काठमाडौं । साँझ परेपछि सार्वजनिक यातायात नपाएर हैरान भएकाहरुले आगामी मंगलबारदेखि राहत पाउने भएका छन् । वैशाख १ देखि काठमाडौंमा रात्रीकालिन बस सेवा सञ्चालन गरिने भएको हो ।
राती ८ बजेपछि यात्रुको सहजतालाई ध्यानमा राखी रात्रीकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो । रातिको समयमा विभिन्न रुटमा बस चलाउन तयारी भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार राती ८ बजेदेखि ११ बजेसम्म विभिन्न रुटमा बस चलाइने भएको छ ।
रात्रिकालीन बस सेवालाई हरेक २० मिनेटमा हरेक स्टेशनमा प्राप्त हुने गरी तालिका मिलाउन साझा यातायातले रुटमा बस चलाएर अवस्था अध्ययन गरेको गरिसकेको छ । रुट परीक्षणअन्तर्गत बुढानीलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक पुगेको थियो । यस्तै, लगनखेल पुग्दा ८ बजेर ४६ मिनेट भएको थियो ।
सवारी चापका कारण यो बस जमल क्षेत्रमा केही समय रोकिनु परेको थियो । परीक्षण सञ्चालनका क्रममा थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलंकी चोक र ४५ मिनेटमा एअरपोर्ट पुगेको थियो ।
बस सेवाहरु हरेक रुटका सुरु र अन्तिम विन्दुबाट गुड्नेछन् । दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । अर्को बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्नेछ । यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस बिसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ । यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो ।
यस्तै, पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ । नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।
रात्रीकालिन बस सेवा सञ्चालन गर्दा नयाँ सडक गेट अगाडिको भाग मुख्य चोक बन्नेछ । यो ठाउँमा पुगेपछि यात्रीहरुले एउटा रुटबाट अर्को रुटमा जाने बस पाउनेछन् । रात्रिकालीन बस सेवा सञ्चालनका लागि बस गुड्ने क्षेत्रका नगर प्रमुखहरु र साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधि बिच बैठकमा साझा यातायातका सहायक प्रबन्धक जनक रिसालले प्रस्तुतिकरण मार्फत तयारीका क्रममा अभ्यासले देखाएको तथ्य र अवस्था जानकारी गराउनुभएको हो ।
बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरु हुनेछ । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराकबाट निगरानी हुनेछ । यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले कसैले कुनै सामान छुटे प्राप्त गर्न सकिनेछ । कसैले दुव्र्यवहारको प्रयास गर्छ भने तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरुको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी खटाउनेछ ।
उपत्यकामा रात्रीकालीन बस सेवा सञ्चालन गर्ने सम्बन्धमा निर्णय गर्न काठमाडौं महानगरपालिकामा बसेको बैठकमा कार्यबाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुुशील प्याकुरेलसहित पदाधिकारी सहभागी थिए ।
रात्रीकालीन बस सेवा सञ्चालन गर्न नगर प्रमुखहरुका बीचमा सहकार्य र समन्वयका लागि बलियो प्रतिबद्धता रहेको रहेको कार्यबाहक प्रमुख डंगोलले बताइन् । ‘सुरुमा ३ महिना रात्री बस सेवा सञ्चालन गरेपछि यसबाट प्राप्त अवस्थाको तथ्यका आधारमा थप निर्णय गर्नेछौं,’ उनले भनिन्, ‘सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउँदै लानेछौं । रात्रिकालीन बस नपाउँदा बस पाइएला कि नपाइएला भन्ने चिन्ताले श्रम तथा रोजगारी क्षेत्रका मानिसहरुको उत्पादनशीलता घटेको थियो । किशोरी र महिलालाई त बस नपाइएला भन्ने ठूलो चिन्ता हुन्थ्यो । साँझमा बस पाउने भएपछि ढुक्कसँग काम गर्न सकिन्छ । सुरक्षित भएर साँझमा घर फर्किन सकिन्छ ।’
यस्तै, महानगरपालिकाहरुमा पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी नरहेकाले सुविधा वितरण र सहरी सौन्दर्यमा काम बढाउँदै लगेको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेव जाने आगन्तुक र त्रिभुवन पार्कमा वनभोजका लागि जानेहरुका लागि यो सेवाले महसुस हुने सेवा प्रदान गर्ने बताए ।
बैठकमा सुरक्षित यात्रा, गन्तव्य र बस पुग्ने समयका विषयमा जानकारी प्राप्त हुने प्रणाली, सहभागिता, नागरिकको बस सेवामा आकर्षण, सेवामा बसको संख्या र समय बढाउने, डिजिटल भुक्तानी प्रणालीलगायत विषयमा छलफल भएको थियो । यस्तै सेवा विस्तार गर्दा चक्रपथमा गाडी गुडाउन सकियो भने विमानस्थल र बसपार्क जोडिने विषयमा कुराकानी भएको थियो ।