नेभिगेशन
उपत्यका

व्यवसायी गोल्छालाई छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।  गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो । 
न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ (१) अनुसार ‘..कसुर ठहरिने मुद्दाको तहकिकात गर्दा, यस ऐन बमोजिमको कसुरको आरोपमा कारबाही चलाइएको व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भनी सम्झनु पर्ने कुनै मनासिब कारण भएमा वा बिगो हानि नोक्सानी भएको देखिएमा यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले आवश्यक धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ’ भन्ने व्यवस्था छ । 
तर यो व्यवस्था अनुसार अनुसन्धान गर्ने अधिकारीले गोल्छासँग धरौटी वा जमानत नमागी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएको सर्वोच्चले जनाएको छ । त्यसकारण वैशाख ११ गते र वैशाख २१ गते काठमाडौं जिल्ला अदालतबाट गोल्छालाई हिरासतमा राख्न लिइएको म्याद अनुमति समेत सर्वोच्चले  खारेज गरेको छ ।
गोल्छालाई गत वैशाख ११ गते पक्राउ गरिएको थियो । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै गोल्छालाई  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्