काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकको शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर गृह प्रशासनले ‘एक्सन’ सुरु गरेको छ । उपत्यकामा बढ्दै गएको गुण्डागर्दी, असुली र सार्वजनिक क्षेत्रमा हुने बिचौलियाको बिगबिगी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो । त्यसका लागि प्रहरीले ‘स्वीप अपरेसन’ तथा ‘अपरेसन सेफ्टी’ चलाएको छ ।
यसै सिलसिलामा शुक्रबार राति काठमाडौंका विभिन्न स्थानबाट गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जना र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ४ जनालाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बौद्ध, कलंकी, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा सक्रिय उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले ‘स्वीप अपरेसन’ तथा ‘अपरेसन सेफ्टी’ मार्फत उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा डिम्पल भनिने प्रवीण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं, सञ्जीव लामा, अशोक गिरी र सुरेश गिरी (किम्जोङ) , वकिल बम , संजिव राई, राज कुमार तामाङ, विनोद ठकुरी, शेर्पा लामा, राहुल राई , समेश तामाङ, सुनबहादुर तामाङ, वीरबहादुर लामा र महेश महत छन् ।
पक्राउ परेकामध्ये कतिपयको सम्बन्ध ‘काभ्रेली समूह’ र गुण्डा नाइके श्याम लामाको समूहका रहेको प्रहरीले जनाएको छ । डिम्पल श्याम लामा समूहमा सक्रिय रही बौद्ध एरियामा, बिर्जु महर्जन कलंकी–बाफल एरियामा गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ । त्यस्तै, सुजन कार्की कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको र सरु हुमागाइ स्यूचाटार एरियामा गुण्डागर्दीमा सक्रिय थिए । उनीहरूलाई ठमेल, दरबारमार्ग, सामाखुसी, बौद्ध, कलंकी र स्यूचाटार क्षेत्रबाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गुण्डागर्दीका अतिरिक्त प्रहरीले सार्वजनिक यातायात र सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने बिचौलियाहरूमाथि पनि कारबाही तीव्र पारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई जबर्जस्ती होटलमा लैजाने र बढी भाडा असुल्ने १८ जना बिचौलियाहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसअघि नयाँ बसपार्क र कलंकी क्षेत्रबाट यात्रुलाई हैरानी दिने ४८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराधीलाई कानुनी दायरामा ल्याउन र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी २४सै घण्टा सक्रिय रहने बताएका छन् । उपत्यकामा जारी यो विशेष अपरेसनले आम नागरिकमा सकारात्मक आशा जगाएको प्रहरीको दाबी छ ।