नेभिगेशन
अर्थतन्त्र

पर्यटक आगमनमा १९ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको आगमन १९ प्रतिशत वृद्धि भएको छ । नेपाल भ्रमणमा मे महिनामा आउने विदेशी पर्यटकको संख्या उल्लेखनियरूपमा बढेको हो । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा हवाई मार्गबाट मात्रै १ लाख २ हजार ६२६ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या गत वर्षको यही अवधिको तुलनामा १९ प्रतिशत बढी हो ।
सन् २०२५ को मे महिनामा नेपालमा ८६ हजार २१६ जना विदेशी पर्यटक आएका थिए । त्यसको तुलनामा यस वर्ष १६ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । बपर्यटन बोर्डका अनुसार यो पर्यटक आगमन संख्या कोभिड–१९ महामारीअघि अर्थात् सन् २०१९ को मे महिनाको तुलनामा ३१ प्रतिशतले बढी हो । सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनप्रति आकर्षण बढ्दै गएको देखिएको छ । हिमाल, पदयात्रा, साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदाप्रतिको चासोका कारण विभिन्न मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या निरन्तर बढिरहेको छ ।

भारतबाट आउने धेरै 
मे महिनामा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये भारतबाट सबैभन्दा ठूलो संख्यामा पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो महिना भारतबाट मात्रै ४० हजार ७८२ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमन संख्याको ३९.७४ प्रतिशत हो ।
यस्तै, दोस्रो नम्बरमा उत्तरको छिमेकी चीनबाट आउने पर्यटन छन् । चीनबाट ११ हजार ५१४ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ११.२२ प्रतिशत हो । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट ९ हजार १ जना (८.७७ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, बंगलादेशबाट ५ हजार २९८ जना (५.१६ प्रतिशत) र बेलायतबाट ३ हजार ३७५ जना (३.२९ प्रतिशत) पर्यटक नेपाल आएका छन् । यी पाँच देशले मात्रै कुल विदेशी पर्यटक आगमनको ठूलो हिस्सा ओगटेको पर्यटन बोर्डले जनाएको छ ।

दक्षिण एसियाबाट झन्डै आधा
क्षेत्रगत आधारमा हेर्दा नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूबाट आएको छ । मे महिनामा कुल पर्यटक आगमनमध्ये ४७.२ प्रतिशत पर्यटक सार्क राष्ट्रबाट आएका छन् । त्यसपछि अन्य एसियाली मुलुकहरूको हिस्सा १९.९ प्रतिशत रहेको छ । युरोपबाट १३.१ प्रतिशत, अमेरिका महादेशबाट १०.३ प्रतिशत, तथा अन्य क्षेत्रबाट ४.५ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै, ओसिनिया क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।
पर्यटन व्यवसायीहरूले पछिल्लो तथ्यांकलाई नेपालको पर्यटन क्षेत्रका लागि उत्साहजनक संकेतका रूपमा लिएका छन् । महामारीपछिको पुनरुत्थान चरण पार गर्दै नेपालले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको उनीहरूको भनाइ छ । पर्यटन बोर्डले पनि मे महिनाको आगमन तथ्यांकले नेपालप्रति अन्तर्राष्ट्रिय यात्रुहरूको विश्वास बढ्दै गएको संकेत गरेको जनाएको छ । बोर्डका अनुसार प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, सांस्कृतिक सम्पदा तथा साहसिक गतिविधिहरूले नेपाललाई विश्व पर्यटन बजारमा थप आकर्षक बनाइरहेका छन् ।
बढ्दो पर्यटक आगमनले होटल, ट्रेकिङ, हवाई सेवा, यातायात, हस्तकला तथा पर्यटनसँग जोडिएका अन्य क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । पर्यटन बोर्डले आगामी महिनाहरूमा पनि यस्तै वृद्धि कायम रहने विश्वास व्यक्त गर्दै नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा विश्व बजारमा स्थापित गर्ने अभियानलाई थप तीव्र बनाइने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्