नेभिगेशन
उपत्यका

काठमाडौंलाई ‘मानवीयताको सहर’ बनाउने संकल्प

काठमाडौं । खोला किनारका सुकुम्वासी र भूमिहीनलाई डोजर लगाएर उठाइएपछि काठमाडौं महानगरपालिकाले महानगरलाई सहृदयी, समावेशी ‘मानवीयताको सहर’को रूपमा विकास गर्ने संकल्प नीति तथा कार्यक्रममार्फत अघि सारेको छ । महानगरपालिकाले कमजोर आर्थिक अवस्था भएका र सडकपेटीमा व्यवसाय गरेर गुजारा चलाउनेमाथि निर्मम बनेको भन्दै आलोचना हुँदै आएको छ । 
महानगपालिकाले अब आफूमाथि लागेको अमानवीयताको आरोप चिर्नेगरी आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रमम मानवीयताको शहर बनाउने कार्यक्रम समावेश गरेको छ । 
कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सामाजिक न्याय, नागरिक संवेदना र पर्यावरणमैत्री कल्याणकारी अभ्यासलाई प्राथमिकतामा राखेको छ । महानगरले ‘मानवीयताको सहरः काठमाडौं’ भन्ने मार्गनिर्देशक सन्देश कार्यान्वयनका लागि महानगरवासी र यहाँ आश्रय लिने सम्पूर्ण प्राणीको हित रक्षा गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
नीति तथा कार्यक्रममा ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’ अन्तर्गत महानगर क्षेत्रभित्र बस्ने वृद्धवृद्धा र अशक्त नागरिकहरूलाई घरदैलोमा परामर्श तथा औषधोपचार सुविधा उपलब्ध गराइने तयारी छ । ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका अशक्त नगरवासीहरूलाई पोषक आहारको सुरक्षाका लागि नियमित पोषण भत्ता उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा  उल्लेख छ ।
त्यस्तै, महानगरभित्रका टोल, विद्यालय, समुदाय र पार्कहरूमा पक्षीमैत्री अभ्यास सञ्चालन गरिने, चराचुरुंगीलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौंको संख्यामा ‘पानी पात्र’ हरू स्थापना गरिने जनाइएको छ । सडकका कुकुर र बाँदर नियन्त्रण गर्दा निर्दयी नबनी पशु कल्याणका सिद्धान्तअनुसार मानवीय र वैज्ञानिक उपाय अवलम्बन गरिने विषय पनि नीति तथा कार्यक्रममा छ ।
कार्यवाहक प्रमुख डंगोलले राष्ट्रिय सभागृहमा जारी १९ औं नगरसभामा पेस गरेको ११ क्षेत्रका १०१ बुँदाको नीति तथा कार्यक्रम संशोधनसहित  सर्वसम्मतिले पारित भएको छ । ध्वनि मतका साथ पारित भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्