काठमाडौं । दीपक भट्ट र शंकरलाल अग्रवालको समूहले जगदम्बा स्टिल्समार्फत बैंकहरूलाई झुक्याएर ४२ करोड १४ लाखभन्दा बढी रकम सेयर बजारमा मोडेर सर्कुलर ट्रेडिङ गर्दा अर्बपतिहरू पनि धमाधम थुनामा पर्न थालेका छन् ।
मुख्य आरोपी भट्टको प्रलोभनमा पर्दा जगदम्बा स्टिलजस्तो उद्योग चलाउँदै आएको शंकर ग्रुप नराम्रोसँग फसेको छ । जगदम्बा स्टिलले उद्योगका लागि बैंकबाट लिएको कर्जा दुरुपयोग गरी सेयरबजारमा ‘पम्प एन्ड डम्प’ कारोबारका लागि प्रयोग गर्दा व्यापारिक घराना नराम्रोसँग फसेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।
दीपक भट्ट प्रकरणमा शंकर ग्रुप मात्र होइन, गोल्छा समूहका शेखर गोल्छा, बर्सेनि राज्यलाई व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलगायत परिबन्दमा फसेका छन् ।
अनुसन्धानकारी निकायहरूको दाबीअनुसार शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा कन्सोर्टियमबाट ठूलो रकम सञ्चालन पुँजीका रूपमा निकालेको थियो । कन्सोर्टियम कर्जा भनेको एउटै बैंकले दिन नसक्ने वा जोखिमपूर्ण हुने ठूलो रकमको ऋण दुई वा बढी बैंकले संयुक्तरूपमा उपलब्ध गराउने व्यवस्था हो । यसमा एक बैंकले नेतृत्व गर्छ भने अन्य बैंकहरू सहभागी भएर जोखिम र लगानी बाँडफाँट गर्छन् ।
तर त्यो कर्जा रकम कच्चा पदार्थ किन्न, उत्पादन बढाउन वा उद्योग चलाउन प्रयोग भएन । बरु विभिन्न खाताहरू हुँदै दीपक भट्टसँग जोडिएको इन्फिनिटी होल्डिङ्स प्रालिमा पुग्यो र त्यहाँबाट सेयर बजारमा पम्प र डम्प गर्न प्रयोग भयो ।
यही प्रकरणमा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल बिहीबार पक्राउ परेका छन् । यो प्रकरणमा अनुसन्धान निकायले नेपाल पुनर्बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स लगायत बिमा कम्पनीहरूको सेयरमा सर्कुलर ट्रेडिङ गरी कृत्रिम रूपमा मूल्य बढाइएको आरोप लगाएको छ ।
प्रहरीले बिहीबार नै क्रेष्ट माइक्रो इन्स्योरेन्सकी फरार पूर्व सञ्चालक मृदुला सरियालाई पक्राउ गरेको छ ।
नेपाल सरकारले बिमा ऐनअन्तर्गत हिमालयन रिइन्स्योरेन्सका प्रवर्धकद्वय दीपक भट्ट, सुलभ अग्रवालसहित ४१ जनाविरूद्ध सामूहिकरूपमा मुद्दा दायर गर्दा सरियालाई पनि अभियुक्त बनाइएको थियो । सुलभ अग्रवालको फुपुको बुहारीसमेत रहेकी सरिया मुद्दा दायर हुनु अघिदेखि नै फरार थिइन् ।
नेपाल प्रहरीको सीआईबीका अनुसार विभिन्न बिमा कम्पनी तथा सार्वजनिक संस्थाको रकम प्रयोग गरी योजनाबद्ध रूपमा सेयर कारोबार गरिएको थियो, जसबाट सर्वसाधारण लगानीकर्तामा ती कम्पनीहरूको सेयरको माग अत्यधिक रहेको भ्रम सिर्जना गरिएको आरोप छ ।
यही घटनामा विवादास्पद व्यवसायी भट्ट, शंकर अग्रवाल, सुलभ अग्रवाल, साहिल अग्रवाललगायत प्रतिवादीविरुद्ध धितोपत्र कसुर, बिमा कसुर, बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टाछुट्टै मुद्दा अदालतमा विचाराधीन छन् ।
अनुसन्धानका क्रममा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल फरार रहेकाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । सीआईबीको विशेष टोलीले सिफलबाट नियन्त्रणमा लिएपछि अब उनी पनि यस बहुचर्चित आर्थिक अपराध प्रकरणको न्यायिक प्रक्रियामा पुगेका छन् ।
दीपक भट्टसहितलाई प्रतिवादी बनाइएको बिमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दायर भइसकेको छ । त्यही मुद्दामा फरार रहेका रिमाललाई पनि पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
बिहीबार नै ब्युरोले रिमाललाई थुनछेक प्रयोजनका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि विशेष अदालतमा मुद्दा दायर भइसकेको छ । जिल्ला अदालतमा थुनछेक आदेश आएपछि यो मुद्दामा पनि उनलाई उपस्थित गराइने छ ।
रिमालसहित सबै प्रतिवादीविरुद्धका आरोपहरू हाल अदालतमा विचाराधीन छन् । अदालतबाट अन्तिम फैसला नभएसम्म उनीहरू कानुनी रूपमा दोषी ठहरिएका छैनन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सरकारी वकिलको अनुसन्धानले एउटै समूहले आपसमा सेयर किनबेच गरेर कारोबार पम्प गर्ने र मूल्य कृत्रिम रूपमा उचाल्ने सर्कुलर ट्रेडिङको जाल बुनेको थियो । मूल्य अत्यधिक बढेपछि सोही समूहले सेयर डम्प गरेर सर्वसाधारणको लगानी र पब्लिक कम्पनी डुबाउने गरेका थिए ।
नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सेयरमा योजनाबद्ध कारोबार गरी बजारमा नक्कली माग सिर्जना गरेको र त्यसबाट नाफा उठाउने प्रयास गरेको आरोप उनीहरूमाथि छ । यसबाट बिमा कम्पनी तथा सार्वजनिक संस्थालाई १ अर्ब १४ करोडभन्दा बढी नोक्सानी भएको सरकारी वकिलले आरोप लगाएका छन् ।
अनुसन्धानअनुसार दीपक भट्ट यो पूरै नेटवर्कको मुख्य परिचालकमध्ये एक हुन् । विभिन्न कम्पनी, ब्रोकर र बैंक खाताहरूबीचको समन्वय उनकै नेतृत्वमा भएको दाबी छ । इन्फिनिटी होल्डिङ्सलाई अनुसन्धानले दीपक भट्टसँग जोडेर मुख्य हबका रूपमा चित्रण गरेको छ ।
सुलभ अग्रवालसँग सम्बन्धित सौर्य सिमेन्ट र जगदम्बा स्टिलको कार्यालयबाट सेयर कारोबार सञ्चालन भएको डिजिटल प्रमाण (आईपी एड्रेस) फेला परेको सीआईबीको भनाइ छ । यो प्रमाणले दीपक भट्ट र अग्रवाल समूहबीचको गहिरो आर्थिक चलखेललाई उजागर गरेको छ ।
यसमा भृकुटी स्टक ब्रोकिङ कम्पनी र सम्बन्धित ब्रोकरहरूमाथि पनि गम्भीर आरोप छ । पर्याप्त धरौटीबिना अर्बौंको शेयर खरिद गर्न दिने, नियमविपरीत अग्रिम भुक्तानी गर्ने र सर्कुलर ट्रेडिङलाई सहज बनाउने काम भएको अनुसन्धानले देखाएको छ ।
यो प्रकरणमा एउटै कारोबारबाट चारवटा फरक–फरक अपराधको मुद्दा चलाइएको छ ।
४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो माग गर्दै दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र साहिल अग्रवालविरुद्ध बैंकिङ कसुर मुद्दा चलाइएको छ ।
सर्कुलर ट्रेडिङ र बजार चलखेल धितोपत्र कसुर, बिमा कम्पनीको रकम दुरुपयोगसम्बन्धि बिमा कसुर ३४ व्यक्ति र दुई कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको छ । दीपक भट्टमाथि २२ अर्ब र सुलभ अग्रवालमाथि २१ अर्बभन्दा बढी बिगो माग गरिएको छ ।
प्रतिवादीहरूले सबै आरोप अस्वीकार गरेका छन् । तर अनुसन्धान निकायले बैंक खाता, डीम्याट, आईपी लग, ब्रोकर ट्रान्जेक्सन र अन्तिम लाभग्राहीसम्मको पूरै शृंखला पछ्याएको दाबी गरेका छन् ।
यस प्रकरणले दीपक भट्ट र अग्रवाल समूहले जगदम्बा स्टिल्समार्फत बैंकहरूलाई ठगेर ४२ करोड १४ लाखभन्दा बढी रकम सेयर बजारमा मोडेको आरोप अब खुलेर बाहिर आएको छ । उद्योग चलाउने नाममा बैंकबाट वर्किङ क्यापिटल झिकेर त्यही पैसा सेयर बजारमा सर्कुलर ट्रेडिङ गर्दै अर्बौंको खेल खेलेकाले यसलाई नेपालको आर्थिक इतिहासकै ठूलो काण्डका रूपमा लिइन थालेको छ ।
हालसम्मका अनुसन्धानअनुसार शंकर ग्रुपको जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसहितका बैंकहरूबाट ठूलो परिमाणमा सञ्चालन पुँजी र अल्पकालीन कर्जा लिए । तर, त्यो रकम उद्योगमा खर्च भएन । विभिन्न खाताहरू हुँदै इन्फिनिटी होल्डिङ्समा पुग्यो र त्यहाँबाट सेयर बजारमा प्रवेश ग-यो ।
उद्योग सञ्चालनका लागि बैंकबाट लिइएको कर्जा र अल्पकालीन व्यावसायिक कर्जा उत्पादन, कच्चा पदार्थ खरिद वा उद्योग सञ्चालनमा खर्च हुनुपर्ने हो । तर यही कर्जा कम्पनीको उद्देश्यविपरीत सेयर बजारमा मोडिएको आरोपबाट अहिले नेपालकै चर्चित आर्थिक अपराधमध्ये एक मानिएको दीपक भट्ट–अग्रवाल समूहसम्बन्धी मुद्दा जन्मिएको हो ।