रस्ताव पेश गरेका छन् । यी कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गरेर सामूहिक रूपमा ५ अर्ब २१ करोड रुपैयाँबराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेका छन् । यस क्षेत्रमा अन्तर्राष्ट्रिय चेन होटलदेखि आन्तरिक उडान भर्ने चर्चित एयरलाइन्स तथा केबलकार परियोजनासमेत पुँजी बजारमा भित्रिने तयारीमा छन् ।
शेयर निष्कासन गर्न लागेको मध्ये सबैभन्दा बढी कित्ता शेयर हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले निष्कासन गर्न सेबोनको अनुमति मागेको छ । कम्पनीले ६३ लाख कित्ता शेयर निष्कासन गरी १ अर्ब २६ करोड रुपैयाँबराबरको पुँजी जुटाउन लागेको हो । निजी क्षेत्रको प्रतिष्ठित यो एयरलाइन्सको प्रवेशले नेप्सेमा हवाई क्षेत्रको प्रतिनिधित्वलाई थप उचाई दिने विश्वास गरिएको छ ।
यसैगरी, होटल क्षेत्रमा होटल सब्रिनाले ४ करोड ७० लाख ४० हजार रुपैयाँ संकलन गर्न ४७ लाख ४ हजार कित्ता शेयर जारी गर्दैछ । अन्नपूर्णा केबलकारले पनि ४ करोड ३४ लाख रुपैयाँ जुटाउन ४३ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । अकामा होटलले ४२ लाख ८५ हजार ८ सय कित्ता शेयरमार्फत ४२ करोड ८५ लाख ८० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय चेन होटलहरूसँग आबद्ध होटलहरू पनि शेयर बजारमा आक्रामक रूपमा आउन लागेका छन् । माउण्टेन ग्लोरीले ४० करोड रुपैयाँ जुटाउन ४० लाख कित्ता शेयर ल्याउँदैछ । त्यस्तै, ‘भर्नाबास म्युजियम होटल’का रूपमा परिचित भर्नाबास म्युजियम होटलले ३९ करोड ६० लाख रुपैयाँबराबरको ३९ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्ने प्रक्रियामा छ । ‘हलिडे इक्सप्रेस’ ब्रान्डसँग आबद्ध स्वर्णिम होटलले ३८ करोड रुपैयाँबराबरको ३८ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।
हाल चर्चामा रहेको होटल इच्छाले ३५ करोड रुपैयाँ जुटाउन ३५ लाख कित्ता शेयर निष्कासन गर्दैछ । ‘रामाडा एन्कोर’ ब्रान्डको सञ्चालक ठमेल प्लाजा होटल एण्ड स्विट्सले पनि २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता र अपेक्स होस्पिटालिटीले पनि समान २२ करोड ५० लाख रुपैयाँ जुटाउन २२ लाख ५० हजार कित्ता शेयर ल्याउने प्रक्रियामा छन् ।
यस्तै, धार्मिक तथा पर्यटकीय क्षेत्रमा सञ्चालित माउलकाली केबलकारले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ संकलन गर्न १८ लाख ७९ हजार १ सय ३९ कित्ता शेयर निष्कासन गर्दैछ । पोखरामा अवस्थित अतिथि रिसोर्ट एण्ड स्पाले १६ करोड २५ लाख रुपैयाँ जुटाउन १६ लाख २५ हजार कित्ता शेयर जारी गर्ने प्रक्रियामा छ ।


नगरकोटको पर्यटन प्रवद्र्धनमा सक्रिय नागारकोट रिसोर्ट र चितवनको सौराहामा रहेको होटल पार्कल्याण्ड दुवैले समान १५ करोड रुपैयाँबराबरको १५–१५ लाख कित्ता शेयर निष्कासन गर्न अनुमतिका लागि सेबोनमा आवेदन दिएर पालो कुरिरहेका छन् ।
होटल तथा पर्यटन क्षेत्रका यी कम्पनीहरूले धितोपत्र बोर्डबाट अनुमति पाएपछि क्रमशः सर्वसाधारणका लागि शेयर जारी गर्नेछन् । यसअघि सीमित संख्यामा रहेका होटलहरू अब उल्लेख्य रूपमा थपिने भएकाले लगानीकर्तालाई पर्यटन क्षेत्रको वृद्धिबाट लाभ लिने ठूलो अवसर प्राप्त हुनेछ । यसले नेपालको पर्यटन उद्योगलाई संस्थागत बनाउन र पारदर्शिता कायम गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

लगानी क्षेत्रबाट ३ अर्ब १४ करोड
विभिन्न क्षेत्रका आयोजनामा पुँजी व्यवस्थापन गर्ने उद्देश्यले स्थापित लगानी क्षेत्रका कम्पनीहरू पनि सर्वसधारणमा शेयर निष्कासन गरी पुँजी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन अग्रसर देखिएका छन् । तथ्यांकअनुसार यस क्षेत्रका ४ ठूला लगानीकर्ता कम्पनीले कुल ३ अर्ब १४ करोड रुपैयाँबराबरको प्राथमिक शेयर निष्कासनका लागि नियामक निकाय सेबोनमा आवेदन दिएका छन् ।
पुँजी बजारमा संस्थागत लगानीकर्ताको भूमिका निर्वाह गर्दै आएका यी कम्पनीले संकलन गर्ने रकम विभिन्न उत्पादनमूलक परियोजना, जलविद्युत् र अन्य सम्भावित क्षेत्रमा लगानी गर्ने योजना बनाएका छन् । यो क्षेत्रमा सबैभन्दा बढी परिमाणमा शिवम् होल्डिङ्सले प्राथमिक शेयर निष्कासन गर्दैछ । यो कम्पनीले १ करोड १६ लाख कित्ता शेयर बजारमा ल्याउने तयारी गरेको छ । यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ११० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१० रुपैयाँको दरमा शेयर जारी गर्ने प्रस्ताव गरेको छ । साधारण शेयर निष्कासनमार्फत कम्पनीले कुल २ अर्ब ४३ करोड ६० लाख रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य राखेको छ । यो नै लगानी क्षेत्रकै हालसम्म निष्कासन हुन लागेको सबैभन्दा ठूलो परिमाणको प्राथमिक शेयर हो ।

यस्तै, ऊर्जा र विविध क्षेत्रमा लगानी गर्दै आएको सिड इनर्जीले पनि पुँजी बजारमा प्रवेश गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा क्षेत्रका विद्युत् आयोजनाहरूमा लगानी गर्ने उद्देश्यले स्थापित यस कम्पनीले २४ लाख ७५ हजार ३ सय ७५ कित्ता शेयर निष्कासन गरी २४ करोड ७५ लाख ३७ हजार ५ सय रुपैयाँ जुटाउने तयारी गरेको छ ।


त्यस्तै, बरुण इन्भेष्टमेन्टले पनि २४ करोड ७५ लाख रुपैयाँबराबरको २४ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । यो कम्पनीले संकलन गर्ने पुँजीले विभिन्न क्षेत्रका आयोजनामा पुँजीगत लगानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । यसै क्षेत्रको अर्को कम्पनी शिवशंकर हाइड्रो इन्भेष्टमेन्टले २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ २१ लाख कित्ता शेयर निष्कासनको प्रस्ताव गरेको छ । मुख्यतया जलविद्युत्् आयोजनाहरूमा लगानी गर्ने उद्देश्य राखेको यस कम्पनीको प्रवेशले ऊर्जा क्षेत्रमा थप लगानी जुट्ने अपेक्षा गरिएको छ ।

अन्य क्षेत्रका १३ कम्पनी दौडमा 
नेपालको पुँजी बजारमा जलविद्युत्् होटल र उत्पादनमूलक क्षेत्र मात्र नभई ‘अन्य’ समूहअन्तर्गत पर्ने विभिन्न सेवामूलक कम्पनीको पनि ठूलो आकर्षण देखिएको छ । सेबोनको तथ्यांकअनुसार सञ्चार, स्वास्थ्य, रेमिट्यान्स, उड्डयन र व्यापारिक क्षेत्रका १३ कम्पनीले कुल ५ अर्ब ४३ करोड रुपैयाँबराबरको प्राथमिक शेयर जारी गर्न सेबोनमा आवेदन दिएका छन् । यस समूहमा स्थापित ब्रान्डदेखि प्रिमियम मूल्यमा शेयर जारी गर्ने कम्पनीहरूको बाहुल्य छ । यस समूहमा सबैभन्दा ठूलो सार्वजनिक निष्कासन डिस मिडिया नेटवर्क (डिस होम) को रहेको छ । टेलिभिजन र इन्टरनेट सेवाप्रदायक यस कम्पनीले १ अर्ब ९७ करोड ५ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ९७ लाख ५ हजार ९ सय ७० कित्ता शेयर बजारमा ल्याउँदैछ ।
त्यस्तै, नेपालको रेमिट्यान्स क्षेत्रको अग्रणी नाम आइएमईले पनि सर्वसाधारणका लागि शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । आईएमई लिमिटेडले १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँबराबरको १२ लाख ५० हजार ६ सय ६७ कित्ता शेयर निष्कासन गर्ने लक्ष्य राखेको छ ।


यस्तै, स्वास्थ्य क्षेत्रलाई संस्थागत गर्ने उद्देश्यले नाम चलेका अस्पतालहरू पनि शेयर बजारमा जोडिन थालेका छन् । काठमाडौंको महाराजगन्जस्थित ह्याम्स अस्पतालले २४ करोड रुपैयाँ जुटाउन २४ लाख कित्ता शेयर निष्कासन गर्दैछ । त्यसैगरी, लामो समयदेखि सेवा दिइरहेको मेडिकेयर अस्पतालले ११ करोड २५ लाख रुपैयाँबराबरको ११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।
यसैगरी, यस समूहमा केही कम्पनीहरूले अंकित मूल्यमा थप प्रिमियम जोडेर शेयर महँगो दरमा बिक्री गर्ने प्रस्ताव गरेका छन् । ठमेलस्थित छायादेवी कम्प्लेक्सले प्रतिकित्ता ४०० रुपैयाँ (३०० रुपैयाँ प्रिमियम) का दरले ५७ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्कासन गर्ने प्रक्रियामा छ । उड्डयन क्षेत्रको कैलाश हेलिकप्टर सर्भिसेसले पनि प्रतिकित्ता ३२७ रुपैयाँको दरमा ११ करोड ४४ लाख ५० हजार रुपैयाँ संकलन गर्न ३ लाख ५० हजार कित्ता शेयर ल्याउने तयारी गरेको छ ।
यसैगरी, मिडिया क्षेत्रको नेपाल ब्रोडकास्टिङ च्यानलले पनि ५ करोड रुपैयाँ मूल्यको १० लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्न सेबोनमा अनुमतिका लागि आवेदन दिएर पालो कुरिरहेको छ । न्यूज२४ टेलिभिजनको प्रवर्धक रहेको यो कम्पनीले भने अन्य कम्पनीको भन्दा सस्तो दरमा प्राथमिक शेयर निष्कासन गर्दैछ । यो कम्पनीले सेबोनको अनुमति पाएपछि प्रतिकित्ता ५० रुपैयाँ दरमा १० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरी ५ करोड रुपैयाँ पुँजी संकलन गर्ने भएको छ । यस्तै, विविध क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापित बिजनेस इन्ट्रेष्ट ग्रुप अफ इन्डस्ट्रिजले ४५ करोड रुपैयाँबराबरको ४५ लाख कित्ता शेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ ।
यस्तै, जिआई सोलारले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ मूल्यबराबरको १३ लाख ६३ हजार ३६० कित्ता प्राथमिक शेयर निष्कासन गर्दैछ । यी सबै कम्पनीहरूले धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि नेपाली पुँजी बजारमा आधिकारिक रूपमा सूचीकृत हुनेछन् ।
अन्य समूह अन्तर्गत प्राथमिक शेयर निष्कासन गरी पुँजी बजारमा प्रवेश गर्न लागेका कम्पनीहरूको प्रवेशले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई थप विविधीकरण गर्नेछ । लगानीकर्ताका लागि अब केवल जलविद्युत्् वा बैंकमा मात्र नभई सञ्चार, अस्पताल, रेमिट्यान्स र हेलिकप्टर सेवा जस्ता विविध क्षेत्रका कम्पनीमा प्रत्यक्ष लगानी गर्ने बाटो खुल्ने देखिएको छ । यसले बजारको जोखिमलाई कम गर्न र लगानीको दायरालाई फराकिलो बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्