रोदीमा भेट्यौ मनमा बस्यौ, तिम्रो हाँसोले लठ्ठै पार्यौ
बाजा बजाउँदै मादलको ताल, तिमीसँगै बिताउँछु यो साल
इन्टरनेटको एआई म्युजिक जेनेरेटर साइट ‘सुनो’मा नेपाली गीत सर्च गर्दा आउने थुप्रै गीतमध्ये एउटाको बोल हो यो । जो राज बेल्बासे नामको युजर आइडीका संग्रहमा भेटिन्छ । बेल्बासेले शब्द अपलोड गरेपछि सुनोले धुनबद्ध गरिदिएको हो ।
अहिले ‘सुनो’ खोल्नुस् वा ‘उडियो,’ दुवैमा सर्च गर्न‘भयो भने नेपालीको उपस्थिति बिस्तारै बढेको भेट्न गाह्रो छैन । यी यस्ता साइट हुन् जसमा तपाईले रचना राख्नुभयो भने गीत बनाएर दिन्छन् ।
शब्द हाल्नुस्, चाहेकोजस्तो भाका छनोट गर्नुस्, महिलाकी पुरुषको स्वरमा चाहिन्छ, वा युगल, त्यो पनि छनोट गर्नुस् । ‘क्रिएट’ कमान्ड दिनस् अनि बनाउनुस् गीत । आफूले बजाउनुपर्ने न गाउनु, न त रेकर्डिङका लागि स्टुडियो जानुपर्ने । मोबाइल, ल्यापटप, ट्याब वा डेस्कटपबाट साइट ब्राउज गरेर कमान्ड दिएका भरमा तयार हुन्छ भनेजस्तो गीत ।
साइबर संसारमा यस्ता साइटको संख्या बढ्ने क्रममा छ । तर, गीत कस्तो कम्पोजिसनमा चाहिन्छ भन्ने छनोट तपाईको आफ्नै हुनुपर्छ । रचना दिएर एआईलाई ‘यस्तो भाकाको बनाउ’ नभन्ने हो भने एआईलाई जस्तो उचित लाग्छ त्यस्तै बनाइदिन्छ ।
केही साइटमा सीमित भाषा सुविधा छन्, केहीमा जुनसुकै भाषाका गीत बनाउन पाइन्छ । धेरैजसोमा युजर आइडी सितैं बनाउन मिल्छ, दिनको हिसाबले केही गीत सितैं तयार गर्न पनि पाइन्छ ।
उक्त साइटहरूमा सुन्न र त्यसमा बनाइएको आफ्नो आइडीमा संग्रह गरेर राख्न मिल्छ । तर, यी साइटबाट तयार गरिएका गीतलाई डाउनलोड गर्न र व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न भने शुल्क तिर्नुपर्ने सर्त राखिएका छन् ।
यो सुविधा इन्टरनेटको संसारमा भइरहेको द्रुतत्तर विकासले ल्याएको हो । जसमा तपाई जुनसुकै पेसामा आबद्ध भए पनि सांगीतिक रहर पूरा गर्न सक्नुहुन्छ । संसारभर यस्ता मान्छे धेरै छन्, जो आफू पनि सांगीतिक क्षेत्रमा आबद्ध भएको हेर्न-सुन्न रहर गर्छन् । त्यसका लागि गच्छेअनुसार केही खर्च गर्न पनि छिटै तयार हुन्छन् । तिनीहरूका कारण एआईमा आधारित नयाँ सुविधा विकास अघि बढेको छ ।
परम्परागत संगीत बजारले निरन्तर राम्रै आर्थिक कारोबार गरिरहेका बेला एआई म्युजिक जेनेरेटरको आगमन भएको छ । यसले गीत लेख्न, धुन तयार गर्न र गाउन नजान्नेका लागि पनि सांगीतिक क्षेत्रमा केही गर्छ‘ भन्दा रहर पूरा गर्न सम्भव बनेको छ ।
संगीतका ताल–सुर बुझेकाहरूले यसबाट अधिकतम फाइदा लिन सक्छन् । परम्परागत तवरले सांगीतिक क्षेत्रका विभिन्न विधामा काम गरिरहेकाहरूलाई यो अवसर मात्रै नभई नयाँ चुनौती पनि हुने देखिएको छ ।
एआई साइटहरूलाई कुनै भाव बताएर उक्त थीममा गीत–कविता लेखाउन, बनाउन त सकिन्छ नै, त्यसलाई संगीतबद्ध गर्न मात्रै होइन चाहिएको भिडियो पनि तयार गर्न सकिने सुविधा आइसकेको छ । प्रयोगकर्तालाई बानी पार्न विभिन्न साइटका केही सुविधा सितैं छन्, धेरै सुविधाका लागि पैसा तिर्नैपर्ने हुन्छ ।
हिजोआज युट्युबमै खोज्दा पनि एआई सृजित गीत–संगीतको संख्या बिस्तारै बढेको देखिएको यही कारणले हो । सांगीतिक बजारलाई एआई सृजित संगीतले धक्का दिन लागेको छ ।
परम्परागत संगीतको ग्लोबल मार्केट आर्थिक रूपमा समृद्ध छ । ग्राण्ड भ्यु रिसर्चका अनुसार यो बजार सन् २०२१ मा करिब १२.२६ अर्ब अमेरिकी डलर बराबरको थियो । २०२८ सम्म ३०.५ अर्ब डलरको हुने अनुमान छ, वार्षिक वृद्धिदर लगभग १४.४ प्रतिशत रहेको तय छ ।
अरू स्रोतहरूबाट पनि यस्तै हिसाब देखिएका छन् । म्याक्सिमाइज मार्केट रिसर्चले २०२४ मा १७.५७ अर्ब डलर अनुमान गरेको छ । जबकि स्टाटिस्टाका अनुसार २०२५ मा ४१.८५ अर्ब र २०३० सम्म ५२.२९ अर्ब डलर पुग्ने सम्भावना छ ।
परम्परागत संगीत आधुनिक दर्शकमा अझ रुचाइएको छ । सांस्कृतिक कार्यक्रम, फेस्टिभल र डिजिटल पहुँचले योगदान गर्दैछ । नेपालमा पनि यसको प्रभाव देखिन्छ । स्थानीय स्तरमै परम्परागत संगीतमा आर्थिक सम्भावना नभएको होइन । तर, यही बेला एआईको आगमनले संगीत क्षेत्रमा सुविधासँगै चुनौती थपिदिएको छ ।
संगीत उद्योग निश्चितरूपमा एआई जेनेरेटेड गीतहरूको बढ्दो उपस्थिति अनुभव गरिरहेको छ । फ्रान्सको म्युजिक स्ट्रिमिङ कम्पनी डीजरका अनुसार दैनिक अपलोड हुने गीतहरूको लगभग १८ प्रतिशत एआई–जेनेरेटेड हुन थालेका छन् । यद्यपि परम्परागत तवरले तयार भइरहेका गीतका तुलनामा तिनको संख्या धेरै भइसकेका होइनन् ।
हुन त भेल्भेट सनडाउन जस्ता पूर्ण एआई–निर्मित ब्यान्डहरूले स्पोटिफाइमा १० लाखभन्दा बढी मासिक स्रोता बनाइसकेका छन् । एआई टूल प्रयोग गरी संगीत सिर्जना गरिरहेका ‘इमोलिभर’ चर्चामा छन् । जसले हालै म्युजिक कम्पनी प्यालेबलसँग व्यापारिक सम्झौता गरे ।
‘इमोलिभर’ नाममा बेलायती एआई संगीत सर्जक ओलिभर म्याक्क्यानले काम गर्छन् । गीत बनाउन च्याटबोट चलाउने गरेका उनले समाचार संस्था एपीसँगको संवादमा भनेका छन् ‘मसँग कुनै संगीत प्रतिभा छैन । म गाउन सक्दिन, वाद्ययन्त्र बजाउन जान्दिनँ ।’ ३७ वर्षीय म्याक्क्यानको दक्षताको क्षेत्र भिजुअल डिजाइन हो । एआईले सांगीतिक सिर्जनशीलतालाई बढाउन र गीत बनाउन सक्छ कि भनेर प्रयोग गर्दागर्दै उनी सफल भएका हुन् ।
गत महिना उनको एउटा गीतले ३० लाख स्ट्रिम्स पाएपछि निकै चर्चामा आए । उनीजस्ता सर्जकको संख्या बिस्तारै बढ्दा संसारभर एआई–सहायक संगीतको बाढी आउने संकेत देखिएको छ । एआईले संगीत सिर्जनामा नवप्रवर्तन र सृजनात्मक सहयोगका लागि खोलेको नयाँ बाटो नवप्रवेशीका लागि अवसर भए पनि परम्परागत संगीतका लागि अनपेक्षित चुनौती हो ।
८० वर्षीय स्वीडिश संगीतकार तथा रचनाकार बीजर्न युल्भीयसले नयाँ म्युजिकल लेखनमा एआईको सहयोग लिइरहेका छन् । जसलाई उनले ‘अर्का गीतकार’ जस्तो सहयोगी भएको अनुभव भएको उल्लेख गरेको सञ्चारमाध्यमहरूमा आएका छन् । यसले देखाउँछ एआई रचनाकारका लागि सहयोगी ढंगले काम गर्न सक्छ ।
यसको आर्थिक सम्भावना बुझ्दै युनिभर्सल, वार्नर, सोनीजस्ता ठूला म्युजिक कम्पनीहरू पनि एआईसँगको सम्भावित साझेदारीमा रुचि देखाइरहेका छन् ।
सहयोगी प्रविधिसँगै चुनौतीहरू पनि उत्तिकै छन् । ‘सुनो’ र ‘उडियो’ जस्ता एआई म्युजिक जेनरेटरहरूलाई प्रतिलिपि अधिकार उल्लंघनको आरोप लागिसकेको छ । केही प्रसिद्ध कलाकारले यस विषयमा दबाब बनाइरहेका छन् । ग्लोबल साउथका परम्परागत संगीत शैलीहरू एआईमा कम प्रतिनिधित्वमा छन्, जसले साँस्कृतिक विभाजन र सांगीतिक विविधता जोखिममा पार्न सक्छ ।
अझ एआई निर्मित संगीतले कलाकारको आवाज, शैली नक्कल गरी अनधिकृत ट्रयाक रिलिज गर्ने घातक प्रवृत्ति बढेको छ । इमिली पोर्टम्यान, जोश कौफम्यान जस्ता कलाकारहरू यसबाट प्रभावित भएका उदाहरण छन् ।
हालै एआई म्युजिक डिटेक्टर निर्माण भएको छ, जसमा ९९.८ प्रतिशत सटीकता रहेको रिपोर्ट गरिएको भए पनि यसले सिर्जना गरेको परिस्थितिमा काम गर्ने क्षमता अझ चुनौतीपूर्ण छ ।
एआई जेनेरेटरहरूले सर्जकका लागि प्रम्प्टमा आधारित कन्टेन्ट बनाउन सजिलो पारिदिएका छन् । तर प्रयोगकर्ताको कल्पना र एआईद्वारा उत्पादित संगीतबीचको अन्तर अझै प्रष्ट भने छैन । एक्स्पान्डेबल एआई र ग्रेटर युजर कन्ट्रोलमा ध्यान दिनुपर्ने आवश्यकता छ ।
हिजोआज ‘रील’ र सर्ट्स’का छोटा भिडियोमा एआईको मद्दत लिनु नौलो मानिन छाडेको छ । विज्ञापनजन्य सामाग्री र विभिन्न प्रकारका सन्देशमूलक सामाग्री बनाउनेहरू एआईमा आधारित म्युजिक र भिडियो जेनेरेटरको मद्दत लिइरहेका छन् । धेरैलाई ती कन्टेन्टलाई हेर्दै पनि थाहा लाग्छ की पक्कै मान्छेले बनाएका होइनन् ।
परम्परागत संगीत बजार आर्थिकरूपमा बलियो छ । तर, एआईको आगमनले यस क्षेत्रमा नयाँ सम्भावनासँगै जोखिमहरू पनि ल्याएको छ । कपीराइट, सांस्कृतिक विविधता र कलात्मक नियन्त्रणका सवालहरूमा सावधानी आवश्यक देखिएको छ ।
यदि नियमन, नैतिक प्रयोग र अधिकार सुरक्षा सुनिश्चित भयो भने एआई र परम्परागत संगीतबीच समन्वयले दुवैलाई समृद्ध बनाउन सक्छ ।