काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेप (इलेक्ट्रोनिक सिगरेट) भित्र सुन तस्करी गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्र अनुसार करिब ८ किलो ४८० ग्राम सुन तस्करीमा संलग्न भई सात करोड ७८ लाख ६८ हजार रुपैयाँभन्दा बढी बराबरको हिनामिना गरिएको ठहर गरिएको छ ।
अनुसन्धानबाट खुलेअनुसार २०७९ पुस १० गते फ्लाई दुबईको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले दुई वटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए । ती भेपभित्र सुन लुकाइएको थियो । एक्स–रे जाँचका क्रममा शंकास्पद देखिएपछि ‘रेड च्यानल’ मा पठाइएको उक्त सामानलाई भन्सारका कर्मचारीहरूले नियोजित रूपमा भौतिक परीक्षण नगरी जफत गर्ने बहानामा पछि साटफेर गर्ने योजना बनाएको आरोप छ ।
अख्तियारका अनुसार जफत गरिएको सामग्रीलाई नियमानुसार गोदाममा नराखी प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखिएको थियो । त्यसपछि लामो समयसम्म सुन तस्करीमा संलग्न समूहसँग सम्पर्क राखी पछि सामग्री साटिएको र सुन निकालिएको पाइएको छ । सीसीटीभीको निगरानी पहुँच बाहिरका स्थानमा सामग्री सारिएको र भेपभित्र रहेको सुन झिकेर बिक्रीसमेत गरिएको अनुसन्धानबाट पुष्टि भएको छ ।
प्रकरणमा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसहित १० जना भन्सार कर्मचारीमाथि भ्रष्टाचारको मुख्य आरोप लगाइएको छ भने पूर्वसभामुख महरा, उनका छोरा राहुल (रेशम महरा) लगायत अन्य व्यक्तिहरूमाथि मतियारको रूपमा आरोप लगाइएको छ । उनीहरूले तस्करी गरिएको सुन छुटाउन दबाब दिने, सम्पर्क समन्वय गर्ने र आर्थिक लाभ लिने काम गरेको आरोपपत्रमा उल्लेख छ । मुद्दामा प्रतिवादी बनाइएका सरकारी अधिकारीहरुमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी, नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोइराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोखरेल छन् ।
यस्तै मुद्दामा पूर्व सभामुख महरासँगै रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, नीमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दीपिका थापा, चिनियाँ नागरिक ली हाङ सङ र दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगले र डेक्स्टर ट्राभल्स एण्ड टुर्स लगायत प्रतिवादी छन् ।
तस्करी गरिएको सुन काठमाडौंस्थित सुनचाँदी पसलमार्फत बिक्री गरिएको र त्यसबाट आएको रकम विभिन्न व्यक्तिको खातामा जम्मा गरी तथा जग्गा खरिदलगायतका माध्यमबाट सम्पत्ति रूपान्तरण गरिएको पनि अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुख्य अभियुक्तहरूलाई कैद, जरिवाना र बिगो असुलीको माग गरेको छ भने सार्वजनिक पदमा रहेका अधिकारीहरूलाई थप सजायको मागदाबीसमेत गरिएको छ । यो प्रकरणलाई पछिल्लो समयकै ठूलो सुन तस्करी र उच्च तहसम्मको मिलेमतो देखिएको घटनाका रूपमा हेरिएको छ । सुन तस्करीको अनुसन्धानका क्रममा २०८० चैत ५ मा सीआइबीले पूर्वसभामुख महरालाई पक्राउ गरेको थियो । स्वास्थ्यको कारण देखाउँदै चार दिनपछि नै हाजिरी जमानीमा रिहा गरिएको थियो । विचाराधीन मुद्दामा पुनः अनुसन्धान अघि बढाउँदै सीआइबीले २६ असोज २६ मा महरालाई पुनः पक्राउ गरेर सरकारी वकिललाई मुद्दा बुझाएको थियो । असोज २९ मा जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध उच्चमा गएका महरालाई मंसिर ११ मा २० लाख धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।
उच्चले धरौटीमा छाडेकामा यही प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा उनीसहितलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।