नेभिगेशन
अर्थतन्त्र

नेपाल समुद्रपारको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको ४५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो । कार्यक्रममा संघका अध्यक्ष शिवकुमार अग्रवालले विभिन्न क्षेत्रबाट प्राप्त सुझाव तथा मार्गदर्शनलाई संघको भावी कार्यदिशामा समावेश गर्दै व्यावसायिक हित संरक्षणमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सरकार र निजी क्षेत्रबीच सहकार्य अभाव हुँदा नीतिगत असन्तुलन देखिने उल्लेख गर्दै दुवै पक्ष एउटै मञ्चमा बसेर नीति समन्वय गर्नु आजको आवश्यकता भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल देखिएको तरलता अभाव तथा नीतिगत चुनौती समाधानका लागि महासंघ र विभिन्न व्यापारिक संघसंस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निर्यात–आयात प्रक्रियालाई सहज बनाउन सीमापार व्यापारमा रहेका प्रशासनिक जटिलता तत्काल हटाउनुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर प्रणालीलाई व्यापारमैत्री बनाउँदै राजस्व चुहावट नियन्त्रण र वैधानिक व्यवसाय प्रवर्धनमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बंगलादेशका राजदूत एमडी सफिकुर रहमान, श्रीलंकाकी राजदूत रुवान्थी डेलपिटिया र म्यानमारका राजदूत थान्ट सिनले क्षेत्रीय व्यापारिक सम्बन्ध सुदृढ बनाउन आफूहरू तत्पर रहेको संकेत गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्