नेभिगेशन
अर्थतन्त्र

मेटलाइफ फाउन्डेशनको ३ लाख डलर सहयोग

काठमाडौं । मेटलाइफ फाउन्डेशनले कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम ¬(सीआईजीपी) का नयाँ लाभग्राही घोषणा गरेको छ । यस कार्यक्रममार्फत मेटलाइफ फाउन्डेशनले नेपालसहित विभिन्न देशका गैर–नाफामुखी संस्थाहरूलाई ६५ लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको हो ।
सन् २०२३ मा सुरु गरिएको यो कार्यक्रम सन् २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको छ । यसले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र कल्याण, वातावरणीय दिगोपन र सशक्त समुदाय निर्माणमा केन्द्रित समाधानहरू प्रदान गर्ने संस्थाहरूलाई सहयोग गर्दै आएको छ । यो वर्ष विश्वभरका सयभन्दा बढी संस्थाहरूलाई अनुदान प्रदान गरिएको छ ।
अनुदान पाउनेमा नेपालका लागि सोलुखुम्बुको सोलुचामको अवेक परियोजनालाई दुई वर्षका लागि १ लाख १० हजार अमेरिकी डलर अनुदान प्रदान गरिएको छ । यस परियोजनामार्फत सोलुखुम्बुका ३ हजारभन्दा बढी व्यक्तिलाई वातावरणसम्बन्धी तालिम प्रदान गरिनेछ ।
त्यस्तै सोसेक नेपालको सेफ कार्यक्रमलाई दुई वर्षका लागि १ लाख ९० हजार अमेरिकी डलर सहयोग गरिएको छ । यस कार्यक्रमले किसान, युवा र साना व्यवसायका लागि दीर्घकालीन खाद्य सुरक्षा सुदृढ बनाउन सुधारिएको कृषि अभ्यास, सीप विकास, आर्थिक दिगोपन र स्वास्थ्य सेवाको एकीकरणमार्फत सहयोग पु¥याउनेछ ।
मेटलाइफ फाउन्डेसनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र मेटलाइफमा कर्पोरेट गिभिङ तथा कर्मचारी स्वयंसेवा प्रमुख टिया होजेसले कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राममार्फत मेटलाइफ फाउन्डेसनले व्यक्ति र समुदायको समग्र कल्याण सुधार गर्ने संस्थाहरूमा लगानी गरिरहेको बताइन् ।
फाउन्डेसनले कार्यक्रम सुरु भएदेखि हालसम्ममा २०७ संस्थालाई ९० लाख अमेरिकी डलरभन्दा बढी अनुदान प्रदान गरिसकेको छ, जसबाट अमेरिका, एसिया, ल्याटिन अमेरिका, युरोप र मध्यपूर्वका १६ लाखभन्दा बढी मानिस लाभान्वित भएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्