नेभिगेशन
उपत्यका

वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने धादिङका ३७ वर्षीय शरण थापा, कामपा–३२ बस्ने मोरङका ३७ वर्षीय विष्णु सिलवाल, झापा बिर्तामोड–१० का ४५ वर्षीय उत्तम गुरूङ, सुनसरीका २९ वर्षीया प्रियंकाकुमारी चौधरी र ३१ वर्षीय अर्जुन कुमार चौधरी छन् ।
प्रहरीका अनुसार पक्राउ गरिएकामध्ये शरणले सिंगापुर पठाइदिन्छु भन्दै ४३ जनाबाट ५ करोड १ लाख १२ हजार रूपैयाँ ठगी गरेको उजुरी परेको थियो । विष्णुले मकाउ पठाइदिन्छु भन्दै दुई जनाबाट ११ लाख, उत्तमले स्पेन पठाइदिन्छु भन्दै एक जनाबाट ४२ लाख,  प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जनाबाट ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जनाबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी थियो । त्यसका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शरणलाई कामपा–१० बाट, विष्णुलाई  गोकर्णेश्वर–८, उत्तमलाई कामपा–६, प्रियंकालाई कामपा–११ र अर्जुनलाई कामपा–१० बाट पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले ताहाचलस्थित वैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्