नेभिगेशन
उपत्यका

सर्वोच्चद्वारा प्रसाईं पक्राउको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंंलाई पक्राउ गर्नुको कारण माग गरेको छ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न बुधबार आदेश  दिएको हो ।
वीरगञ्जबाट पक्राउ गरिएका प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनको गिरफ्तारी गैरन्यायिक भन्दै अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा यस्तो आदेश भएको हो । 
‘आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’ आदेशमा भनिएको छ । प्रसाईं सरकारको आलोचकका रुपमा देखिएका छन् । उनका अभिव्यक्ति सामाजिक मर्यादा विपरीत रहेको भनदै आलोचना हुँदै आएको छ । अभिव्यक्तिकै कारण उनी पटक–पटक पक्राउ पर्दै र अदालतको आदेशपछि छुट्दै आएका छन् । 
यसपटक उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) र राज्यविरुद्ध कसुरमा म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार प्रहरीले प्रसाईंंलाई ३ दिन हिरासतमा राख्ने अनुमति पाएको छ । ‘सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने र नेपाल सरकार वा सरकारका काम कारबाहीको सम्बन्धमा कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाएर सरकारप्रति घृणा, द्वेष वा अवहेलना गरी अमर्यादित तथा अस्वस्थ आलोचनात्मक अभिव्यक्तिहरू दिएका थिए,’ प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्