मुस्कान श्रेष्ठ, वीरगञ्ज, २४ साउन । कुनै बेला चिनी निर्यात गर्ने नेपाल केही वर्षयता आयात गर्ने अवस्थामा पुगेको छ । सरकारको कमजोर नीतिका कारण उखु उत्पादनमा ह्रास आउँदै गएको छ । चिनीका लागि आवश्यक कच्चा पदार्थ उखु उत्पादन गर्ने किसान मिललाई उखु दिएपछि समयमा भुक्तानी नपाउने समस्याबाट आजित छन् ।
यस्तै सरकारले समयमा मूल्य नतोकिदिने, समयमा बीउ र मल नपाउने समस्याका कारण अहिले उखु खेती गर्ने किसानको संख्या घट्दै गएको छ । खाद्य तथा कृषि संगठनका अनुसार उखु उत्पादनमा नेपाल विश्वमा ४१ औं स्थानमा छ भने सार्क राष्ट्रहरूमा तेश्रो स्थानमा छ । पहिलो स्थानमा भारत र दोश्रोमा पाकिस्तान छ । गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअुनसार ५५ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा २७ लाख ६० हजार ४ सय ९५ मेट्रिक टन उखु उत्पादन भएको थियो ।
नेपालमा मधेश प्रदेशमा मात्रै ६०.६६ प्रतिशत उखु उत्पादन हुन्छ । आधुनिक प्रविधिको प्रयो गले कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा विश्व रहँदा नेपाल भने अझै पनि मल, खाद्य, बीउको विषयमा अड्कीरहेको छ । किसानको समस्या बुझ्न र समाधानका लागि भन्दै भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय मधेश प्रदेशले वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा किसानहरूले बीउ नपाउने , मल नपाउने र उखु उत्पादन भएपछि भाउ नपाउने, बिक्री भएको उखुको भुक्तानी नपाएको गुनासो पोखेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका कृषिमन्त्री जनार्धन सिंह क्षेत्रीले कृषि क्षेत्रको विकासका लागि अत्याधुनिक औजारको आवश्यकता रहेको बताए । उनले समयमा किसानहरूलाई आवश्यक पर्ने बीउ पुर्याउन नसकेको स्वीकार गर्दै समस्याको समाधान चाँडै गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले खडेरीका सिँचाइमा भएको समस्या समाधानका लागि मधेश प्रदेशमा ५ सय डीप बोरिङ गर्ने सरकारको योजना दीर्घकालीन समाधान नभएको बताए । कार्यक्रममा विभिन्न जिल्लाबाट आएका उखु किसानहरूले कृषि ज्ञान केन्द्रमा आउने बीउहरू वास्तविक कृषकहरूले नपाएको र राज्यबाट पाउने अनुदानमा भ्रष्टाचार हुने गरेको आरोप लगाए । उनीहरूले किसान कार्डको व्यवस्था गरी किसानहरूको छुट्टै पहिचान हुने आधारित कार्डको व्यवस्था गर्नुपर्ने भन्दै समयमा बीउको व्यवस्था नगरेको सरकारले किसानहरूलाई भारतबाट बीउ ल्याउन सक्ने व्यवस्था गर्नुपर्ने बताए ।
अहिले कृषिकहरूले भारतबाट नै उन्नत जातको बीउ ल्याएर उखु खेती गरिरहेका छन् । बीउको आयु ४-५ वर्ष मात्रै हुने भए पनि नेपालमा २५ वर्षअगाडिको बीउ उपलब्ध हुने गरेको किसानहरू बताउँछन् । यसले खाद्यको गुणस्तर घटाउने भन्दै कि त सरकारले राम्रो बीउ देऊ होइन भने किसानहरूलाई आफै ल्याउने व्यवस्था गर भन्दै माग राखेका छन् ।
उखु किसान संघ सर्लाहीबाट प्राप्त तथ्यांकअुनसार आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशमा ७ वटा चिनी मिल उद्योगले १ करोड २१ लाख ८५ हजार ३ सय ९१ क्वीन्टल उखु पेलेकोमा १० लाख ८० हजार ९ सय ८३ क्वीन्टल चिनी उत्पादन गरेका थिए । अहिले बजारमा ९० रुपैयाँ प्रतिकिलो चिनी बिक्री भइरहेको छ । जबकि, छिमेकी मुलुक भारतको रक्सौलमा चिनीको मूल्य ६० रुपैयाँ पर्छ ।
नेपालभन्दा भारतमा चिनीको मूल्य सस्तो भएको कारण उपभोक्ताहरू भारतीय बजारबाट चिनी ल्याएर उपभोग गर्ने गरेका छन् । किसानलाई उपयुक्त अनुदान दिई चिनीको भाउ कम गर्न सक्ने हो भने भारतबाट चिनी आउन बन्द हुने र उखु खेतीमा किसानको आकर्षण बढ्दै जाने सरोकारवालाहरूको भनाइ छ ।