नेभिगेशन
अर्थतन्त्र

भृकुटीमण्डपमा भाडा नतिर्ने २० बढी संस्था र कार्यालयमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरभित्र व्यवसाय तथा कार्यालय सञ्चालन गरी लामो समयसम्म भाडा नतिर्नेहरूमाथि कारबाही सुरु गरेको छ । परिषद्ले वर्षौंदेखि भाडा नतिर्ने भृकुटीमण्डभित्रको आफ्नो जग्गामा रहेको ऋषि धमलाद्वारा सञ्चालित रिपोटर्स क्लबसहितका विभिन्न संघ–संस्था तथा कार्यालयमा तालाबन्दी गरेर कारबाही प्रक्रिया सुरु गरेको हो ।
परिषद्का सदस्य सचिव सरोजकुमार शर्माको नेतृत्वमा भृकुटीमण्डप परिसर पुगेको टोलीले भाडा नतिर्नेहरूका कार्यालय, संघ–संस्था तथा खाजा पसलहरूमा तालाबन्दी गरेको छ । लामो समयदेखि करोडौं रुपैयाँ पुगेको भाडाको बक्यौता नतिरेपछि तालाबन्दी गरेर कडा कदम चालिएको परिषद्का सदस्य सचिव शर्माले बताए । उनका अनुसार परिषद्बाट खटिएको टोलीले भृकुटीमण्डप क्षेत्रका २० भन्दा बढी संघ–संस्था, कार्यालय तथा पसलहरूमा तालाबन्दी गरेको छ ।
परिषद्ले बक्यौता रकम सात दिनभित्र बुझाउन सम्बन्धित सबै संघ–संस्था तथा कार्यालय र खाजा पसलहरूलाई अल्टिमेटम दिएको छ । तोकिएको समयावधिमा भाडाको बक्यौताबापतको सम्पूर्ण रकम भुक्तानी नगरे थप कानूनी प्रक्रिया अघि बढाइने चेतावनी पनि परिषद्ले दिएको छ ।
‘हामीले भाडाको बक्यौता तिर्न बारम्बार सूचना जारी गरेर ताकेता गर्दा पनि कसैले सुनेनन्,’ उनले भने, ‘आफूले परिषद्को जग्गामा व्यापार व्यवसाय गरेर करोडौंको आम्दानी गर्ने तर, भाडा नतिर्ने प्रवृत्ति बढेपछि अब तालाबन्दी गरेर उठाउन अग्रसरता देखाएका हौं ।’
उनले रिपोर्टर्स क्लब, नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय अपांग महासंघ, र काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयजस्ता संस्थाहरूले करोडौं रुपैयाँ भाडा तिर्न बाँकी रहेको बताए ।  परिषद्का अनुसार ती संस्थाहरूले वर्षौंदेखि भाडा नतिरी बारम्बारको सूचनालाई बेवास्ता गर्दै आएका थिए । 
परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय अपांग महासंघले सबैभन्दा बढी १ करोड १६ लाख रुपैयाँभन्दा बढी भाडाबापतको बक्यौता तिर्न बाँकी छ । ऋषि धमलाको रिपोटर्स क्लबले पनि करिब ७५ लाख रुपैयाँ भाडा परिषद्लाई तिर्न बाँकी रहेको शर्माले बताए ।  
यस्तै, नेपाल फोटो पत्रकार महासंघले पनि २० लाखभन्दा बढी भाडा तिर्न बाँकी देखिएको छ । सुनिता खाजा घरको १४ लाख रुपैयाँ तिर्न बाँकी देखिएको छ । अन्य विभिन्न संघ–संस्था र व्यवसायीहरूले लाखौं रुपैयाँ भाडा तिर्न बाँकी रहेको शर्माले बताए । परिषद्का पदाधिकारी काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा पनि तालाबन्दी गर्न पुग्दा त्यहाँ विद्यार्थीहरूले विरोध जनाएका थिए । 
भृकुटीमण्डप परिसरमा नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले पनि २०७७ सालदेखि सम्झौता नगरी र भाडा नतिरी कार्यालय चलाइरहेको भन्दै त्यहाँ पनि ताला लगाइएको छ । तालाबन्दी अभियानका क्रममा सदस्य सचिव शर्मालाई प्रभावशाली व्यक्तिहरूबाट दबाब आएको पनि खुलेको छ । रिपोटर्स क्लबका सञ्चालक ऋषि धमलालगायतबाट तालाबन्दी रोक्न फोन आएको भएपनि राज्यको सम्पत्ति असुल गर्ने विषयमा आफू पछि नहट्ने शर्माले बताए ।
सरकारी तथा सार्वजनिक सम्पत्तिको दीर्घकालीन दुरुपयोग र पहुँचको आडमा भाडा नतिर्ने प्रवृत्ति बढ्दै जाँदा परिषद्ले भाडा उठाउन सकेको थिएन । अहिले नयाँ सरकार गठनपछि वातावरण सहज बनेसँगै परिषद्ले भृकुटीमण्डप क्षेत्रको भाडा उठाउन कडाइ गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्