नेभिगेशन
प्रदेश

गौतमबुद्ध विमानस्थलमा आन्तरिक यात्रुलाई छुट्टै आगमन कक्ष

भैरहवा, ३० भदौ - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक हवाई यात्रुलाई लक्षित गरी छुट्टै आगमन कक्ष बनाइएको छ । यात्रुको चाप धेरै हुने गरेकोले सोमबारदेखि आगमन र प्रस्थान सेवा छुट्टाछुट्टै भवनबाट दिन थालिएको हो ।

यसअघि आन्तरिक टर्मिनल भवनमा आगमन र प्रस्थान कक्ष एकै ठाउँमा थियो । अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनको एक भागलाई आन्तरिक यात्रु लक्षित गरी आगमन कक्ष बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

‘आन्तरिक टर्मिनलको भवन साँघुरो हुँदा यात्रुलाई समस्या हुने गरेको थियो, आजबाट यात्रुलाई थप सुविधा हुनेगरी आगमन कक्ष छुट्टै भवनबाट सुरु गरिएको छ’, महाप्रबन्धक तिवारीले भने, ‘यसले यात्रुलाई निकै सहजता प्रदान गर्ने छ । सँगै कार्गोका सामानहरू लिन आउनेहरूलाई पनि सुविधा मिलेको छ ।’

५० वर्षअघि निर्माण गरिएको यो आन्तरिक टर्मिनलको आगमन कक्ष साँघुरो भएकाले यात्रुले कष्ट व्यहोरिरहेका थिए । ‘त्यही असुविधा अन्त्य गर्न यसअघि कार्गो र स्टोर रहेको भवनमा फराकिलो र सुविधा सम्पन्न आगमन कक्ष सञ्चालनमा ल्याइएको हो’, तिवारीले भने ।

सोमबार तिवारीले काठमाडौंबाट आएका गुल्मीका ७५ वर्षीय गणपति भण्डारीलाई पुष्पगुच्छा दिएर आगमन कक्षको सुरुवात गरेका थिए । त्यसअघि कक्षभित्र स्वस्ति वाचन पाठ गरिएको थियो । कक्षको सुरुवातमा विमानस्थलका कर्मचारी, एयरलाइन्सका प्रतिनिधि र सरोकारवाला उपस्थित थिए ।

काठमाडौंबाट सोमबार दिउँसो बुद्ध र यति एयरलाइन्सबाट भैरहवा ओर्लिएका यात्रुलाई नयाँ आगमन कक्षमा स्वागत गरिएको थियो । यसरी कक्षमा भित्रिएका यात्रुलाई विमानस्थलले लड्डु वितरण गरेको थियो ।

नयाँ आगमन कक्ष सञ्चालनपछि साँघुरो कक्षमा यात्रु कोचाकोच हुने र उनीहरूलाई लिन आएका आफन्त लामो समय घाममा पर्खिनुपर्ने बाध्यता अन्त्य भएको विमानस्थलका महाप्रबन्धक तिवारीले जनाए । ‘यात्रुको सुरक्षा जत्तिकै विमानस्थलमा उनीहरूले प्राप्त गर्नुपर्ने सुविधा पनि जरुरी हो,’ उनले भने, ‘केही समयदेखि उपलब्ध साधनस्रोतको सदुपयोग गरेर काम गर्दै आएका थियौं, आजबाट यात्रुलाई फराकिलो र सुविधासम्पन्न कक्षमा स्वागत पायौं ।’

विमानस्थलमा रहेको अस्थायी कार्गो भवन मर्मत र सुविधा थपेर नयाँ कक्ष निर्माण गरिएको हो । यसअघि विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीको निवासका रूपमा भवन प्रयोग गरिएको थियो । नयाँ आगमन कक्षमा आफन्तलाई लिन आउने व्यक्तिलाई बस्नका लागि बेन्चको व्यवस्था गरिएको छ । कार्गोलगायत कामका लागि छुट्टै काउन्टर निर्माण गरिएको छ । 

यसअघि जहाजबाट आएको सामान लिन जाँदा पास लिनुपर्ने र सुरक्षा जाँच पूरा गर्नुपर्थ्यो । ‘अब त्यस्तो झन्झट हटेको छ,’ तिवारीले भने, ‘अब बाहिरैबाट आफ्नो सामान बुझ्न सकिने बनाएका छौं ।’ नयाँ कक्षमा पुरुष र महिलाका लागि फराकिला शौचालय व्यवस्था गरिएको छ ।

विमानस्थलले २-३ महिनाभित्र यात्रुका सामान ओसार्नका लागि स्वचालित कन्भेयर बेल्ट जडान गरिने जनाएको छ । विमानस्थलका सूचना अधिकृत विनोद रावतले त्यसका लागि टेण्डर प्रक्रिया सुरु गरिएको जनाए । ‘यसलगत्तै पुरानो टर्मिनल भवन विस्तारको काम थालिने छ’, उनले भने । अहिले रहेको भवनलाई फराकिलो तुल्याएर यात्रुका लागि आवश्यक सम्पूर्ण सुविधा थप गर्न लागिएको हो । आन्तरिक टर्मिनल विस्तारका लागि डिजाइन तयार भइसकेको र छिट्टै ठेक्का प्रक्रियामा जाने उनले बताए ।

विमानस्थलबाट आन्तरिकतर्फ दैनिक १८ देखि २० वटा उडान हुँदै आएका छन् । बुद्ध एयरले पोखरा पनि उडान भर्दै आएको छ । बाँकी सबै उडान काठमाडौं केन्द्रित छन् । आन्तरिकतर्फ सन् २०२४ मा ८ लाख यात्रुले सेवा लिएका थिए । सन् २०२५ मा हालसम्म ६ लाख बढी यात्रुले सेवा लिइसकेका छन् । विगतका वर्षहरूमा भन्दा यो वर्ष यात्रुको संख्या बढीरहेको सूचना अधिकृत रावतले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्