नेभिगेशन
नेपाल

कैलाली कारागारमा हिंसात्मक झडप, एकको मृत्यु, ४७ घाइते

सुशील ढुंगाना/निराजन परियार,

कैलाली, साउन २४।  कैलाली जिल्ला कारागारमा शुक्रबार राति दुई समूहका कैदीबन्दीबीच हिंसात्मक झडप भएको छ । झडपमा एकको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

१५० कै दी राख्ने क्षमता भएको कारागारमा अहिले करिब ७०० कैदीबन्दी हुँदा पहिले देखि नै रहेको तनाव हिंसात्मक झडपमा परिणत भएको हो । यसपटकको झडपको मुख्य कारण कागजी रूपमा तीन कैदीको सरुवा भए पनि उनीहरूको स्थानान्तरण हुन नसक्नु थियो । भूपेन्द्र बडुवाल हत्या प्रकरणमा थुनामा रहेका तीन कैदीको सरुवा गर्न कारागार प्रशासनले ढिला गर्दा दुई समूहबीच विवादलाई उग्र भएको थियो ।

त्यसअघि पनि २२ गते झडप भएको थियो , जसमा पाँचजना घाइते भएका थिए । तर , प्रशासनले प्रभावकारी कदम नचाल्दा स्थिति बिग्रिदै गयो । कारागार स्रोतका अनुसार शनिबार राति ब्लक ‘ ए’ मा रहेका कैदीबन्दीले ब्लक ‘ बी’ मा रहेकालाई आक्रमण गरे । उनीहरूले जवाफी प्रत्याक्रमण गरे । यसले स्थिति तनावपूर्ण बनेको हो ।

पुरानो ढोका ईटाले टाँलिएको थियो । उनीहरू जिमखानाका सामान प्रयोग गरी ढोका फुटाएर ब्लक ‘ बी’ मा प्रवेश गरेका थिए । त्यहाँ अधिकांश कैदीहरू निदाएको अवस्थामा थिए ।उनीहरूलाई रड, चक्कु, खुकुरी र ईटाले अन्धाधुन्ध आक्रमण गरिएको थियो ।

यो आक्रमणको पछाडि दुई कारण मुख्य देखिन्छन् — एक त बडुवाल हत्या प्रकरणका कैदीहरूको कागजी सरुवा भएको तर स्थानान्तरण नहुँदा द्वन्द्व बढ्नु, र दोस्रो कारागार नाइकेको परिवर्तनलाई लिएर कैदी समूहबीच वर्चस्वको विवाद ।

छानबिन समिति गठन

कैलाली कारागामा भएको हिंसात्मक झड्पको घटना छानबीनका लागि पाँच सदस्यीय समिति गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी र जिल्ला अनुसन्धान कार्यालयका प्रतिनिधिहरू सदस्य छन् । समितिले १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने छ ।

घटनापछि अस्पताल परिसर र कारागार वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सञ्चारकर्मी र सर्वसाधारणलाई घटनास्थल र घाइतेको बारेमा जानकारी लिन दिइएको छैन ।

कैलाली कारागारमा निरन्तर झडप र हिंसाले कारागारलाई सुरक्षा संवेदनशील स्थलको रूपमा चिनिने अवस्थाबाट बाहिर निकाल्नुपर्ने  आवश्यकतालाई बलियो बनाएको छ । कारागार व्यवस्थापनमा सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्नु स्थानीय प्रशासनमाथि दबाब बढेको छ ।

यो झडपमा लागुऔषध मुद्दाका कैदी धनगढी–४ का ४० वर्षीय भरत चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर छ र उनीहरू सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् ।

कैलाली कारागारमा कैदीहरूको संख्या क्षमता भन्दा धेरै हुनु नै एक ठूलो समस्या भएको सुरक्षा अधिकारीहरू बताउँछन् । १५० क्षमताको कारागारमा करिब ७०० कैदीबन्दीलाई राखिएको छ । यसले सुरक्षा व्यवस्थालाई थप चुनौतीपूर्ण बनाएको छ । रातिको घटनापछि शनिबार कैदीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताला लगाएर ग्यास सिलिन्डर राखी आगो लगाउने धम्की दिएका कारण सुरक्षाकर्मी कारागार भित्र प्रवेश गर्न सकेनन् । 

यस्तो अवस्था हुँदा प्रहरी घटनास्थलमा पुगे र पनि कारागारभित्र जान नसकेको जिल्लाका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले बताए । ‘प्रहरीलाई भित्र पस्न नदिदा हामीलाई भित्रको अवस्था पत्ता लगाउनै गाह्रो भएको हो,’ उनले भने, ‘अवस्था सामान्य हुँदैछ । घाइतेलाई उपचारका लागि लगिएको छ ।’ 

यसअघि असार २८ गते पनि कैदीहरूबीच झडप हुँदा कारागारका नाइके खगेन्द्र बोगटी घाइते भएका थिए । उनलाई भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक समूहले आक्रमण गरेको आरोप छ । त्यतिबेला पनि कैदीहरूले जेलर र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए तर प्रशासनले सामान्य घटना भन्दै कदम नचालेपछि स्थिति बिग्रदै गएको हो । गत असारमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको टोलीले कारागार निरीक्षणका क्रममा ब्लक ‘ ए’ मा मोबाइल फेला पारेको थियो । त्यसपछि सातजना कैदीलाई ब्लक ‘ बी’ मा सारिएको थियो । यही सरुवाले कैदीहरूबीच मनमुटावको हुँदै गएको थियो । 

असार २८ को घटनामा घाइते नाइके बोगटीमाथि बडुवाल हत्या प्रकरणमा थुनामा रहेका कैदी कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको आरोप लागेको थियो । बोगटीले ‘जेलरको मान्छे ’ भएको रवाफ देखाएको भन्दै श्रेष्ठ समूह आक्रोशित भएको केही कैदीको भनाइ छ । त्यसबेलै कैदीहरूले जेलर वसन्त खत्रीविरुद्ध प्रजिअ र एसपीकै अगाडि ‘जेलभित्र मनोमानी बन्द गर ’ भन्दै नाराबाजी गरेका थिए । प्रजिअ हमाल र प्रहरी प्रमुख बालनरसिंह राणाले पनि स्थिति सामान्य भएको दाबी गरेका थिए । तर शुक्रबार रातिको झडपपछि प्रशासन र सुरक्षाको व्यवस्थापन फितलो भएकोमा गम्भीर प्रश्न उठेको छ ।

कारागारमा लगातार हुने हिंसात्मक घटना र त्यसको रोकथाममा जिम्मेवार निकायको असफलता सार्वजनिक भएको छ । विगतमा डडेल्धुराका हरिश पालीको पनि कारागारमा शंकास्पद मृत्यु भएको थियो । उनको कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । मानवअधिकार आयोगले कारागारको सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी भएको भन्दै प्रशासनमाथि लापरवाहीको आरोप लगाएको छ । आयोगको टोलीले कारागार निरीक्षण गर्दै  कैदी संख्या क्षमताभन्दा धेरे, सरुवा प्रक्रिया पारदर्शी नभएको र प्रशासनबीच समन्वयको अभाव रहेका कारण यस्तो घटना भएको जनाएको छ ।

आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिबार दिउसो कारागारको निरीक्षण गरिएको बताए । कारागार प्रशासनका प्रमुख बिदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही, क्षमताभन्दा बढी कैदीबन्दी र उनीहरूको स्थानान्तरण पारदर्शी नहुनु लगायतका कारणले घटना हुन पुगेको देखिएको उनको भनाइ छ । ‘कारागार भित्रका अन्य कैदीबन्दीको अवस्था भने समान्य छ,’ उनले भने , ‘स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कुनै कमजोरी नगर्न र उनीहरूका आफन्तलाई सहज रूपमा भेटने वातावरण बनाउन भनेका छौ ।’ यसअघि कारागारमा असुरक्षित रहेको भन्दै कैदीबन्दीहरूले सामूहिक निवेदन दिएका आधारमा समेत प्रशासन सचेत गराइएको पनि उनले बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्