नेभिगेशन
दृष्टिकोण
पुस्तकालय

किन चाहियो पुस्तकालय ?

नेपालमा पछिल्ला दुई–तीन महिनादेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा पुस्तकालयको महŒव, उपादेयता र सरकारको उदासीनताका विषयमा खरो रूपमा चर्चा र बहस भइरहेको पाइन्छ ।
गत भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस परेकाले पनि पुस्तकालयका बारेमा लेख्नु स्वाभाविक भयो । यसै सन्दर्भमा केही महŒवपूर्ण घटनाहरू उल्लेख गर्न आवश्यक छ ।
११४ दिनदेखि बन्द रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय पुनः सञ्चालन गर्न सरकार बाध्य भयो ।
२०४६ सालको जनआन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको, २००३ सालमा स्थापित शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै भवनमा पुनः सञ्चालनमा ल्याएर उदाहरणीय काम गरेको छ ।
कास्कीमा रहेको पोखरा सार्वजनिक पुस्तकालयको स्तरोन्नतिसँगै स्थायी स्थान, कर्मचारी र बजेटको समेत व्यवस्था गरेर पोखरा महानगरपालिकाले सार्वजनिक पुस्तकालयप्रतिको आफ्नो प्रतिबद्धता देखाएको छ ।
हालसालै काठमाडौं महानगरपालिकाले पनि खिचापोखरीस्थित आफ्नै भवनमा नगर पुस्तकालय अर्थात् सिटी पुस्तकालय सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
भक्तपुर नगरपालिकाले लामो समयदेखि नगर पुस्तकालय सञ्चालन गर्दै आएको छ ।
सार्वजनिक पुस्तकालयसम्बन्धी ऐन तथा नियमावली निर्माणको काम माथिल्लो सदनमा अघि बढिरहेको छ ।
यस लेखमा विशेषगरी बालबालिकादेखि वृद्धवृद्धासम्म, धनीदेखि गरिबसम्म, अझ भनौँ सीमान्तकृत समुदायदेखि सबै वर्ग र समुदायका मानिसका लागि साझा थलोका रूपमा रहेका सार्वजनिक तथा सामुदायिक पुस्तकालयको चर्चा गरिएको छ ।
आज संसार कृत्रिम बुद्धिमत्ता (एआई)को युगमा प्रवेश गरिसकेको छ । हातहातमा मोबाइल छ । एउटा क्लिकमै आफूले खोजेको सूचना, सामग्री वा जानकारी मोबाइलको पर्दामा आइपुग्छ । यस्तो अवस्थामा छापिएका पुस्तक र पत्रपत्रिका पढ्न कसलाई फुर्सद छ ? त्यसैले एउटा प्रश्न उठ्छ—के अब पुस्तकालय आवश्यक छैन त ?
यो प्रश्न नेपालमा मात्र होइन, विश्वभरि नै उठिरहेको छ ।
यसको छोटो उत्तर यस्तो हुन सक्छ— आजको पुस्तकालय छापिएका पुस्तक राख्ने र पढ्ने ठाउँमा मात्र सीमित छैन । सूचना प्रविधिको तीव्र विकाससँगै पुस्तकालय ज्ञान, सूचना, प्रविधि, सीप सिकाइ, विद्वत् व्यक्तिहरूसँगको संवाद तथा समुदायका अनुभव आदानप्रदान गर्ने केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।
विशेषगरी एआईको विकासले पुस्तकालयका सेवाहरूलाई अझ पहुँचयोग्य, खोजयोग्य र अन्तरक्रियात्मक बनाउन नयाँ सम्भावनाहरू सिर्जना गरेको छ । पुस्तकालयका कर्मचारीहरूले पनि नयाँ प्रविधिको प्रयोगमार्फत पाठकलाई आवश्यक सूचना छिटो खोज्न, विभिन्न स्रोतबीच सम्बन्ध स्थापित गर्न तथा डिजिटल सामग्रीको उपयोग गर्न सहयोग गर्न सक्छन् ।
यसबाट के बुझिन्छ भने एआईले पुस्तकालयलाई विस्थापित गर्ने होइन कि बरु पुस्तक, मानिस, स्थानीय अनुभव र डिजिटल सामग्रीलाई एकै ठाउँमा जोडेर ज्ञानलाई सुरक्षित, भरपर्दो, खोजयोग्य र उपयोगी बनाउन सहयोग गर्ने हो ।
त्यसैले प्रविधिको विकाससँगै पुस्तकालयको आवश्यकता सकिएको छैन, पुस्तकालयको स्वरूप, सेवा र भूमिका भने परिवर्तन हुँदै गएको छ । आजको पुस्तकालय किताब पढ्ने ठाउँ मात्र होइन, बरु यो त ज्ञान, सूचना, प्रविधि, सिकाइ, संवाद र समुदाय निर्माणको साझा थलो हो ।
एआईको युगमा पुस्तकालय झन् मानिसको जीवनमा नभई नहुने संस्थाका रूपमा रहेको छ ।
केही भनाइहरू
सिंगापुर यसको पछिल्लो उदाहरण हो । त्यहाँको नेशनल लाइब्रेरी बोर्ड (एनएलबी) ले २०२६ सेप्टेम्बरमा पाँच वर्षे ‘रिड सिंगापुर’ राष्ट्रिय अभियान सुरु गरेको छ । यस अभियानले मानिसलाई दैनिक कम्तीमा १५ मिनेट पुस्तक पढ्ने बानी बसाल्न प्रोत्साहित गर्छ । सहभागीले आफ्नो पढाइ रेकर्ड गरेबापत भर्चुअल सिक्का (क्वाइन) पनि प्राप्त गर्छन् । अभियानको मूल उद्देश्य पैसा कमाउनु होइन, नियमित पढाइलाई जीवनको दीर्घकालीन बानी बनाउनु हो । एनएलबीकी प्रमुख कार्यकारी अधिकृत मेलिसा टामले डिजिटल युगमा मानिसहरू छोटो र छिटो उपभोग गर्न सकिने सामग्रीतर्फ आकर्षित भइरहेका बेला लामो र गहिरो पढाइले आलोचनात्मक सोच, कल्पना, सहानुभूति र ध्यान केन्द्रित गर्ने क्षमता विकास गर्न सहयोग गर्ने बताएकी छन् ।
एक अध्ययनले सन् २०२४ मा सिंगापुरका पुस्तकालय र राष्ट्रिय अभिलेखालयमा दुई करोड आठ लाखभन्दा बढी मानिस पुगेको, भौतिक सामग्री दुई करोड ४० लाख पटक प्रयोग भएको देखाएको छ । यसले पुस्तकालयप्रति मानिसहरूको आकर्षण घटेको छैन भन्ने प्रमाणित हुन्छ ।
सन् २००८ मा फोब्र्समा प्रकाशित एउटा लेखमा के भनिएको थियो भने, “सार्वजनिक पुस्तकालयको सट्टा एमेजनमा पुस्तक पसल राख्नुपर्ने ।” यो लेखको अमेरिकामा तीव्र विरोध भयो । आखिरमा फोब्र्स पत्रिकाले उक्त लेख वेबसाइटबाट हटायो र सार्वजनिक पुस्तकालय समाजका लागि महŒवपूर्ण रहेको स्पष्ट पा¥यो ।
डिजिटल युगमा पुस्तकालय आवश्यक छैन भन्ने बहस भइरहेका बेला न्यू योर्कजस्तो विश्वको प्रमुख महानगरले पुस्तकालयको बजेट घटाउने होइन, त्यसलाई स्थायी सार्वजनिक पूर्वाधारका रूपमा बलियो बनाउने नीति अघि सारेको छ । मेयर जोहरान ममदानी प्रशासनले २०२६ मा न्यू योर्कका तीन सार्वजनिक पुस्तकालय प्रणालीका लागि ४३१.७ मिलियन स्थायी अतिरिक्त बजेट घोषणा ग¥यो । यसले पुस्तकालय आज पनि किताब पढ्ने स्थान मात्र नभई शिक्षा, रोजगारी, प्रविधि, सूचना, सामाजिक सम्बन्ध र समान पहुँचको सार्वजनिक केन्द्र हो भन्ने देखाउँछ ।
कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै अब पुस्तकालयको आवश्यकता घट्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । तर अन्तर्राष्ट्रिय पुस्तकालय महासंघ (आईएफएए) को धारणा हेर्दा तस्वीर त्यस्तो सरल छैन । महासंघले एआईलाई पुस्तकालयको विकल्पका रूपमा होइन, पुस्तकालयको सेवा र ज्ञानमा पहुँचलाई अझ प्रभावकारी बनाउन सकिने प्रविधिका रूपमा हेरेको छ ।
नेपालको सन्दर्भमा
२१४ वर्षअगाडि अर्थात् वि.सं. १८६९ साल भदौ १५ गते गीर्वाणयुद्ध वीरविक्रम शाहले ‘पुस्तक चिताई तहविल’लाई लालमोहर लगाएको दिन थियो ।
राणा शासनमा विद्यालय तथा पुस्तकालय खोल्न बन्देज थियो । यस्तो अवस्थामा पनि नेपाली युवाहरूले लुकीछिपी ३३ वटा सार्वजनिक पुस्तकालय खोलिसकेका थिए । भीमशमशेरको पालामा पुस्तकालय खोल्न अनुमति माग्दा लक्ष्मीप्रसाद देवकोटासहित ४६ जना युवाहरूलाई राजद्रोहको मुद्दा लगाएर पक्राउ गरिएको थियो । पछि जनही १०० रुपैयाँ जरिवाना गरेर छाडियो । त्यतिखेर पुस्तकालय खोल्नुको मुख्य उद्देश्य जनतालाई शिक्षित र सुसूचित गराई राणा शासनविरुद्ध जनचेतना जगाउनु थियो ।
२००७ देखि २०१७ सालसम्म पुस्तकालय विकासमा उल्लेखनीय काम भयो ।
२००९ सालमा खिचापोखरीमा नेपाल राष्ट्रिय पुस्तकालय नाम दिएर जनसहभागितामा सार्वजनिक पुस्तकालयको स्थापना भयो । धेरै राम्रो चलेको उक्त पुस्तकालय सरकारी सहयोग नपाएर २०२४ सालमा बन्द भयो ।
२०१३ सालमा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना भयो ।
२०१३ सालमै नेपाली वाङ्मय मात्र रहने गरी मदन पुरस्कार पुस्तकालयको स्थापना भयो ।
२०१० सालमा नेपाल पुस्तकालय संघको स्थापना भयो ।
२००९ सालमै केन्द्रीय सचिवालय पुस्तकालय लालदरबारमा स्थापना भयो । पछि यो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा गाभियो ।
यसैबीच पञ्चायती व्यवस्था लागू भयो । सार्वजनिक पुस्तकालय खोल्न त पाइन्थ्यो, तर बहुदलीय सामग्री राख्न बन्देज थियो ।
२०४६ सालपछि बहुदलीय व्यवस्था र २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । जुनसुकै सरकार आए पनि पुस्तकालयको विकास र विस्तारमा सरकार उदासीन नै देखियो । न त पुस्तकालयसम्बन्धी कानुन नै बन्यो, न त देशले गर्व गर्न सकिने पुस्तकालय नै बन्यो ।
यसैबीच अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपालमा पुस्तकालय विकासका लागि काम गर्न थाले । रिड नेपालले सामुदायिक पुस्तकालयको स्थापनादेखि दिगो विकास र समुदायका मानिसहरूको जीवनस्तर उकास्न महŒवपूर्ण भूमिका खेल्दै आएको छ । रिड नेपालले ४३ जिल्लामा ७४ वटा सामुदायिक पुस्तकालय स्थापना गरिसकेको छ । सामुदायिक पुस्तकालयको विकासमा रिड मोडेलको विश्वमै निकै चर्चा हुने गर्दछ ।
त्यस्तै, रुम टु रिडले करिब ५ हजार विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको छ । यसबाहेक अन्य संस्थाहरू पनि पुस्तकालय क्षेत्रमा लागिरहेका छन् । तर सरकार भने कानमा तेल हालेर बसेझैँ देखिन्छ ।
शिक्षा मन्त्रालय, रिड नेपाल र शान्ति भोलुन्टिएर एसोसिएसन मिलेर वि.सं. २०७८ मा सार्वजनिक तथा सामुदायिक पुस्तकालयको सर्वेक्षण गरेका थिए । देशभर ९२८ वटा पुस्तकालय भएकोमा हाल २२७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ । यसबाट पनि पुस्तकालयको अवस्था कस्तो रहेछ भन्ने जानकारी पाइन्छ ।
पुस्तकालयको अपरिहार्यतालाई विश्वका धनी र प्रविधियुक्त मुलुकहरूले समेत महŒव दिइरहेको अवस्थामा नेपालमा सरकारको प्राथमिकतामा नपर्नु दुःखको कुरा हो । त्यसैले संघीय, प्रदेश र स्थानीय सरकारले विशेष महŒव दिएर तल उल्लेखित पुस्तकालय विकास र विस्तारका काम गर्न ढिला गर्नु हुँदैन ।
क) संघीय सरकारले पुस्तकालय ऐन र नियमावली बनाउन ढिला गर्न नहुने ।
ख) नेपाल राष्ट्रिय पुस्तकालयको भवन जमलमा बनाउन टेन्डर आह्वान भएर पनि हालसम्म भवन नबन्नुका कारण के हुन् ? अविलम्ब शिक्षा तथा खेलकुद मन्त्रालयले यसमा के भएको हो, त्यसबारे तुरुन्तै आवश्यक पहल गरी भवन निर्माणको काम अगाडि बढाउनुपर्छ ।
ग) भक्तपुर र ललितपुरले नगर पुस्तकालयको स्थापना गरिसकेकाले काठमाडौं महानगरपालिकाले नयाँ पुस्तकालय खोल्नु भन्दा जनसहभागितामा २०६० सालमा नै खोलिएको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई नै अत्याधुनिक पुस्तकालयका रूपमा विकास गर्दा राम्रो हुन्छ । यसका लागि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बोर्डसँग छलफल गरेर काम अगाडि बढाउँदा अझ राम्रो हुन्छ ।
सार्वजनिक पुस्तकालय अब पुस्तक पढ्ने ठाउँ मात्र होइन, समुदायको ज्ञान सम्झने, सुरक्षित गर्ने, बाँड्ने र नयाँ पुस्तासँग जोड्ने केन्द्र बन्न सक्छ ।
(लेखक नेपालमा पुस्तकालय अभियन्ताका रुपमा परिचित छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्