नेभिगेशन
उपत्यका

गरिबमाथिको डोजर आतंक तत्काल बन्द गर्न नारायणकाजी श्रेष्ठको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकारले देशभरका सुकुम्बासी बस्तीहरूमा सञ्चालन गरेको डोजर अभियानको कडा आलोचना गरेका छन् । उनले उक्त कदमलाई “डोजर आतंक” भन्दै सुकुम्बासीमाथि दमन गरिएको आरोप लगाएका हुन् । नेता श्रेष्ठले वर्तमान सरकार, विशेषतः बालेन्द्र शाह नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सुकुम्बासीलाई नागरिकको रूपमा समेत सम्मान नगरेको टिप्पणी गरे । उनले सरकारद्वारा सुकुम्बासी बस्तीहरूमा गरिएको बलपूर्वक हटाउने कार्य जनविरोधी, गरीबविरोधी र निरंकुश भएको भन्दै तत्काल बन्द गर्न माग गरेका छन् ।

उनका अनुसार सुकुम्बासीहरू पनि नेपाली नागरिक भएकाले उनीहरूले सम्मानजनक जीवनयापन र आवासको अधिकार पाउनुपर्छ । तर, उनले सुकुम्बासी समस्याको समाधानका लागि व्यवस्थित र वैज्ञानिक दृष्टिकोण आवश्यक रहेको पनि स्पष्ट पारे । उनले विगतमा सुकुम्बासी समस्या समाधानका लागि विभिन्न आयोग बने पनि दीर्घकालीन समाधान ननिस्किएको उल्लेख गर्दै हालको सरकारको नीति झन् दमनकारी र अमानवीय भएको आरोप लगाए । उनले आफू गृहमन्त्री रहँदा सुकुम्बासी समस्या समाधानबारे मेयर शाहसँग छलफल भएको स्मरण गर्दै पहिले वास्तविक र नक्कली सुकुम्बासी छुट्याउने, तथ्याङ्क तयार गर्ने र वैकल्पिक बसोबासको व्यवस्था गर्ने प्रस्ताव राखेको तर त्यसमा सहमति नभएको बताए । 

नेता श्रेष्ठले सरकारलाई सुकुम्बासीप्रतिको दृष्टिकोण परिवर्तन गर्न आग्रह गर्दै वैकल्पिक आवासको पूर्वतयारी बिना बस्ती हटाउने कार्य तत्काल रोक्नुपर्ने बताए । उनले सुकुम्बासी समस्या समाधानका लागि तीन मुख्य सुझाव पनि प्रस्तुत गरेका छन्। पहिलो, सुकुम्बासीहरूलाई नागरिकको रूपमा सम्मान गर्दै संविधानले दिएको आवास अधिकार सुनिश्चित गर्नुपर्ने। दोस्रो, निश्चित समयभित्र वास्तविक सुकुम्बासीको तथ्याङ्क संकलन गरी नक्कलीलाई पहिचान र कारबाही गर्नुपर्ने। तेस्रो, ठोस योजना बनाई सुकुम्बासीहरूको सम्मानजनक र न्यायपूर्ण पुनर्वास सुनिश्चित गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्ने। उनले सुकुम्बासी समस्या समाधानका नाममा गरिने दमन, विस्थापन र अपमानजनक व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्