नेभिगेशन
अर्थतन्त्र

पूर्वाधार निर्माणमा मापदण्ड पूरा नगरे ५० हजार जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले टक्सार रानीवन जेवीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । बसुन्धरा नदी किनारामा रिटेनिङ पर्खाल बनाउने क्रममा मापदण्ड पूरा नगरेपछि महानगरले टक्सार रानीवनलाई जरिवाना गरेको हो ।
कम्पनीलाई जग कमजोर बनाएको, सिमेन्ट लगाउनुपर्ने ठाउँमा माटो राखेको, पुराना ढुंगा प्रयोग गर्दा ढुंगामा भएको माटो नपखालेको लगायतका आधारमा जरिवाना गरिएको छ । निर्माण कार्यमा मापदण्ड पूरा नगरेको स्थानीय गुनासो कार्यवाहक प्रमुखको सचिवालयमा आएपछि वडा नं. ३ का अध्यक्ष एवं महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, नगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डित र महानगर प्रहरी बलका अधिकारीहरुले निर्माण स्थलको निरीक्षण गरेका थिए । त्यसपछि निर्माण पक्षलाई महानगर प्रहरी बलमा झिकाएर निर्माण सामग्री र निर्माण प्रक्रियाका विषयमा जानकारी लिइएको थियो । 
जानकारी लिने क्रममा गरिएको छलफलमा प्रोजेक्ट म्यानेजरले बालुवामा माटो मिसिएको, पुराना ढुंगा राम्ररी नपखाली प्रयोग गरिएको कुरा स्वीकार गरेपछि जरिवाना गराइएको हो ।
आइतबार नै सार्वजनिक निर्माण विभागका इन्जिनियरहरुले निर्माण स्थलबाट निर्माण सामग्रीको नमुना लिएर प्रयोगशाला परीक्षणका लागि पठाएका छन् । प्रयोगशाला परीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा स्थानीयको गुनासो र निर्माण कार्यका विषयमा थप निर्णय लिइने जनाइएको छ । सार्वजनिक खरिद प्रक्रियाबाट निर्माण पक्षले कामको जिम्मेवारी पाएको हो । सम्झौताबमोजिम यो काम २०८४ असोज ३० भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्