नेभिगेशन
अर्थतन्त्र

नयाँ वर्षदेखि असन क्षेत्रमा शनिबार सवारीसाधन प्रवेशमा रोक

काठमाडौं । काठमाडौंको असन क्षेत्रमा नयाँ वर्ष २०८३ देखि शनिबारका लागि सवारीसाधन प्रवेशमा रोक लगाइने भएको छ । असनको मौलिकतालाई जोगाउन सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने उद्देश्यले वैशाख ५ देखि हरेक साताको शनिबार सवारीसाधन प्रवेशमा रोक लगाउन लागिएको हो । 
यसअघि स्थानीय संघसंस्था, क्लब र समुदायले चैत २८ बाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । तर, काठमाडौं महानगरपालिकाले स्थानीय संघ–संस्था तथा क्लब र समुदायका प्रतिनिधिसँग बैठक गरी कार्यक्रमको तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर वैशाख ५ बाट कार्यान्वयन गर्ने निर्णय गरेको हो । 
‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महŒव जोगाउनु हाम्रो दायित्व हो,’ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन् ।
उनले वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरिने र थालिएको कामलाई दिगो बनाइने बताइन् । असन क्षेत्रमा आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
स्थानीय, संघसंस्था, क्लब तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको वडाध्यक्ष योगेशकुमार खड्गी बताए । ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ,’ उनले भने ।
छलफलमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्रसिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजबुत बनाइने बताए ।
‘भेहिकल  फ्री असन’ कार्यक्रमअन्तर्गत महानगरपालिकाको वडा नम्बर २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइने महानगरपालिकाले जनाएको छ । यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।
यस क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्