नेभिगेशन
अर्थतन्त्र

ककनीमा रैथाने खाना प्रवर्धन

काठमाडौं । रैथाने खानाको प्रवर्धन गर्ने उद्देश्यसहित ‘रैथाने खाना प्रवर्धन तथा सञ्चारकर्मीसँग प्राकृतिक भोजन कार्यक्रम’ आयोजना गरिएको छ । नुवाकोटको ककनीमा आयोजित कार्यक्रममा पाककला क्षेत्रमा योगदान पु¥याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोखरेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ प्रदान गरिएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको आर्थिक सम्भावनालाई जोड दिए । ‘नेपालको पर्यटन प्रवर्धनमा स्थानीय खानाको महत्वपूर्ण भूमिका छ । सही ढंगले ब्रान्डिङ गर्न सकियो भने यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ,’ उनले भने, ‘घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक ज्ञान र सीप सेफहरू मार्फत विस्तार गर्न सकिन्छ, जसले यसको दिगो प्रवर्धनमा सहयोग पु¥याउँछ ।’
त्यस्तै गैरआवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले स्वास्थ्य र प्राकृतिक भोजनबीचको सम्बन्धबारे प्रकाश पारिन् । ‘प्राकृतिक र रैथाने खाना हाम्रो स्वास्थ्यका लागि अत्यन्त लाभदायक छन् । आधुनिक जीवनशैलीले ल्याएको अस्वस्थ खानाको विकल्पका रूपमा यसलाई अघि बढाउनुपर्छ,’ उनले भनिन् ।
ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउनुपर्ने आवश्यकता औंल्याए । ‘हाम्रो मौलिक खाना केवल परिकारमात्र होइन, यो हाम्रो संस्कृति र पहिचान हो । यसको संरक्षण र प्रवर्धन आजको आवश्यकता हो,’ उनले भने ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालका विभिन्न भूगोलमा आफ्नै विशेषता बोकेका खानाहरू रहेको उल्लेख गरे । ‘हिमाल, पहाड र तराई सबै क्षेत्रका खानाहरूले नेपालको सांस्कृतिक विविधता झल्काउँछन्, जसलाई व्यवस्थित रूपमा प्रवर्धन गर्न सकिन्छ,’ उनले भने ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले रैथाने खानाको प्रवर्धनले स्थानीय पाककला क्षेत्रलाई थप उचाइमा पु¥याउने बताए । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले आन्तरिक तथा बाह्य पर्यटनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
युवा उद्यमी तारालाल धरेलले रैथाने खानालाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने सम्भावनाबारे अनुभव साझा गरे । रैथाने अभियन्ता तिलक ढकालले रैथाने खाना स्वास्थ्यकर हुने र रैथाने खानाले शरीरलाई आवश्यक पोषण दिनुका साथै समाजलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान पु¥याउने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्