नेभिगेशन
अर्थतन्त्र

नेपालगन्जमा थपियो तारे होटल

बाँके । पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगन्जमा करिब १५ करोड रुपैयाँको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ । युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ ।
दुई तारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन् । विलासी अनुभव खोज्ने पाहुनाका लागि दुई वटा विशेष स्वीट रुमको व्यवस्था गरिएको सञ्चालक कँडेलले जानकारी दिए । उनका अनुसार होटलका सबै कोठामा वातानुकूलित र २४सै घण्टा तातोपानीको सुविधा छ । पाहुनाको सहजताका लागि आठ जना क्षमताको अत्याधुनिक लिफ्ट र सवारी साधनको सुरक्षाका लागि भूमिगत पार्किङको व्यवस्था गरिएको छ ।
परिवर्तित समयसँगै होटलले आफ्नो बुकिङ प्रणालीलाई पनि आधुनिक बनाएको छ । पाहुनाले ई–सेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्मबाट सजिलै कोठा बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसले गर्दा टाढाबाट आउने पर्यटकलाई झन्झटमुक्त यात्राको सुनिश्चितता प्रदान गर्नेछ ।
नेपालगन्जको धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीय स्तरमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताए । नेपालगन्जलाई ट्रान्जिट बनाएर कर्णाली र सुदूरपश्चिमका पर्यटकीय स्थलमा जाने पर्यटकका लागि बाँके र विशेष गरी नेपालगन्जको आर्थिक तथा पर्यटकीय गतिविधिमा यसले विशेष टेवा पु¥याउने उनले स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्