नेपाली कांग्रेसको १५औं अधिवेशन चल्दै छ अहिले, २०८३ सालमा । र, यस पार्टीका सर्वोच्च नेता छन्, ५० वर्षे युवा गगन थापा । उनलाई देश, विदेशको नेपाली युवाले चासो र आशाले हेरिरहेको छ ।
यसबेला बिपी कोइरालाको देश समुन्नत बनाउने र उन्नत प्रजातन्त्र फुलाउने सपना, त्याग र कार्यक्रम भएको यस नेपाली कांग्रेस पार्टीलाई र देशलाई विक्रम संवत् २००० वरपरदेखि हेर्न, सम्झेर ल्याउन मन लागेको छ । त्यो बेलाबाट नेपाल आज ८३ वर्षपछि आइपुगेको छ । यस बीचमा के के भयो र अहिले देश कसका र कस्ता प्रवृत्तिका हातमा छ भन्ने कुरा स्वीकार्नु पर्दा विरक्तले घर र मन दुवै खान्छ ।
नेपाली कांग्रेसको जन्म, इतिहास र नेपाल देशको प्रजातन्त्र र जनाधिकारका लागि उसले सोचेका कुरा, गरेका प्रण, योजना र महŒवकांक्षा सम्झेर ल्याउँदा महान् बिपी कोइरालालाई सम्झिन नथाली हुँदै हुँदैन र एक किसिमले मन द्रविभूत भएर आउँछ ।
स्वाभाविक रुपले तल बगेर जाने पानीमा कोशी, गण्डकी सम्झौता नगरेर के फाइदाको काम गर्न सकिन्छ देशका लागि भन्ने अहम् प्रश्नमा खेलेका थिए बीपी र अघि बढेका थिए । त्यसमा मातृकाप्रसाद कोइरालाको नाम पनि आउँछ । ती राजनीतिमा कामका मान्छे थिएनन् । क्षमता बेगरका लिंडे महŒवाकांक्षा र आरिसे चित्तका मानिस थिए मातृका । आफ्नै ठुल्दाजु भएर पनि बीपीलाई पार्टी र सरकारमा गर्नुसम्मको कपट मात्र गरे । कोखाको दाह्रो बनेर खेले मात्र ।
विदेशनीति र कूटनीतिको प्रोटोकलमा बिपी निकै सचेत थिए र छिमेकको शक्तिशाली, धनी हिन्दुस्तानको भूमिका र प्रभावलाई कसरी ठेगानमा र फाइदामा राख्न सकिन्छ भनेर बीपीले जस्तो मनन् र अडान सबै राजनीतिज्ञको वशको बात थिएन ।
बीपी कोइराला प्रशासन, सुशासन, भूमिसुधार, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति, आन्तरिक मामिलाका दाउपेचका खेल सबैथोकमा शान्त भएर उत्कृष्ट निर्णय र तर्क गर्थे । राणा, राजा, आफ्नै ठुल्दाजु र पार्टीका नेताहरू, हिन्दुस्तान सबको चेपुवा र खोचेबाट कहिले सुबिस्ताको सास फेर्न नपाएका बीपीले हुनुसम्मको भुक्तमान, धोकाधडी, गरिबी, असहयोग, आपतकाल, दुरुह स्वास्थ्य समस्या मात्र भोग्नुप¥यो । उनलाई राणाले थुने, ब्रिटिश भारतले थुन्यो । आफैंले दिलोज्यान दिएर ल्याएको प्रजातन्त्र मासेर राजा महेन्द्रले थुने । तर बीपी कहिल्यै हार मान्ने र निराशा पोख्ने मान्छे थिएनन् । उनका विरोधीले पनि देशका लागि देखाउन लायकको एक मात्र नेता भन्थे उनलाई ।
बीपी कोइराला असाधारण राजनीतिज्ञ थिए भन्ने लाग्छ मलाई । नेपालका कम्युनिस्टहरू बनारसमा टुसाउन थाल्दा बीपीको राजनीतिक सम्बन्ध, प्रभाव र पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा निकै उचालिइसकेको थियो । नेपालमा दर्बिलो प्रजातन्त्र, सुशासन, शान्ति व्यवस्था, भूमिसुधार र उद्योगधन्दा गरेर छिटो विकास र प्रगतिमा लैजाने र त्यसको प्रतिफल न्यायिक ढंगले समाजमा स्थापित गर्ने समाजवादी कार्यक्रम थियो बीपीको । त्यो बेलाको राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा यो नारा र कार्यक्रम ठीक थियो । अहिले भएको भए बीपीले व्यवस्थित ढंगले त्यसमा पुनःविचार गर्दा हुन् ।
राणा ढल्ने बित्तिकैको गृहमन्त्री, त्यसपछिको संसदीय चुनावमा ७० वर्ष पहिलेको युगमा अपार भोटले जननिर्वाचित शक्तिशाली प्रधानमन्त्रीको रुपमा परिपक्व र दार्शनिक सोच भएका बीपी कोइरालालाई पाउनु नेपाल र नेपालीका लागि एक सुनौलो र सुन्दर अवसर थियो । तर जनताको होइन पुर्खाले आज्र्याको आफ्नो मुलुक ठान्ने शाहीहरूले जनताको देश जनताको जिम्मा दिएनन् र दुर्भाग्य सुरु भयो । त्यसको परिणाम आजपर्यन्त देशले लिक समातेको छैन । बीपीजस्तो त्याग, क्षमता, परिपक्वता, संघर्ष, दर्शन, दृष्टिकोण, आँट र सम्बन्ध भएका व्यक्तिले बनाउन सुरु गरेको देश आज कहाँबाट कहाँ आइपुगेर उरन्ठेउला चटकेहरूका हातमा देशको बागडोर छ अहिले ! देशलाई खरानीको थुप्रोमा पु¥याउने र त्यसबाट उरन्ठेउला भष्मासुर जन्माउने पनि यिनै कांग्रेस र कम्युनिस्ट हुन् ।
बीपीपछि धेरैथोक गुमाएको र दिशाहीन भएको कांग्रेस भए पनि जनताले पत्याइरहे, त्यसका नेताले, तिनका श्रीमतीले, तिनका दाजुभाइ र छोराछोरीले मनोमानी गरिरहे ।
यस्तो बेला गगन आएका छन् । युवा हुनु र कानै चर्किने, दिमाग नै रन्किने चर्को फुटानीमय फासफुसे भाषण गर्नुबाहेक उनको पनि खासै क्षमता प्रमाणित हुन बाँकी नै छ । तर कांग्रेस छ र जनताले यसलाई मज्जाले साथ दिनेछन् नेतृत्व र कार्यक्रम सही भएको खण्डमा ।
बीपी कोइरालाले दिलोज्यान दिएको नेपाली कांग्रेस ८० वर्ष पार गर्दा पनि देश बनाउने बीपीका सपना थाँति नै छन् । यस १५ औँ महाधिवेशनमा नेपाली कांग्रेसका लागि केही शुभचिन्ता बोल्न मन छ ।
सर्वप्रथम, गगनले कम बोलून् । चर्को र नपुग्ने भाषण गरेर तालीबाली उठाउन मात्र नलागून् । काम गर्न कानुन, विधान र रीतको मात्र सहारा लिऊन् । उनका काम गराइ, भेटघाट, सम्बन्ध, उपलब्धि जनताका लागि पारदर्शी हुन् । बीपी कोइरालाजस्तो देश दौडाहालाई महŒव दिऊन् । पार्टीको संगठन निर्माणमा ऊर्जा लगाऊन् । निराशाले छाएको राष्ट्रिय धुम्म बादल हटाउन युवाको आशा बनून् । देश र पार्टीका हरेक जटिल मामिलामा विज्ञ र सामूहिक निर्णय गरून् । व्यावसायिक क्षमता र योग्यताबिना नाता र सम्बन्धले मात्र कसैले कुनै मौका र फाइदा लिन नपाओस् कांग्रेसमा, उसको राजकाजमा । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र निर्माणमा लागून् । विदेशमा बस्ने शुभचिन्तक र साथीहरूको राय सुझावलाई महŒव दिऊन् । देश र समाजलाई सुझबुझपूर्ण विचार र कार्यक्रमका लिपिबद्ध मार्गमा लैजाऊन् । मिडिया खपतका लागि स्टन्ट र भाइरल बात पटक्कै नगरून् । डिजिटल प्रविधिको भरपूर र स्वास्थ्य प्रयोग गरेर पार्टीको कुरा जनतामा लैजाऊन् । राजनीतिमा लाग्नु भनेको जीवन्त भाग खोज्न, शक्तिमा बस्न र अवकास नहुन होइन, कमाउन, ऐस गर्न होइन, देश र जनताको सेवा गर्न हो भन्ने भावनाको स्कुलिङ तलैबाट सुरु गरून् । राजनीतिमा लागेर जसले कमाउने, मस्ती गर्ने चरित्र, लक्षण र बुझाइ देखाउँछ कोही भने त्यस्ता कार्यकर्तालाई व्यवसाय, इलम, जागिर खान प्रेरित गरेर बेलैमा राजनीतिबाट बिदा दिऊन् ।
देशलाई औद्योगिक पहिचानमा लैजान, निर्यात बढाउन, कृषि र पर्यटनको उच्चतम उपयोग गर्न र भूमिहीन, उपायहीन र गरिबका लागि प्राथमिक कार्यक्रम बनाऊन् । अध्यागमन र परराष्ट्र सम्बन्धमा कडा अनुशासन कायम गर्ने नीति देखून् । र, समयको पदचापले पछाडि छोडिसकेका र पुरानो नेतृत्व खुस्किएपछि बिचल्ली परेका ठुल्दाजुहरू, भाग खोजिरहेका, खोचे थापिरहेका माल्दाजुहरू र दुवैतिर खेलिरहेका साँल्दाजुहरूलाई अब गगनले पार्टीमा नल्याऊन्, कुनै कसरतमा पनि । यिनका क्षमता, दाउपेज, मनोमानी सबैथोकको फाइदा, बेफाइदा देशले भोगिसक्यो । अब यी पूर्वमन्त्री र सांसदको हुलबिनै पार्टी र सरकार चलाउन नयाँ पुस्ता सक्षम हुनुपर्छ । नभए पनि हुन्छ । भोलि तिनले खोजेका भाग र तेस्र्याएका तगाराको व्यवस्थापन गर्दागर्दै गगनले मैले भनेका माथिका राम्रा काम गर्न सक्दै सक्दैनन् ।
केही वर्षको अलमल मात्र हो, जनताले विपीको नेतृत्व र कार्यक्रमको अधूरो सपना भएको कांग्रेसलाई काँधमा बोक्ने नै छन् । फगत गगनले त्यो त्यो तृष्णा, भरोसा, आशा र आजको डिजिटल युवापुस्ता सुहाउँदो व्यक्तित्व र नेतृत्वको मियो बन्न सक्ने चरित्र र व्यवहार देखाउनुपर्छ । प्रयास गरे भने, धेर हौसेनन् भने गगन थापाले त्यो गर्न सक्ने जमीन र अवसर पाएका छन् । जनता तयार छन् ।
गगन थापालाई १५ औं महाधिवेशनको शुभकाना ।
(क्यानाडा निवासी घिमिरे सामाजिक, राजनीतिक र साहित्यिक क्षेत्रमा कलम चलाउँछन् ।)