स्टेजहरूमा त्यति नदेखिने कलाकर्मीलाई गत शुक्रबार साँझ स्रोताले नेपालयको ‘आर’ शालामा सुनेका छन् । संगीतकार रामकृष्ण दुवालका सिर्जना सुन्न पाएका हुन् । करिब दुई घण्टासम्म चलेको कार्यक्रममा दुवालले धुन भरेका एक दर्जनभन्दा बढी गीत गुञ्जिए ।
नेपाली पहिरनमा सजिएका दुवालले दाफा गायनबाट कार्यक्रम सुरु गर्दै ‘श्याम सुन्दर वसन्त बेला’ बोलको नेपालभाषाको वसन्त गीत प्रस्तुत गरे । उनले प्रदर्शन गरेका नृत्य मुद्राले दर्शकको मन जित्यो । नयाँ पुस्ताका कलाकार अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले समेत उनका रचनामा स्वर भरे ।
कार्यक्रमलाई चार खण्डमा विभाजन गरिएको थियो । दोस्रो प्रस्तुतिमा कवि मञ्जुलको ‘साइली मोरीलाई’ संग्रहभित्रको गीत सुन्दा दर्शक भावुक बने । तीजको माहोलसँग मेल खाने गीतले धेरैलाई आँसु झार्न बाध्य बनायो ।
तेस्रो खण्डमा युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘मंगलमान’ को अंश स्वरबद्ध गरी प्रस्तुत गरियो । विद्रोही पात्र मंगलमानकै कारण प्रचलित ‘ब्याक टु मंगलमान’ भनाइलाई दुवालले स्वरमा उतारे ।
नेपाल भाषाको प्रारम्भिक टेलीफिल्म ‘चिपः निपः’का गीतदेखि उनले धुन भरेका बालगीतसम्म प्रस्तुतिमा समावेश भए । ‘बाँसुरीको धुनसँगै गाउन हामी थाल्छौं’ र ‘नेपालका हामी साना बालबालिका’ जस्ता गीत गुञ्जिदा गीतकार रामबाबु सुवेदी र दुर्गालाल श्रेष्ठसँग सम्बन्धित प्रसंग पनि स्मरण गरियो ।
सामाजिक सन्देश बोकेका श्याम तमोटको ‘हेर आज नेपाली बसाइ हिडेको’ गीतले कार्यक्रमलाई अर्को उचाइमा पुर्यायो । सञ्चालकले गोपालप्रसाद रिमालको ‘एक जुगमा एकदिन एकचोटी आउँछ’ सम्झिदै कलाकार सधैं विद्रोही रहन्छन् भन्ने धारणा व्यक्त गरे ।
अन्तिम खण्डमा नेपाल भाषाका लोकप्रिय लोकगीत ‘सिर्साया हेकू’ लगायत रचनाहरू प्रस्तुत भए । दर्शकदीर्घामा ‘वान्समोर’को माग गुञ्जियो । अन्त्यमा भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लले काशी निर्वासनअघि रचेको विरही गीत सुनाइयो । त्यसलाई अन्तिम मुगल सम्राट बहादुर शाह जफरको निर्वासनकालीन गजलसँग तुलना गर्दै सञ्चालक आभासले ऐतिहासिक भावुकताका प्रसंग ल्याए ।
गीत समाप्तिपछि भावुक बनेका दुवालले आँसु पुछ्दै कार्यक्रम समापन गरे । पलेंटीमा दुवाललाई तबलामा मिलेश तण्डुकार, बाँसुरीमा मिलन घिमिरे, प्रकाशनमा पारसमणि सुवेदी, गिटारमा प्रवीण पुलामी मगर, बेस गिटारमा कृपेश लोहनी र कीबोर्डमा सुनिल सिंहले साथ दिएका थिए ।