नेभिगेशन
उपत्यका

इञ्जिनियरसहित तीन जना घुसको रकमसहित पक्राउ

काठमाडौँ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इञ्जिनियर सुमन राईसहित तीन जना सोमबार ८५ हजार रुपैयाँ घुसको रकमसहित पक्राउ परेका छन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उक्त आयोजनाका इञ्जिनियर राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सबइञ्जिनियर रविन श्रेष्ठले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावास्थित विद्यालयको भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना आएको थियो । त्यसका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
इञ्जिनियर राई ललितपुरबाट, लेखा अधिकृत कार्की धनकुटा र सब–इञ्जिनियर श्रेष्ठ भोजपुरबाट पक्राउ परेका हुन् । घुस रकम, मोबाइल र अन्य कागजातसहित नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्