नेभिगेशन
उपत्यका

कर्मचारी निगरानी तीव्र, दुई सातामा ३५ सयलाई कारबाही

काठमाडौं । नयाँ सरकार गठनसँगै देखिएको तदारुकता कर्मचारी प्रसाशनमा पनि देखिएको छ । कर्मचारीहरू माथिको अनुगमनलाई तीव्र बनाउँदै राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा दुई सातामा ३५ सयभन्दा बढी कर्मचारी कारबाहीमा परेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रका तर्फबाट मन्त्रालय, विभाग र कार्यालयहरूमा गरिएका छड्केमा ३५ सय कर्मचारी कारबाहीका भागिदार भएका हुन् । चैत १६ देखि ३० गतेको अवधिमा १ सय ८८ सरकारी कार्यालयमा अनुगमन गरिएको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जनाए । समयमा कार्यालय आइनपुगेको, आफ्नो कार्यकक्षमा नभेटिएको तथा तोकिएको पोसाक नलगाएकालाई कारवाहीको दायरामा ल्याइएको उनले बताए । सरकारले शनिबार र आइतबार बिदा दिएर बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय तोकेको छ । ९ बजे कार्यालय नपुगेकाहरू छड्केमा परेका छन् । २३ चैत्रदेखि कार्यालय समय बिहान ९ बजेदेखि लागू गरिएको छ । ९ बजेर २ मिनेटमा हाजिर गर्नेहरू पनि सतर्कता केन्द्रको कारबाहीमा परेका छन् ।
गत आर्थिक वर्षमा एक वर्षको अवधिमा देशैभर ५ हजार ९ सय ३७ कर्मचारीलाई केन्द्रले समयमा कार्यालय नआएको भन्दै कारबाहीको सिफारिस गरेको थियो । त्यसको आधाभन्दा बढी संख्याका कर्मचारी १५ दिनमै कारबाहीमा परेका हुन् । सर्तकता केन्द्रले दिएको जानकारीअनुसार सबैभन्दा बढी शिक्षण अस्पताल, महाराजगन्जमा एकैदिन १ हजार २ सय ४३ जना कर्मचारी छड्केमा परेका छन् । त्यस्तै, कान्ति बाल अस्पतालमा ४ सय ३, निजामती अस्पतालमा १ सय ५३ र पाटन अस्पतालमा १ सय २० जना कर्मचारीमाथि कारबाहीको सिफारिस गरिएको छ ।
प्रवक्ता भट्टले कार्यालहरूको सेवा प्रवाह र कर्मचारीको उपस्थिति तथा अनुशासनका सम्बन्धमा दैनिक अनुगमनलाई व्यापकता दिइएको बताए । ‘नियमित रूपमा सघन अनुगमन गरिएको छ । सिंहदरवारभित्र रहेका मन्त्रालय, केन्द्रीय निकाय, विभाग तथा जिल्ला तहका कार्यालयहरूसम्म अनुगमन गरेका छौं,’ उनले भने, ‘समयमा कार्यालय नआइपुगेका, कार्यकक्षमा नभेटिएका वा पोसाक नलगाएका कर्मचारी उपर कारवाहीका लागि सम्बन्धित कार्यालय प्रमुखलाई लेखी पठाइएको छ ।’ सर्तकता केन्द्रले गर्ने दैनिक अनुगमनको जानकारी प्रधानमन्त्रीलाई पठाउने गरिएको उनले बताए । केन्द्रको छड्केमा सह सचिवस्तर सम्मका कर्मचारी परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका