नेभिगेशन
अर्थतन्त्र

कोका–कोला नेपालको फिफा वल्र्डकप अभियान सुरु

काठमाडौँ । कोका–कोला नेपालले बहुप्रतीक्षित फिफा वल्र्डकप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ । खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी एक कार्यक्रमका बीच अभियानको औपचारिक घोषणा गरिएको हो ।
कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बेसडर पनि सार्वजनिक पनि गरिएको छ । साथै, फिफा वल्र्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री पनि प्रस्तुत गरिएको छ । त्यस्तै छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका–कोला फिफा प्याकहरूको पहिलो झलक पनि देखाइएको छ ।
कार्यक्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले यो अभियान फुटबलको उत्सवमात्र नभएर फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि भएको बताए । ‘विशेष कोका–कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं,’ उनले भने, ‘यसले ब्रान्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुसीका क्षणहरूमा कोका–कोलाको भूमिका अझ बलियो बनाउनेछ ।’ 
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ । घोषणापछि खड्काले कोका–कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।
त्यसैगरी, अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए । उनीहरूले स्टेजमा आफ्नो अनुभव र फुटबलले ल्याउने खुसीबारे आफ्नो धारणा व्यक्त गरेका थिए । 
कार्यक्रमको अन्त्यमा फिफा वल्र्डकप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ पनि सार्वजनिक गरिएको छ । साथै, कोका–कोलाको आधिकारिक गीत (एन्थेम), फिफा वल्र्डकप टिभीसी र अन्य प्रचार सामग्री पनि प्रदर्शन गरिएको कम्पनीले जनाएको छ ।
कोका–कोलाको फिफासँगको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो । यो सम्बन्ध सन् १९७४ मा सुरु भएको हो । सन् १९७८ देखि कोका–कोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ । नेपालमा पनि यो ब्रान्ड पाँच दशकभन्दा बढी समयदेखि लगातार सक्रिय रहँदै आएको छ । यस नयाँ अभियानको उद्देश्य विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग जोड्नु पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्