झापा, ३० भदौ - तोडफोड र आगजनीले तहसनहस भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले सेवा सुचारु गरेको छ । जेनजी पुस्ताको आन्दोलनबाट क्षतिग्रस्त भई सेवा अवरुद्ध भएको यस कार्यालयले सोमबारदेखि पुनः सेवा सुरु गरेको हो । भदौ २४ गते सोमबार काठमाडौंबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलन मंगलबार देशैभर फैलिएको थियो ।
काँकरभिट्टास्थित पुर्वी नाकामा रहेको मेची भन्सार कार्यालय कार्यालय पूर्ण रूपमा कब्जामा लिइ तोडफोडसँगै आगजनी भएपछि पुर्णरूपमा तहसनहस भयो । कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा प्रभावित भयो ।
भारतसहित तेस्रो मुलुकसँगको आयात–निर्यात गर्ने मुख्य नाका मध्येको एक यस कार्यालयको सेवा बन्द हुँदा राज्यको करोडौं राजस्व गुम्यो । त्यस्तै नेपालीहरूको ठूलो चाड दशैं नजिकिँदै जाँदा आयात निर्यात ठप्प हुँदा भन्सार एजेण्टहरू पनि समस्या परेको बालकृष्ण थापा बताउँछन् ।
कार्यालयमा विगत लामो समयदेखि सब्जीलगायतका कच्चा सामग्री आयात गर्दै आएका न्यू लालीगुराँस ट्रेडर्स सप्लायर्सका प्रोपाइटर थापाले भन्सार सेवा एक साता बन्द हुँदा आफूहरूले समस्या झेल्नुपरेको बताए । कार्यालयले सेवा सुरु गरे यता सेवा बिस्तार सहजै हुने विश्वास उनको छ ।
स्वाभिमान सन्स एण्ड सप्लायर्सका प्रोपाइटर सन्तोष खवासले अकल्पनीय आन्दोलनले पुर्याएको क्षतिले आफूहरूलाई समस्या भएको बताए । उनले तेस्रो पार्टीलाई सामान आयत निर्यात गर्न सबै प्रक्रिया पुर्याएर राखिएको अवस्थामा कार्यालयबाट सेवा अवरुद्ध भएको उनको भनाइ छ । उनले यतिका दिनसम्म सामान नाकामा रोकिँदा आफूहरूले आर्थिक खति खेप्नु परेको तर सेवा सुरु भएकोमा प्रशननता व्यक्त गरे ।
प्रदर्शनकारीको आगजनी र तोडफोडबाट भन्सारको सेवा प्रवाह गर्ने भवन जलेर खरानी बनेको थियो। साथै सेवा प्रदान गर्ने उपकरणहरू (कम्प्युटर, प्रिन्टरलगायतका सामग्री) र जिन्सी सामग्रीहरू जलाइनुका साथै लुटपाटसमेत मच्चाइएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरप्रसाद हुमागाईंले बताए ।
उनले घटनाका दिन भन्सारका कर्मचारीहरूलाई आफ्नो ज्यान जोगाउनै हम्मेहम्मे परेको बताए । सो घटनापश्चात् सोही दिनदेखि भन्सारको सेवा ठप्प बनेको थियो । तर, समस्याका बाबजुद स्रोत साधानको अभावका बीच पनि सोमबारबाट पुनः सेवा सुचारु गरिएको उनले बताए । आन्दोलनबाट कति क्षति भयो भन्ने विषयमा भने अहिले मुल्चुका उठाउने कार्य भइरहेको बताए ।
मेची भन्सार कार्यालयले राज्यको राजस्व संकलमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो नाका हुँदै नेपालबाट भारत, भुटान र बंगलादेश लगायतका देशहरूमा अदुवा, अम्लिसो, चिया, अलैंची, कुचो, प्लाइउड र भेनियर लगायतका सामग्री निर्यात हुने गरेको छ ।
त्यस्तै पेट्रोलियम पदार्थ, सब्जी, फलफूल, कफी, लत्ताकपडा, मेसिनरी सामग्री भारतसहित तेस्रो मुलुकबाट आयात हुने गर्दछ । यता आन्दोलनको क्रममा बन्द रहेको भद्रपुर भन्सारले भने शुक्रबारदेखि नै सेवा सुचारु गरिसकेको छ ।