नेभिगेशन
अर्थतन्त्र

रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालन

काठमाडौं । ग्रान्ड सेन्ट्रल होटल प्राइभेटले रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनमा आएको घोषणा गरेको छ । यससँगै पूर्वी नेपालको द्रुत रूपमा विकास भइरहेको व्यापारिक केन्द्र इटहरीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा भित्रिएको छ।
देशबन्धु बस्नेतको स्वामित्वमा रहेको यो होटल विन्धम होटल्स एण्ड रिसोट्र्ससँगको सहकार्यमा विकास गरिएको हो । इटहरी एक महत्वपूर्ण ट्रान्जिट तथा व्यापारिक गन्तव्यका रूपमा स्थापित हुँदै गइरहेको सन्दर्भमा यो होटललाई त्यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
रमादा बाइ विन्धम इटहरी पशुपति मार्गमा ८१ वटा पूर्ण रूपमा सुसज्जित अतिथि कक्ष छन्, जसले व्यावसायिक तथा घुम्न आउने यात्रु दुवैका लागि आरामदायी र अत्याधुनिक सुविधा प्रदान गर्छ । होटलमा दिनभर सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुलको सुविधा उपलब्ध छ। बैठक, सम्मेलन तथा सामाजिक कार्यक्रमका लागि प्रशस्त स्थानसहितका ब्यांक्वेट हल र छुट्टै मिटिङ रुम पनि उपलब्ध छन्, जसले यस क्षेत्रमा बढिरहेका कर्पोरेट तथा सामाजिक कार्यक्रमहरूको माग पूरा गर्ने लक्ष्य राखेको छ।
ग्रान्ड सेन्ट्रल होटलका सञ्चालक देशबन्धु बस्नेतले व्यापारिक तथा ट्रान्जिट केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको इटहरीमा गुणस्तरीय एवं विश्वसनीय होटलको माग बढिरहेको बताए । ‘विन्धमसँगको सहकार्यमार्फत हामीले यस ठाउँको अनुभवलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्दै स्वदेशी तथा विदेशी दुवैखाले यात्रुका आवश्यकता पूरा गर्ने गन्तव्य निर्माण गरेका छौं,’ उनले भने ।
विन्धम होटल्स एण्ड रिसोट्र्सका युरेसिया क्षेत्रका मार्केट म्यानेजिङ डाइरेक्टर राहुल माकारियस इटहरीमा ग्रान्ड सेन्ट्रल होटल प्रालिसँगको सहकार्यमा रमादा ब्रान्ड ल्याउन पाउँदा खुसी व्यक्त गरे । ‘व्यापारिक ट्रान्जिट द्वारका रूपमा रहेको यो शहर अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवाका लागि उपयुक्त छ,’ उनले भने, ‘दक्षिण एसियामा तीव्र रूपमा विकास भइरहेका दोस्रो दर्जाका शहरहरूमा विस्तार गर्ने हाम्रो रणनीतिअन्तर्गत यो होटल सञ्चालनमा ल्याइएको हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्