नेभिगेशन
अर्थतन्त्र

राष्ट्रिय आर्थिक गणना सुरु, साढे ४ हजार गणक परिचालन

काठमाडौं । देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण संकलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर तथ्यांक संकलन थालेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 
कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर चार हजार ४३३ जना तालिमप्राप्त गणक तथा सुपरीवेक्षक आगामी असार ७ सम्म तथ्यांक संकलनमा परिचालन हुने जानकारी दिएको हो । कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार उद्योग, व्यापार, सेवा, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ ।
अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रका २१ मध्ये १८ क्षेत्रमा आधारित आर्थिक क्रियाकलापलाई गणनामा समेटिएको छ । गणनामा दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायत आर्थिक गतिविधिमा संलग्न एकाइहरूमा समावेश छन् भने कूटनीतिक नियोग, सुरक्षा निकाय तथा घरायसी क्रियाकलापलाई गणनामा समावेश गरिएको छैन । 
गणनालाई सफल बनाउन केन्द्रदेखि स्थानीय तहसम्म समन्वय समितिहरू गठन गरिएका छन् । साथै, स्थानीय तह र वडा कार्यालयसँग सहकार्य, उद्योग व्यवसायसँग सम्झौता तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिएको कार्यालयले जनाएको छ ।
‘रेडियो, टेलिभिजन तथा डिजिटल माध्यमबाट जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालनमा छन्,’ प्रवक्ता लामिछानेले भने, ‘प्राविधिकरूपमा गणनालाई सुदृढ बनाउन अनलाइन ‘ई–सेन्सस’ प्लेटफर्म सञ्चालनमा ल्याइएको छ भने भौगोलिक सूचना प्रणाली (जीआईएस)मार्फत गणना क्षेत्र पहिचान गरिएको छ ।’ साथै, उनले उद्यमी, व्यवसायी, सेवा प्रदायक तथा संघसंस्थालाई सत्य, पूर्ण र विश्वसनीय विवरण उपलब्ध गराउन आग्रह गरे । संकलित सबै विवरण तथ्यांक ऐन २०७९ अनुसार गोप्य राखिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्