नेभिगेशन
उपत्यका

बिचौलियाको नियन्त्रणमा प्रहरी सक्रिय

थुनुवा छुटाइदिन्छु भन्दै ठगी, दम्पती पक्राउ

काठमाडौं । उपत्यकामा पछिल्लो समय सर्वसाधारणलाई दुःख हैरानी दिने बिचौलिया तथा अवाञ्छित गतिविधिविरुद्ध प्रहरीले सक्रियता बढाएको छ । यातयात व्यवस्था कार्यालय र बसपार्कहरुबाट धरपकड थालेको हो । 
आफूले भनेका गाडीमा चढ्न र भनेजति भाडाको पैसा निकाल्न दबाब दिने ४८ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । टिकट काउन्टरहरूमा काम गर्नेले यात्रुहरूलाई जबरजस्ती आफूहरूले भनेको गाडीमा चढ्न दबाब दिने, तानातान गर्ने तथा अभद्र व्यवहार गर्ने गरेकालाई बल्खु, कलंकी र गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बल्खुबाट १९, कलंकीबाट २४ र गोंगबु नयाँ बसपार्क क्षेत्रबाट ५ जनालाई नियन्त्रणमा लिएको हो । 
यसअघि मंगलबार विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने, सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै अवैध रूपमा रकम असुल्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट १ लाख २२ हजार नगद र ५३ थान बिलबुक बरामद भएको थियो । केहीलाई स्वयम्भूस्थित यातायात कार्यालय र केहीलाई थानकोटको गुर्जुधारास्थित कार्यालयबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै भक्तपुरको मध्यपुरथिमि–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई परीक्षा पास गराइदिने भन्दै पैसा माग्ने दुई जना र सानोभ¥याङस्थित कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।
उपत्यकामा कडाइको खबर बाहिरिएसँगै विभिन्न जिल्लामा सकारात्मक प्रभाव परेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीबाट बारम्बार गुनासो आएपछि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको हो । 
यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पनि नियम उल्लंघन गर्ने चालकहरूमाथि कारबाही तीव्र पारेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने १६ चालकलाई कारबाही गरिएको छ, जसमा यात्रुवाहक सवारी, निजी कार, स्कुटर र ट्याक्टर चालकहरू छन् ।
प्रहरीका अनुसार बिचौलिया तथा अवैध गतिविधिविरुद्धको अभियानलाई अझ सशक्त बनाइनेछ । यसले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, सर्वसाधारणलाई यस्ता गतिविधिबाट सचेत रहन र कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ ।

थुनुवा छुटाइदिन्छु भन्दै ठगी, दम्पती पक्राउ
जेनजी आन्दोलनको मौकामा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेकालाई  धरौटीमा छुटाइदिने भन्दै ठगी भएको छ । नौ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंको मण्डिखाटार बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर र उनकी पत्नी ३७ वर्षीया मिठु भनिने अनिता थापामगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हाल सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका तीन जनालाई छुटाइदिन्छु भन्दै हरिबहादुरले ठगी गरेको खुलेको हो । उनले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाइदिन्छु, धरौटीबापतको रकम र वकिललाई बहस खर्च भनी मिठुको खातामा पैसा पैसा जम्मा गर्न लगाएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्