नेभिगेशन
उपत्यका

लुटेरा जब पूर्वप्रहरी भएको खुल्यो

काठमाडौं । ‘३ वर्षअगाडि ठ्याक्कै आजकै दिन म जस्तै देखिने निर्दोष मान्छे अर्कै मान्छे भनेर समातियो भन्ने समाचार थियो । आज फेरि जडीबुटीमा एकजना गणेश कार्कीलाई गोली हानेर समातिएछ, मलाई मेन्सनको बाढी लागिराछ । अचम्मको संयोग ।’
शनिबार राति सामाजिक सञ्जालमा मोरङका रास्वपा सांसद गणेश कार्कीले लेखे । कारण थियो, काठमाडौंको जडीबुटीमा प्रहरीको गोली लागेर पक्राउ परेका व्यक्ति र उनको नामथर एउटै हुनु । नामथर मिलेकाले यो संयोग उनका लागि हैरानीको विषय थियो भने प्रहरीका लागि छुट्टै अनुसन्धानको विषय ।
सामाजिक सञ्जालमा संयोगबारे चर्चा चलिरहँदा काठमाडौं प्रहरी भने अर्कै गणेश कार्कीको अपराध कथाको पाना पल्टाइरहेको थियो । त्यो कथा कुनै सामान्य लुटेराको थिएन । कुनै समय आफैं प्रहरीको पोसाक लगाएका, पछि हत्या, डाँका, चोरी र लुटपाटका अनेक अभियोगमा जेल पुगेका, कारागारबाट फरार भएका र अन्ततः प्रहरीकै गोली खाएर पक्राउ परेका गणेश कार्कीको ।
शनिबार दिउँसो काठमाडौंको सुकेधारामा एक महिला बाटो हिँड्दै थिइन् । अचानक उनको आँखामा कसैले खुर्सानीको धुलो छर्कियो । पिरोले आँखा माड्दै गर्दा दुई जनाले उनको गलाबाट सुनको सिक्री र मोबाइल लुटेर फरार भए । केही बेरपछि मात्रै उनले आफू योजनाबद्ध रूपमा लुटिएको थाहा पाइन् ।
घटनाको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धानमा जुट्यो । सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण र सूचनाको आधारमा प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान ग¥यो । अनुसन्धानको सुई पुग्यो, बुढानीलकण्ठ–३ चपली भद्रकालीका ४० वर्षीय गणेश कार्कीतर्फ ।
प्रहरीले घटनामा संलग्न अर्का व्यक्ति इलाम घर भई विभिन्न धर्मशालामा बस्दै आएका ३१ वर्षीय विष्णु गुरुङलाई पहिले नियन्त्रणमा लियो । त्यसपछि कार्कीको खोजी तीव्र बनाइयो ।
दिउँसो भएको लुटपाटको करिब आठ घण्टापछि प्रहरी टोलीले जडीबुटीस्थित मनोहरा खोला करिडोरमा कार्कीलाई फेला पा¥यो । तर पक्राउ सजिलो भएन । प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्नेबित्तिकै उनले प्रहरी कर्मचारीकै आँखामा खुर्सानीको धुलो छर्किए । त्यसपछि साथमा रहेको खुकुरी निकालेर आक्रमणको प्रयास गरे ।
स्थिति जटिल बन्दै गएपछि प्रहरीले एक राउन्ड गोली प्रहार ग¥यो । गोली उनको बायाँ खुट्टामा लाग्यो र घाइते भएपछि उनलाई नियन्त्रणमा लिइयो । त्यसपछि मात्रै प्रहरीले थाहा पायो, सुकेधाराको लुटपाटमा पक्राउ परेको व्यक्ति कुनै नयाँ अपराधी होइन, वर्षौंदेखि प्रहरीको फाइलमा चिनिएको नाम हो ।
गणेश कार्की २०६१ सालमा नेपाल प्रहरीमा जवान पदमा भर्ना भएका थिए । देश र समाजको सेवा गर्ने सपनासहित प्रहरी बनेका कार्कीले करिब दुई वर्षपछि जागिर छाडे । त्यसपछि भने उनको जीवनले अर्कै मोड लियो ।
२०६४ सालमै उनी अभद्र व्यवहारको मुद्दामा पक्राउ परे । त्यसको केही समयपछि हातहतियार तथा खरखजनाको मुद्दामा मुछिए । २०६८ सालमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि उनको जीवनको सबैभन्दा ठूलो मोड आयो । हत्या अभियोगमा दोषी ठहर भएका उनले लामो जेल जीवन बिताए ।
झण्डै एक दशकपछि संविधान दिवसको अवसरमा कैद मिनाहा पाएर जेलबाट छुटेका कार्की फेरि पुरानै बाटोमा फर्किए । चोरी, डाँका चोरी र लुटपाटका घटनामा उनी पुनः पक्राउ परे । अन्ततः अदालतले उनलाई डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय सुनायो ।
तर जेलको पर्खालले पनि उनलाई लामो समय रोक्न सकेन । गत भदौ २४ मा जेनजी आन्दोलनको मौका पारेर केन्द्रीय कारागारबाट फरार भए । त्यसपछि सुरु भयो फरार अपराधीको अर्को अध्याय ।
प्रहरी अभिलेखअनुसार फरार भएपछि उनले कपनमा प्रहरीमाथि नै खुर्सानीको धुलो छर्केर भागे । गौशालामा पसल लुटे । विदेश जान लागेका व्यक्तिलाई निसाना बनाए । तिलगंगामा आफूलाई प्रहरी भनेर चिनाउँदै नगद र लागुऔषध लुटे । पशुपति, जोरपाटी, एयरपोर्ट आसपास र अन्य क्षेत्रमा पनि यस्तै शैलीमा अपराध गरिरहे ।
उनको एउटा विशेषता भने लगभग सबै घटनामा दोहोरियो, खुर्सानीको धुलो । प्रहरी अधिकारीहरूका अनुसार कार्की प्रायः गोजीमा खुर्सानीको धुलो बोकेर हिँड्थे । पक्राउ पर्ने खतरा देखियो भने प्रहरीमाथि छर्किने, लुटपाट गर्नुप¥यो भने पीडितको आँखामा हाल्ने । सुकेधारामा महिलामाथि भएको लुटपाटदेखि जडीबुटीमा पक्राउ पर्दासम्म पनि उनको साथबाट खुर्सानीको धुलो बरामद भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्