काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार काठमाडौंको गैरीधाराबाट उनलाई नियन्त्रणमा लिएको हो । ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार भट्टमाथि गैरकानूनी सम्पत्ति आर्जन र शुद्धीकरणसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ । पक्राउपछि काठमाडौं जिल्ला अदालतले भट्टलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
भट्ट र उनको समूहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही समयदेखि छानबिन गरिरहेको थियो । विभागको पत्रका आधारमा भट्टलाई कालोसूचीमा राखिएको र त्यसपछि पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । एक साताअघि मात्र विभागले भट्टसहित उनका परिवारका सदस्य र व्यापारिक साझेदारहरूसँग बयान लिएको थियो । अनुसन्धानको दायरामा उनकी श्रीमती आयुस्मा नेपाल, सासुआमा अन्जना नेपाल, शंकरलाल अग्रवाल तथा उनका परिवारका सदस्यहरू पनि छन् ।
अनुसन्धानका क्रममा भट्टले बैंकिङ र बीमासम्बन्धी कसुर, राजस्व छली तथा सार्वजनिक सम्पत्तिमा नोक्सानी पु¥याउने गतिविधिमार्फत अवैध सम्पत्ति आर्जन गरेको शंका गरिएको छ । विशेषगरी हिमालयन रिइन्स्योरेन्स र विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने प्रक्रियामा संलग्न व्यक्तिहरूबाट प्रिमियम रकम भट्ट र अग्रवाल समूहको खातामा ट्रान्सफर गरिएको स्रोतको दाबी छ । साथै, हिमालयन रिइन्स्योरेन्सबाट ठूलो रकम ‘लेयरिङ’ गरेर भट्टको खातामा पु¥याइएको विषयमा पनि छानबिन भइरहेको छ ।
यसैबीच, भट्टले पब्लिक लिमिटेड कम्पनीको पैसाबाट आफ्नै नाममा खरिद गरेका शेयरहरू रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले भट्टको शेयर कारोबार निलम्बन गरेको हो । उनले नेपाल रि इन्स्योरेन्स, गार्जियन माइक्रो लाइफ र नेपाल माइक्रो लाइफ इन्स्योरेन्सलगायत कम्पनीमा ठूलो मात्रामा लगानी गरेका थिए ।
अनुसन्धानले देखाएअनुसार विभिन्न कम्पनीबाट संकलन गरिएको अर्बौं रुपैयाँ भृकुटी स्टक ब्रोकरमार्फत भट्टका नाममा शेयर खरिदमा प्रयोग गरिएको थियो । सोही रकममध्ये केही रकम सुलभ अग्रवालको परिवार हुँदै पुनः भट्टको खातामा फर्काइएको र अन्य व्यापारिक कारोबार मिलाउन प्रयोग भएको आशंका गरिएको छ । यस सम्बन्धमा विभागले सम्बन्धित सबै पक्षसँग बयान लिइसकेको र मुद्दा दर्ताको अन्तिम तयारी गरिरहेको छ ।
यस प्रकरणमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, बीमा प्राधिकरणलगायत निकायसँग पनि विवरण मागिएको थियो । प्रारम्भमा ती निकायहरूले सहयोग गर्न ढिलाइ गरे पनि पछि आवश्यक प्रतिवेदन उपलब्ध गराएका छन् । छानबिनका क्रममा भृकुटी स्टक ब्रोकरमा गम्भीर कैफियत भेटिएपछि त्यसलाई निलम्बन गर्ने तयारी गरिएको स्रोतले बताएको छ ।
भट्ट पक्राउ परेपछि पूर्वअर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत सन्तोष व्यक्त गरेका छन् । खनाल सरकारमा रहँदा अन्तर्राष्ट्रिय निकायहरूले पनि भट्टमाथि कारबाही नहुनुका कारण चासो राख्दै आएका थिए । विशेषगरी फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)ले यस विषयमा प्रश्न उठाएको थियो । पछिल्लो समय सरकारले अनुसन्धान तीव्र बनाएपछि भट्ट पक्राउ परेका हुन् ।
त्यो ट्रान्जेक्सन, जसले तान्यो अनुसन्धानमा
एउटा ठूलो रकम अर्थात ४५ करोड रुपैयाँको ट्रान्जेक्सनबाट उनीमाथि अनुसन्धान सुरु भएको हो । सन् २०२१ मा जगदम्बा स्टिलले भट्टको सिद्धार्थ बैंक खातामा ट्रान्सफर गरेको यो रकम अहिले अनुसन्धानको केन्द्रमा छ ।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले उक्त कारोबारलाई शंकास्पद भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पठाएको थियो । तर तत्कालीन सरकारले अनुसन्धान अघि बढाउन दिएको थिएन । फाइल खडा गरे पनि अनुसन्धान रोकिएको थियो ।
उक्त कारोबारको दुई वर्षपछि मात्रै सक्रिय अनुसन्धान अघि बढेको हो । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको पालामा अनुसन्धान अघि बढे पनि जानकारी बाहिर ल्याइएको थिएन । ट्रान्जेक्सन गरिएको उक्त रकमबारे भट्टको दाबी थियो, जग्गा बिक्रीको बैना हो, सबै वैधानिक छ । तर, उनको जवाफबाट विभाग सन्तुष्ट देखिँदैन । ओभरड्राफ्ट खातामा भएको अस्वाभाविक कारोबार र इन्फिनिटी होल्डिङ्सको पुँजी एक वर्षमै ३ करोडबाट ४८ करोड पुग्नुले पनि शंका झन् गहिरो बनाएको छ ।
राजनीति–व्यापारको कनेक्सन
खासमा भट्टको असली शक्ति उनको व्यवसाय होइन, उनको पहुँच हो । उनी एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलसँग निकट मानिन्छन् । भट्टको यात्रा एउटा सामान्य व्यापारीबाट सुरु भएर डिल मेकरसम्म पुगेको देखिन्छ । सुरक्षा निकायका लागि बन्दोबस्ती सामग्री र हातहतियार आपूर्ति। भारतीय र चिनियाँ कम्पनीलाई नेपालका ठूला जलविद्युत् आयोजनामा भिœयाउने, विद्युत् प्राधिकरणसँग कनेक्सन सेट गर्ने, बुढीगण्डकी जस्तो मेगा प्रोजेक्टमा चिनियाँ कम्पनी ल्याउनेदेखि प्रसारण लाइन र सबस्टेसनका ठेक्कामा उनको भूमिका चर्चित रह्यो । तर समस्या पनि त्यत्तिकै आए ढिलासुस्ती, गुणस्तर विवाद र ठेक्का तोडिने अवस्था बन्यो । यिनै कारण भट्टको नाम ‘बिचौलिया’ को रूपमा बारम्बार बाहिर आउँदै गयो।
सम्पत्ति शुद्धीकरणमा ७ सयभन्दा बढी उजुरी
विभिन्न समयका राजनीतिक नेतृत्व, उच्च पदस्थ कर्मचारी र व्यापारीमाथि अनुसन्धान हुनुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण विभागमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ७ सयभन्दा बढी उजुरी छन् । तीमध्ये पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल, मन्त्रीहरू तथा केही विवादित व्यापारीविरूद्धका उजुरीलाई १५ दिनभित्र टुंग्याउने गरी धमाधम काम गरिरहेको स्रोतले जनाएको छ ।
तिनैमध्ये पूर्वउर्जामन्त्री दीपक खड्कालाई प्रहरीको सीआइबीले आइतबार नियन्त्रणमा लिइसकेको छ । पहिलो चरणमा २०६२÷६३ को जनआन्दोलनपछि हालसम्म सार्वजनिक पदमा रहेका सबै प्रमुख राजनीतिक व्यक्ति र उच्च कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन भइरहेको छ । करिब दुई दशकमा १८ वटा सरकार, ११ जना प्रधानमन्त्री, सयौं मन्त्री, यो सबै सूची अब सम्भावित राडारभित्र छ ।