नेभिगेशन
उपत्यका

उपत्यकामा ट्राफिकले बढायो सडक निगरानी

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा चलाएको ‘सप्राइज चेकिङ’ अभियानका क्रममा शनिबार मात्रै ५७२ जना सवारीचालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन, मापसे, रातो बत्ती तोड्ने तथा लेन अनुशासन नगर्ने चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयले जनाएको छ ।
कारबाही परेकामध्ये पाँच जना मादक पदार्थ सेवन गरेर सवारी चलाइरहेका थिए । त्यस्तै, रातो बत्ती उल्लंघन गर्ने १९, लेन अनुशासन पालना नगर्ने ४१  र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ५०७ जना चालक जरिवानामा परेका छन् । ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित र आकस्मिक दुवै प्रकारका चेकिङलाई कडाइका साथ अघि बढाइएको जनाएको छ ।
ट्राफिक प्रहरीले चालक, यात्रु तथा पैदल यात्रु सबैलाई सडक अनुशासन पालना गर्न आग्रह गरेको छ । मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाएको शंका लागेमा नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ तथा प्रहरी हटलाइन १०० मा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
यसैबीच पछिल्ला केही दिनदेखि उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेहरूको संख्या निरन्तर उच्च देखिएको छ । शुक्रबार मात्र २ हजार ९०३ जना चालक कारबाहीमा परेका थिए, जसबाट २५ लाख ५६ हजार रुपैयाँ जरिवाना असुली भएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त दिन मापसेमा १२७ जना, लेन अनुशासन उल्लंघन गर्ने ३१२ जना, ट्राफिक संकेत नमान्ने २०० जना र तीव्र गतिमा सवारी चलाउने १७६ जनामाथि कारबाही गरिएको थियो ।
त्यसअघि बिहीबार २ हजार ६९२ जना चालक कारबाहीमा परेका थिए भने करिब ७ लाख ६० हजार रुपैयाँ जरिवाना उठाइएको थियो । बुधबार पनि २ हजार ६७० जना कारबाहीमा परेका थिए, जसमा मापसे, तीव्र गति, लेन क्रस र अन्य उल्लंघनका घटना प्रमुख रूपमा देखिएका थिए । पछिल्ला दिनहरूमा दैनिक हजारौं चालक कारबाहीमा परिरहेको तथ्यांकले उपत्यकाको सडक अनुशासन अझै कमजोर रहेको संकेत गरेको छ ।
ट्राफिक प्रहरीले दिनहुँ कडा कारबाही अभियान चलाए पनि नियम उल्लंघन गर्ने चालकहरूको संख्या अपेक्षाकृत रूपमा घट्न सकेको छैन । विशेषगरी जेनजी आन्दोलनपछि गत भदौदेखि सडकमा अनुशासनहीनता बढेको देखिएको ट्राफिक प्रहरीको विश्लेषण छ । ट्राफिक प्रहरीका अनुसार सडकमा तीव्र गति, लेन अनुशासन उल्लंघन र मापसेजस्ता घटना अझै चुनौतीका रूपमा छन् ।
प्रहरीले सडक अनुशासनलाई सबैको साझा जिम्मेवारी भन्दै कडाइका साथ अभियान जारी राख्ने जनाएको छ । दैनिक सयौं चालक कारबाहीमा परिरहनु उपत्यकाको ट्राफिक व्यवस्थापन र चालकको चेतनास्तर दुवैमा अझ सुधार आवश्यक रहेको संकेतका रूपमा देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय