नेभिगेशन
अर्थतन्त्र

ग्यासको मूल्य २०१०, पेट्रोल २१९, डिजेल २०७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल÷मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल÷मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।
यसअघि पनि चैत १९ गते मूल्य वृद्धि गरिएको थियो । त्यसपछि सरकारले भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन गरेको थियो । त्यसपछि पनि अझै हरेक १५ दिनमा १० अर्ब २१ करोड ९१ लाख घाटा हुने अवस्था रहेको निगमले बताएको छ । 
हाल बढेको मूल्यमा पनि निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६।६५, डिजेलमा प्रति लिटर रु.१०९।५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६।३७घाटा रहेको जनाएको छ ।  
निगमलाई पाक्षिक रुपमा १० अर्ब २१ करोड ९१ लाख रूपैयाँ घाटा हुने देखिएको निगमले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
‘निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भइरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर १७ रूपैयाँ, डिजेल÷मट्टितेलमा प्रति लिटर २५ रूपैयाँ तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर एक सय रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ६ रूपैयाँले वृद्धि गरिएको छ,’ निगमले भनेको छ ।
अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ । मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ। निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्