नेभिगेशन
अर्थतन्त्र

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि तयार

काठमाडौं । काठमाडौं–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा छ । देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यो परियोजना बहुआयामिक महत्वको मानिएको छ ।
यो सुरुङमार्ग शिलान्यास २०७६ कात्तिकमा हुँदा सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, तर निर्माण लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । जापान सरकारको सहुलियत ऋण लिइएको यो पूर्वाधार निर्माणको जिम्मा जापानी कम्पनी हाजमा–आन्दो जेभीले पाएको थियो । 
प्रारम्भिक रूपमा परियोजना करिब ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य भए पनि अवधि लम्बिँदै बल्ल तयार भएको छ । अहिले धादिङ क्षेत्रमा पहिरो नियन्त्रण र टोल गेट निर्माण कार्य भइरहेको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युसिन–एआरटीले पाएको छ । सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा दिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरिसकेको छ । 
मन्त्रालयले  राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ । मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा  राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो ।
जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । मिनी बस, मिनी टिपर÷ट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ । बस, ट्रक (सिंगल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ । 
मल्टी एक्सल ट्रक÷सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र