नेभिगेशन
उपत्यका

नागार्जुन अपार्टमेन्टबासीका गुनासै–गुनासा

गोंगबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्ट पु¥याइएको छ । ४० परिवारको ९३ जना राखिएको सो अपार्टमेन्टमा आधारभूत सुविधासमेतको पूर्वव्यवस्था  नगरी सारिएको उनीहरूको गुनासो छ । शुक्रबार साँझदेखि यहाँ उनीहरूको बसोबास सुरु भए पनि कसले ल्यायो भन्नेसम्म जानकारी नरहेकाले उनीहरूको गुनासै–गुनासो छ । दैनिक प्रयोग गर्नका लागि र खानेपानीको समेत व्यवस्था नभएपछि उनीहरू केहीबेर आक्रोशित समेत भए । सडकमै निस्केर उचित व्यवसायको माग गरेका उनीहरूले पछि दैनिक प्रयोगका लागि पानीको व्यवस्था गरिएको छ भने खानेपानीको व्यवस्था स्थानीय, प्रहरी र सरोकारवालाले प्रयास गर्दै गरेको देखिन्छ ।
मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहालका अनुसार सरकारले नगरेको होइन गरेको हो, तर व्यवस्थित भने नदेखिएको बताउँछन् । उनीहरूसँग समन्वयन गर्न आधिकारिक व्यक्तिसमेत नरहेकाले अन्योल देखिएको छ । यहाँ कति दिन राख्ने हो, व्यवस्थापन कसरी गर्ने हो, खानाको व्यवस्था के हुने हो उनीहरूले बुझ्न चाहेका छन् ।
अधिकांश परिवारमा दीर्घरोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनुपर्ने माग राखेका छन् ।
दुवै मिर्गौला फेल भएकी मुना खनाल, हप्तामा दुईपटक डायलासिसका लागि वीर अस्पताल जानुपर्ने, विपन्न त्यसमाथि पनि विस्थापित हुन परेको मुनासँग ट्याक्सी चढेर अस्पताल जाने अवस्थासमेत छैन । अहिलेसम्म एम्बुलेन्सको व्यवस्था भए पनि भोलि के हुने हो, उनी चिन्तित देखिन्छिन् ।
खोला किनारमा आफ्नै भने पनि सानो घर रहेको उनीहरूको अहिले आफ्नो भन्ने केही नरहेको बताउँछन् । सरकारले जसरी उठिबास लगायो त्यसरी नै व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । उनीहरू आफ्नै नाममा सानो जमिनको माग राख्दै, उचित छानबिन र राम्रो व्यवस्थापन चाहन्छन् ।

तस्बिरः सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्