नेभिगेशन
अर्थतन्त्र

आठ महिनामा ११ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्ब रुपैयाँको व्यापार घाटा बेहारेको छ । नेपालको सर्वाधिक व्यापार घाटा छिमेकी मुलुकहरु भारत र चीनसँगको व्यापारमा छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँको घाटा बेहोरेको हो । पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ । 
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२.५४ र निर्यात २९.८३ प्रतिशतले बढेको छ ।
गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र ५ खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट ७ खर्ब २४ अर्ब ६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ । 
त्यस्तै, छिमेकी मुलुक चीनसँग २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र ९८ करोड ३३ लाखको निर्यात हुँदा २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाखको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौं स्थानमा छन् ।
नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्या लगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग ३ करोड ३३ लाख र आइसल्याण्डसँग २ करोड ५७ लाख रुपैयाँ बराबर व्यापार नाफा छ ।
यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल,  ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । 
त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाखको सुन, १८ अर्ब ४४ करोड ७८ लाख रुपैयाँको चाँदी आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ । 
त्यस्तै, ९ अर्ब ४९ करोड, ६१ लाखको अलैंची, ६ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, ६ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, ४ अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्