नेभिगेशन
उपत्यका

थापाथली र गैरीगाउँमा डोजर चल्यो, ६ घण्टामा सुकुम्बासी बस्ती खाली

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गामा बनेका अवैध बस्ती हटाउने सरकारको अभियान अन्तर्गत शनिबार थापाथली र गैरीगाउँ क्षेत्रमा घरटहरा भत्काइएको छ । वास्तविक सुकुम्बासीलाई बिचल्ली नपार्ने प्रतिबद्धतासहित अघि बढाइएको अभियानमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाका नगर प्रहरी परिचालित भएका थिए । बस्ती खाली गर्नुअघि शुक्रबार साँझसम्म माइकिङमार्फत सूचना दिइएको थियो ।
काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वाग्मती नदी किनार, वडा नं ९ को गैरीगाउँ–सिनामंगल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगर क्षेत्रमा रहेका संरचना डोजर लगाएर हटाइएको हो । सोही क्रममा कागेश्वरी मनोहरा–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका बस्ती हटाउने काम भने अवरोधका कारण पहिलो दिन स्थगन गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२ र थापाथलीमा १४३ अवैध घरटहरा थिए । त्यस्तै गोठाटारमा ७७ र मनोहरा टोलमा १३ संरचना सरकारी जग्गामा बनेका छन् ।
संयुक्त सुरक्षाकर्मीको टोलीले संरचना हटाउने क्रममा बस्तीवासीलाई सामान सार्न सहयोग पनि गरेको थियो । थापाथली क्षेत्रका ६८ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दशरथ रंगशालामा पु¥याएर विवरण संकलन गरिएका उनीहरुलाई काठमाडौं महानगरपालिकाले अस्थायी रूपमा सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा बसोबासको व्यवस्था मिलाएको छ । त्यहाँ राखिएका सामान सुरक्षित रूपमा राखिएको जनाइएको छ ।
सुकुम्बासी भन्दै नदी किनार अतिक्रमण गरेर वषौंदेखि बसेकाहरुमध्ये निकै न्यून संख्यामा परिवार आफ्नो घरजग्गा र दिगो आम्दानी नभएका भेटिँदा सरकारको मनोबल बढेको छ । थापाथली र गैरीगाउँको सुकुम्बासी बस्तीका धेरैजसो परिवार शुक्रबार नै विभिन्न स्थानमा डेरा खोजेर सरिसकेको खुलेको छ ।  
सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्ने प्रक्रिया आइतबारदेखि सुरु गर्ने तयारी गरेको छ । प्रारम्भिक प्रमाणीकरणपछि योग्य ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने योजना छ । त्यसपछि दीर्घकालीन पुनर्वासको प्रक्रिया अघि बढाइने सरकारको भनाइ छ । यसका लागि नागार्जनुमा रहेको अपार्टमेन्ट सफाइसँगै बस्नयोग्य बनाउने काम पनि अघि बढाइएको छ ।  
यसैबीच भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराको सुकुम्बासी बस्तीमा पनि ठूलो संख्यामा परिवारले बस्ती छाडेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार दिउँसोसम्म करिब ८० प्रतिशत घरटहरा खाली भइसकेका छन् । उक्त बस्तीमा ७७७ घरटहरा र १ हजार ६ सयभन्दा बढी जनसंख्या बसोबास गर्दै आएको तथ्यांक छ ।
प्रहरीका अनुसार बस्तीमा रहेका धेरै संरचना दुईतले पक्की घरसमेत छन् भने अधिकांश जस्तापाता र ब्लकले बनेका टहरा हुन् । केही व्यक्तिहरूले टहरा तथा घर भाडामा लिएर बसेको दाबी पनि गरेका छन् । बस्तीका स्थानीयले राज्यले उचित व्यवस्थापन र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरूले दीर्घकालीन समाधान बिना बस्ती हटाउँदा समस्या झन् जटिल बन्ने बताएका छन् ।
सरकारले शुक्रबारदेखि नै बस्ती खाली गर्न सूचना जारी गरेको थियो । सोही अनुसार केही परिवारले स्वतः घरटहरा खाली गरेका थिए । शनिबार बिहानदेखि डोजर प्रयोग गरी संरचना हटाउने कार्य तीव्र बनाइएको हो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच बस्ती खाली गराउने कार्य क्रमशः गैरीगाउँतर्फ विस्तार गरिएको थियो ।
यस अभियानको क्रममा थापाथली क्षेत्रमा १८ जनालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको छ भने लगत संकलन जारी रहेको माहनगरपालिकाले जनाएको छ । विभिन्न स्थानमा रहेका परिवारलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने र आवश्यक राहत तथा व्यवस्थापन गर्ने काम पनि भइरहेको छ ।
सरकारले नदी किनारमा वर्षौंदेखि बनेका अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ । आइतबारदेखि अन्य क्षेत्रका अव्यवस्थित बस्ती हटाउने तयारी भइरहेको छ ।
यसबीच मनोहरा बस्तीका बासिन्दाहरूले भने केही संरचना भाडामा समेत दिइएको र वर्षौंदेखि त्यहाँ बसोबास गर्दै आएको बताएका छन् । उनीहरूले सरकारले उचित विकल्प र पुनर्वासको व्यवस्था गरे आफूहरू स्थान छोड्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं उपत्यकामा पटक–पटक सुकुम्बासी बस्ती हटाउने प्रयास भए पनि राजनीतिक विवाद र अवरोधका कारण प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । तर यसपटक संघीय र स्थानीय सरकारको समन्वयमा पूर्वघोषणा र तयारीसहित अभियान अघि बढाइएको छ । सरकारले वास्तविक सुकुम्बासीलाई संरक्षण गर्दै सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने नीति निरन्तर अघि बढाइने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्