काठमाडौं । संघीय निजामती विधयेकमा कुलिङ अफ पिरियडमा भएको छेडखानीको विषयमा अध्ययन गर्न बनेको संसदीय समितिले प्रतिवेदन बुझाएको छ । प्रति वेदन संसदमा समेत पेश भएको स्थितिमा यसका विभिन्न पाटा र पक्षमा बहस शुरु भएको छ । भने कुलिङ अफ पिरियडमा ठूला दलले हस्तक्षेप गरेको भन्दै छानविन समितिको प्रतिवेदनमै प्रश्न र शंका उत्पन्न भएको छ ।
कुलिङ अफ पिरियडमा भएको छेडखानीबारे अध्ययन गर्न बनेको छानविन समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडाले जिम्मेवारी पुरा गर्न नसकेको भन्दै राजनैतिक र नैतिक जिम्मेवारी लिनुपर्ने भनेपनि कर्मचारीस्तरमा भने आवश्यक कारबाहीका निम्ति सुझाव दिएको छ ।
‘प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन ।’– प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले यस्तो विषय औल्याउदै गर्दा सहकारीसम्बन्धिको छानविन समितिले औल्याएका विषयतर्फ समेत केहीले संकेत गरिरहेका छन् । जुन कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछेने अहिले पूर्पक्षका लागि थुनामा पुग्ने स्थिति बनिरहेको छ । तर, विषय फरक र प्रकृति समेत अर्कै रहेको यो विषयमा समेत छानविन समितिले कसरी काम ग¥यो ? छानविन समितिका दाउपेचहरु कसरी विकसित हुन पुगे ? यस्ता तमाम विषयहरु छरपष्ट बन्दै गर्दा ठूला दल अर्थात सत्तारुढ दल कांग्रेस एमालेले यसमा ठूलो दबाब पारेको र अनेक धम्की दिएको आरोप खुलेआम लागेको छ ।
कुलिङ अफ पिरियडमा ठूला दलले दबाब र धम्की दिएको आरोप लगाएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले भने समितिको प्रतिवेदनमाथि थप बहस छेडिदिएका छन् ।
अनेक दाउपेच चलिरहेको बेला सभामुख देवराज घिमिरेले प्रतिवेदन बुझ्दै समितिलाई धन्यवाद दिएका छन् । प्रतिवेदन कार्यान्वयनमा समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसरी सभापति खतिवडामाथि राजनैतिक र नैतिक प्रश्न उठाइएपनि उनी भने त्रुटी भएमा बाहिरिने भन्दै आफ्नो बचाउमा उत्रिने गरेका छन् । कुलिङ अफ पिरियडको प्रश्नमा खतिवडाले आफ्नो बचाउ गर्दै त्रुटी देखिएको भन्दै तर्किने प्रयास गरिरहेका छन् ।
सभापति खतिवडाले यस्तो प्रतिक्रिया दिदै गर्दा माओवादी केन्द्रका सांसद माधव सापकोटा भने गम्भीर त्रुटी भएको विषय उल्लेख भएको र त्यसलाई मानवीय त्रुटीको रुपमा लिन नमिल्ने भनिरहेका छन् ।
कुलिङ अफ पिरियडमा भएको छेडखानीलाई सत्तारुढ दल नेकपा एमाले भने मध्यधारमा उभिएर अघि बढ्न खोजेको देखिन्छ । एमाले प्रमुख सचेतक महेश बर्ताैलाले यसलाई अनेक कोणबाट व्याख्या गरिरहेका छन् । तर, सांकेतिक रुपमा भने असन्तुष्टी पोखिरहेका छन् ।
एमालेले सभापतिलाई मात्रै दोषी किटान गर्नेभन्दा पनि समितिका सबै सदस्यमाथि प्रश्न गर्ने स्थिति सिर्जना गरिरहेको छ । समितिका सदस्यको भूमिकालाई स्मरण गर्दै अघि बढ्न खोजेको देखिन्छ । जुन विषयले कुलिङ अफ पिरियडको छेडखानी सेलाउने खतरा बढेकोमा शंका छैन ।