नेभिगेशन
उपत्यका

धोबीखोला करिडोरमा जथाभावी डोजर चलाएको भन्दै स्थानीयले गरे विरोध

वैकल्पिक व्यवस्थाबिना विस्थापन नगर्न सरकारसँग माग

काठमाडौँ । काठमाडौं महानगरपालिका लगायत सम्बन्धित निकायले सुकुम्वासी व्यवस्थापन तथा नदी किनारका अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै धोबीखोला करिडोर क्षेत्रमा डोजर चलाएको छ । शनिबार रुद्रमती मन्दिर नजिकको क्षेत्रमा डोजर प्रयोग गरी विभिन्न संरचनाहरू भत्काइएको हो । वास्तविक सुकुम्वासीको पहिचान नगरी कारबाही जथाभावी डोजर चलाइएको भन्दै स्थानीय स्तरमा यसको व्यापक आलोचना भइरहेको छ ।

डोजर चलाउने सूचना पाएपछि उक्त क्षेत्रका बासिन्दाहरूले आफ्नो घर सुकुम्वासी बस्ती नभएको प्रमाणित गर्न घरका भित्तामा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) टाँसेर विरोध जनाएका छन् । वैधानिक कागजात भएका घरधनीहरू समेत प्रभावित भएपछि सर्वसाधारणमा त्रास फैलिएको बताइएको छ । स्थानीय बासिन्दाहरूले आफूसँग वैधानिक प्रमाणपत्र रहेको र अदालतबाट स्थगन आदेशसमेत प्राप्त भएको दाबी गरेका छन् । एक स्थानीय महिलाका अनुसार प्रकाश खरेलको इजलासले संरचना नभत्काउन आदेश दिएको भए पनि त्यसको पालना नभएको गुनासो गरे । पीडित पक्षले उच्च अदालतको आदेश र लालपुर्जा देखाउँदा देखाउँदै पनि राज्यले बल प्रयोग गरेको आरोप लगाए । सुकुम्वासी र कानुनी रूपमा दर्ता भएका जग्गाधनीबीच स्पष्ट छुट्याउन नसकी जथाभावी डोजर चलाउँदा नागरिकको सम्पत्ति अधिकारमाथि असर परेको भन्दै मानवअधिकारकर्मी तथा नागरिक समाजले समेत आलोचना गरेका छन् । स्थानीयले कानुनी प्रक्रियाको सम्मान गर्न तथा वैकल्पिक व्यवस्था बिना विस्थापन नगर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्